Gorkha Sansar

फिफा विश्वकप २०२६ को प्रसारण अधिकार हिमालय स्पोर्ट्सलाई, नेपाली खेलकुद मिडियामा नयाँ युगको सुरुआत

काठमाडौं / नेपालको सञ्चार क्षेत्रमा स्थापित नाम हिमालय टेलिभिजन नेटवर्क ले खेलकुद पत्रकारितामा नयाँ अध्याय सुरु गर्दै ‘हिमालय स्पोर्ट्स’ च्यानलको औपचारिक घोषणा गरेको छ । शुक्रबार साँझ राजधानी काठमाडौंमा आयोजित भव्य कार्यक्रममा च्यानल सार्वजनिक गरिनुका साथै बहुप्रतिक्षित पाँचाै विश्विकप २०२६ को नेपाल प्रसारण अधिकार पनि हिमालय टेलिभिजनले प्राप्त गरेको जानकारी दिइयो ।

विश्वकै सबैभन्दा ठूलो फुटबल महाकुम्भ मानिने फिफा विश्वकप २०२६ अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुँदैछ । उक्त प्रतियोगिताको प्रत्यक्ष प्रसारण नेपालमा ‘हिमालय स्पोर्ट्स’ मार्फत हुने भएपछि नेपाली फुटबल समर्थकहरूमा उत्साह थपिएको छ । यसका लागि हिमालय स्पोर्ट्स र डिग याप बीच रणनीतिक साझेदारीसमेत गरिएको छ ।

नेपालका लागि विश्वकपको आधिकारिक प्रसारण अधिकार एस प्रो मिडिया ले प्राप्त गरेको र सोही कम्पनीमार्फत हिमालय स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइएको हो । यससँगै नेपाली दर्शकहरूले विश्वकपका सबै महत्वपूर्ण खेल, विश्लेषण, विशेष कार्यक्रम र डिजिटल सामग्री सहज रूपमा हेर्न पाउने अपेक्षा गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै हिमालय टेलिभिजन नेटवर्कका अध्यक्ष धर्मराज भुसाल ले फिफा विश्वकपजस्तो प्रतिष्ठित प्रतियोगिताको प्रसारण अधिकार प्राप्त गर्नु गौरवको विषय भएको बताए । उनले खेलकुद पत्रकारितालाई आधुनिक र अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने लक्ष्यसहित ‘हिमालय स्पोर्ट्स’ सुरु गरिएको उल्लेख गरे ।

त्यस्तै, हिमालय स्पोर्ट्सका सीईओ सुरज गिरी ले यो कदम नेपाली खेलकुद मिडियाका लागि ऐतिहासिक उपलब्धि भएको बताए । उनका अनुसार नयाँ च्यानलले फुटबल मात्र नभई क्रिकेट, भलिबल, मार्सल आर्ट्स, ई-स्पोर्ट्स लगायत विभिन्न खेललाई प्राथमिकता दिनेछ । उनले नेपाली खेलाडी, प्रशिक्षक र खेल संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्ने उद्देश्य रहेको पनि स्पष्ट पारे ।

हिमालय स्पोर्ट्सको आगमनसँगै नेपालमा खेलकुद सामग्री उत्पादन, प्रत्यक्ष प्रसारण, डिजिटल स्पोर्ट्स प्लेटफर्म र खेल विश्लेषणको क्षेत्रमा नयाँ प्रतिस्पर्धा सुरु हुने अपेक्षा गरिएको छ । विशेषगरी युवा पुस्तालाई लक्षित गर्दै टेलिभिजन र डिजिटल माध्यम दुवैबाट खेल सामग्री उपलब्ध गराउने रणनीति हिमालय समूहले अघि सारेको छ ।

विशेष कार्यक्रममा सञ्चारकर्मी, खेलाडी, कलाकार, व्यवसायी तथा खेल क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमलाई नेपाली खेलकुद मिडियाको भविष्यसँग जोडेर हेरिएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.