काठमाडौं / आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकामाथि १२२ रनको प्रभावशाली जित दर्ता गर्दै सिरिजको सुखद अन्त्य गरेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको ३१८ रनको विशाल लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा १९५ रनमै अलआउट भयो ।
अमेरिकाका लागि सन्जय कृष्णमुर्तिले सर्वाधिक ५६ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा अमेरिकी इनिङ्स दबाबमा रह्यो ।
नेपालको बलिङतर्फ सन्दीप लामिछानेले ३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र गुल्सन झाले समान २–२ विकेट हात पारे । सोमपाल कामीले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रनको विशाल योगफल तयार गरेको थियो । नेपालका लागि इशान पाण्डेले ८४ रनको उत्कृष्ट इनिङ्स खेले । उनले ८३ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै लगातार दोस्रो खेलमा अर्धशतक पूरा गरे ।
इशानले कप्तान रोहित पौडेलसँग तेस्रो विकेटका लागि ११० रनको महत्वपूर्ण साझेदारी गरे । रोहितले ४६ रन जोडे भने ओपनर आसिफ शेख र कुशल भुर्तेलले ६९ रनको साझेदारी गर्दै नेपालको इनिङ्सलाई मजबुत सुरुवात दिएका थिए । आसिफले ४३ र कुशलले २९ रन बनाए ।
अन्तिम समयमा दीपेन्द्रसिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै ३६ बलमा ५९ रन प्रहार गरे । उनले ४ चौका र ४ छक्का प्रहार गर्दै नेपालको स्कोर ३ सय पार पुर्याउन महत्वपूर्ण भूमिका खेले । आरिफ शेख १७ रनमा अविजित रहे ।
नेपालको सशक्त ब्याटिङ र अनुशासित बलिङको मद्दतमा आएको यो जित घरेलु समर्थकमाझ उत्साह थप्ने खालको बनेको छ ।