बाँकेको कोहलपुरस्थित शिखा एकेडेमी ले राष्ट्रियस्तरीय पौडी प्रतियोगिताको उपाधि जितेको छ।
नेपालगञ्ज स्विमिङ क्लब र शिखा एकेडेमीको संयुक्त आयोजनामा शनिबार कोहलपुरमा सम्पन्न दोस्रो शिखा स्कुल स्तरीय राष्ट्रिय पौडी प्रतियोगितामा १३४ अंक प्राप्त गर्दै शिखा स्कुलले उपाधि हात पारेको हो।
प्रतियोगितामा लिटिल एञ्जल्स स्कुल ले १०१ अंकसहित दोस्रो स्थान हासिल गरेको थियो भने १९ अंकसहित बागेश्वरी एकेडेमी तेस्रो भएको आयोजकले जनाएको छ। त्यसैगरी ८ अंकसहित सोफिया रेसिडेन्सियल स्कुल चौथो तथा ५ अंकसहित लुम्बिनी वर्ल्ड स्कुल पाँचौँ स्थानमा रहे।
प्रतियोगितामा लिटिल एञ्जल्स स्कुलका छात्र विभुषण शाक्य र छात्रा लुनिरा शाक्य उत्कृष्ट खेलाडी घोषित भए। उनीहरूले ६/६ वटा स्वर्ण पदक जित्न सफल भएका थिए।
देशभरका २४ विद्यालयका १०२ विद्यार्थी सहभागी भएको प्रतियोगिताले विद्यालयस्तरमा पौडी खेलप्रति आकर्षण बढाएको आयोजकको भनाइ छ।
कार्यक्रममा प्रतियोगिता संयोजक सूर्यमणि अधिकारी ले गत वर्ष जिल्लास्तरीय प्रतियोगिता आयोजना गरिएको र यस वर्ष राष्ट्रिय स्तरमा विस्तार गर्न सफल भएको भन्दै खुसी व्यक्त गर्नुभयो।
त्यसैगरी नेपालगञ्ज स्विमिङ क्लब का अध्यक्ष केशवराज न्यौपाने ले आगामी कात्तिक महिनामा अन्तर्राष्ट्रियस्तरको पौडी प्रतियोगिता आयोजना गर्ने घोषणा गर्नुभयो।
यसअघि प्रतियोगिताको उद्घाटन कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदी ले गर्नुभएको थियो। उहाँले विद्यालयहरूले गुणस्तरीय शिक्षा सँगै अतिरिक्त क्रियाकलापअन्तर्गत खेलकुद प्रतियोगिता आयोजना गर्दै नगरलाई राष्ट्रिय स्तरमा चिनाउने काम गरिरहेको बताउनुभयो।