दाङ । विपद्मा परेकाहरूको पीडामा साथ दिने उद्देश्यले दाङमा सञ्चालित गोरखा समूहले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ ।
समूहअन्तर्गतका विभिन्न विद्यालय, कलेज, अस्पताल तथा त्यहाँ कार्यरत शिक्षक–कर्मचारीबाट संकलित १० लाख १ हजार १ सय ४७ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
गोरखा समूहका प्रमुख कार्यकारी अधिकृत नवल जिएमका अनुसार विपद्को समयमा संस्थागत रूपमा सहयोग गर्ने उद्देश्यले समूहसँग आबद्ध शैक्षिक तथा स्वास्थ्य संस्थाबाट रकम संकलन गरिएको हो । उनका अनुसार सहयोग रकम केवल संस्थागत स्रोतबाट नभई शिक्षक तथा कर्मचारीको सहभागितासमेत जोडेर संकलन गरिएको हो ।
सहयोगमा गोरखा स्कुल घोराही र शिक्षक–कर्मचारीबाट २ लाख ५३ हजार रुपैयाँ, गोरखा स्कुल तुलसीपुरबाट २ लाख ३१ हजार ४ सय ४५ रुपैयाँ, गोरखा स्कुल लमहीबाट १ लाख ५६ हजार रुपैयाँ र गोरखा स्कुल लालमटियाबाट ७९ हजार रुपैयाँ संकलन भएको छ ।
त्यस्तै, गोरखा रेसिडेन्सियल स्कुल तुलसीपुरबाट ४५ हजार १ सय ३३ रुपैयाँ, भिक्टोरिया कलेजबाट ५० हजार ४ सय ५८ रुपैयाँ, गोरखा मोडेल कलेज तुलसीपुरबाट ५० हजार रुपैयाँ र स्वर्णीम देउखुरी कलेजबाट ३५ हजार रुपैयाँ सहयोग गरिएको छ ।
यसैगरी गोरखा पब्लिक हस्पिटलले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको जिएमले जानकारी दिए ।
शिक्षा र स्वास्थ्यसँगै विपद्मा पनि सामाजिक जिम्मेवारी
गोरखा समूह पूर्वगोरखा सैनिकहरूले स्थापना गरेको संस्था हो । समूहले दाङमा शिक्षा, स्वास्थ्य र कृषिसहित विभिन्न क्षेत्रमा गतिविधि सञ्चालन गर्दै आएको छ ।
शैक्षिक संस्था सञ्चालनसँगै विपद्का बेला प्रभावित समुदायलाई सहयोग गर्ने पहलले संस्थाको सामाजिक उत्तरदायित्वलाई समेत उजागर गरेको छ । बाढीपहिरोजस्ता प्राकृतिक विपद्मा तत्काल राहत तथा पुनःस्थापनाका लागि स्रोत आवश्यक पर्ने भएकाले संस्थागत र सामूहिक सहयोगले पीडित परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ ।
समूहले विद्यालयदेखि अस्पतालसम्म आबद्ध जनशक्तिलाई एउटै अभियानमा जोडेर रकम संकलन गरी सरकारी उद्धार कोषमा जम्मा गरेको हो । यसले ‘विपद्मा सहयोग केवल व्यक्तिगत दायित्व होइन, संस्थागत जिम्मेवारी पनि हो’ भन्ने सन्देश दिएको छ ।