काठमाडौँ / फिफा विश्वकप २०२६ को समूह डी अन्तर्गत उद्घाटन खेलमा घरेलु टोली अमेरिकाले पाराग्वेलाई ३-० ले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको छ ।
लस एन्जलस स्टेडियममा भएको खेलमा अमेरिकाले पहिलो हाफमै तीन गोल गर्दै जितको आधार तयार गरेको थियो । खेलको सातौं मिनेटमा पाराग्वेका डेमियन बोबाडिल्लाको आत्मघाती गोलबाट अमेरिका अघि बढेको थियो ।
त्यसपछि फोलारिन बालोगुनले ३१औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए। पहिलो हाफको इन्जुरी समयमा उनले व्यक्तिगत दोस्रो गोल थपेपछि अमेरिका ३-० को आरामदायी अवस्थामा पुगेको थियो । दुवै गोलका लागि क्रिस्टियन पुलिसिकले अवसर सिर्जना गरेका थिए ।
दोस्रो हाफमा पाराग्वेले फर्कने प्रयास गरे पनि अमेरिकाको संगठित खेल अगाडि सफल हुन सकेन । घरेलु टोलीले बल नियन्त्रण र आक्रमण दुवैमा वर्चस्व कायम राख्दै विश्वकप अभियान विजयी सुरुआतसहित थालेको हो ।
यस जितसँगै अमेरिका समूह डीको शीर्ष स्थानमा उक्लिएको छ र नकआउट चरणतर्फ बलियो संकेत दिएको छ ।