Skip to main content

Gorkha Sansar

अनुशासनदेखि नेतृत्वसम्म : जीवनज्योतिमा एनसीसी क्याडेटको क्षमता प्रदर्शन

सी सं. ५२ जुनियर डिभिजन एनसीसी तालिमको अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न

गोरखा । पालुङटार नगरपालिका–७, च्याङ्लीस्थित जीवनज्योति माध्यमिक विद्यालयमा सञ्चालित सी सं. ५२ जुनियर डिभिजन एनसीसी तालिमको अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय सेवा दल, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा एनसीसी प्रशिक्षकहरूको उपस्थितिमा क्याडेटहरूले तालिमका क्रममा सिकेका विभिन्न सीप तथा अभ्यास प्रस्तुत गरेका थिए।

कार्यक्रममा राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय, हात्तीखोरका प्रमुख सेनानी श्री दिनेश चौलागाईं प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा जम शंकर खड्का, जम चेतनारायण श्रेष्ठ, हु माधव अर्याल तथा प्युठ लक्ष्मी जिसीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा क्याडेटहरूले ड्रिल, खुकुरी ड्रिल, तेक्वान्दो तथा एरोबिक्स प्रदर्शन गरेका थिए। प्रस्तुतिहरूमार्फत क्याडेटहरूले अनुशासन, शारीरिक तन्दुरुस्ती, आत्मविश्वास, एकाग्रता, सामूहिक समन्वय तथा नेतृत्व क्षमताको प्रदर्शन गरेका थिए।

एनसीसी : कक्षाकोठाभन्दा बाहिरको व्यवहारिक शिक्षा

एनसीसी तालिमको मुख्य उद्देश्य विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास, शारीरिक तथा मानसिक सक्षमता, जिम्मेवारीबोध, सहकार्यको भावना र राष्ट्रप्रतिको समर्पण विकास गर्नु हो।

विद्यालय तहमा प्रदान गरिने यस्तो तालिमले विद्यार्थीलाई केवल आदेश पालना गर्ने अभ्यासमा सीमित नराखी समय व्यवस्थापन, टोलीमा काम गर्ने क्षमता, कठिन परिस्थितिमा निर्णय लिन सक्ने आत्मविश्वास र नेतृत्व गर्ने संस्कार विकास गर्न सहयोग पुर्‍याउँछ।

यस अर्थमा जीवनज्योति माध्यमिक विद्यालयमा सञ्चालित एनसीसी तालिमलाई पाठ्यपुस्तकमा सीमित शिक्षालाई व्यवहारिक जीवनसँग जोड्ने एउटा महत्वपूर्ण अभ्यासका रूपमा लिन सकिन्छ।

प्रदर्शनमा देखियो तालिमको प्रभाव

अनुगमन तथा निरीक्षणका क्रममा क्याडेटहरूले प्रस्तुत गरेको ड्रिलले अनुशासन र सामूहिक तालमेल देखाएको थियो भने खुकुरी ड्रिलले साहस, एकाग्रता र कौशललाई उजागर गरेको थियो।

त्यस्तै, तेक्वान्दो प्रदर्शनले आत्मरक्षा तथा शारीरिक क्षमताको पक्षलाई प्रस्तुत गरेको थियो भने एरोबिक्सले शारीरिक तन्दुरुस्ती र सामूहिक समन्वयलाई जोड दिएको थियो।

कार्यक्रमका क्रममा अतिथिहरूले क्याडेटहरूको प्रस्तुतीको अवलोकन गरेका थिए।

विद्यालयमा एनसीसीको दीर्घकालीन प्रभाव

विद्यालयमा एनसीसीजस्तो अनुशासनमुखी र व्यवहारिक कार्यक्रमले विद्यार्थीलाई भविष्यमा जिम्मेवार नागरिकका रूपमा विकास गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

विद्यालय, परिवार र समुदायबीचको सहकार्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन सके विद्यार्थीमा ‘अधिकार खोज्ने मात्र होइन, कर्तव्य बुझ्ने’ नागरिक संस्कार विकास गर्न सकिने देखिन्छ।

कार्यक्रम विद्यालयका प्रधानाध्यापक श्री कुमार प्रसाद ढकालकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे जसमा एनसीसी प्रशिक्षकहरू प्युठ शंकर घर्ती तथा प्युठ बिकेश बिक, शिक्षक–कर्मचारी, अभिभावक तथा क्याडेटहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन डा. रविन्द्र कडेलले गरेका थिए।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि प्रमुख सेनानी श्री दिनेश चौलागाईं ले मार्गदर्शन सहितकाे मन्तव्य दिएका थिए।

विद्यालयमा आयोजित यस कार्यक्रमले एनसीसी तालिम केवल परेड र शारीरिक अभ्यासमा सीमित नभई विद्यार्थीको व्यक्तित्व विकास, नेतृत्व निर्माण र जिम्मेवार नागरिक उत्पादनसँग जोडिएको महत्वपूर्ण शैक्षिक अभ्यास भएको सन्देश दिएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.