१. परिवेश
नेपालको तराई–मधेस क्षेत्रमा जाति, जनजाति, भाषा, र समुदायबीचको पहिचान, अधिकार तथा पछिल्लो समय देखिएको साम्प्रदायिक (विशेषगरी हिन्दु र मुस्लिम) द्वन्द्व एक गम्भीर र बहुआयामिक विषय हो । यस क्षेत्रमा ऐतिहासिक वञ्चितीकरण, राज्यको एकात्मक संरचना, सामाजिक विभेद र भूराजनीतिक प्रभावका कारण समय–समयमा तनाव उत्पन्न हुने गरेको छ।
तराइ–मधेश क्षेत्रमा जातीय, जाति र सेक्टरियन संघर्षहरूले नेपालको सामाजिक एकतालाई चुनौती दिएका छन् । मधेशी र स्थानीय जातजाति बीचको असमानता, उच्च र निम्न जातिको विभाजन, र हिन्दु र मुस्लिम बीचको धार्मिक तनाव यी संघर्षका मुख्य कारण हुन् । भारतको हिन्दु राष्ट्रवादी प्रभाव र अमेरिकाको राजनीतिक हस्तक्षेपले यसलाई जटिल बनाएको छ। हालैको हिन्दु–मुस्लिम तनावले सामुदायिक एकता घटाएको छ, राष्ट्रिय एकता र आन्तरिक शान्तिलाई असर गरेको छ। शान्ति निर्माणका लागि शिक्षा, समावेशी नीति, र आन्तरिक वार्तालाप आवश्यक छ। सहिष्णुता र समुदायमा रहेका मुस्लिम, हिन्दू, दलित, गरिब, र अन्य सीमान्तकृत वर्गको शासनमा समावेशीकरण नै भविष्यको सामाजिक सद्भावको आधार हो ।यो आलेख तराई—मधेश द्वन्द्वको भूराजनीतिक दुष्टिकोणबाट केलाउने प्रयास गरिएको छ ।
२. हालैको हिन्दु र मुस्लिम द्वन्द्वको मूल चुरो
सुनसरी लगायतका तराईका केही जिल्लाहरूमा धार्मिक जुलुस, साङ्गीतिक कार्यक्रम, र झण्डा राख्ने विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायबीच हिंसात्मक झडपहरू भएका छन् । यसले गर्दा कफ्र्यु आदेश जारी हुनुका साथै मानवीय क्षति समेत भएको छ। यो द्वन्द्व हुनुका पछाडि स्थानीय असमझदारीसँगै बाह्य धार्मिक अतिवादी सोचको प्रभाव र सामाजिक सञ्जालको दुरुपयोग मुख्य कारणको रूपमा रहेको छ।
मधेशी र मुस्लिम समुदाय बीचको तनावका कारणहरू यस प्रकार छन्ः
१. पहिचान र राजनीतिक प्रतिनिधित्वको प्रतिस्पर्धाः मधेश आन्दोलनको नेतृत्व प्रायः हिन्दु मधेशी विशेषगरी यादव, साह, महतोजस्ता अग्रज जातिहरूले गर्छन् । मुस्लिम समुदायलाई यस राजनीतिक आन्दोलनमा आफ्नो पहिचान “गौण” भएको महसुस हुन्छ।निर्वाचन क्षेत्र, स्थानीय निकाय र राजनीतिक दलहरूमा प्रतिनिधित्व बाँडफाँटमा दुई समुदायबीच प्रतिस्पर्धा हुन्छ। जसले बेलाबखत तनाव सिर्जना गर्छ ।
२. सामाजिक–आर्थिक असमानताः मुस्लिम समुदाय प्रायः तल्लो आर्थिक तहमा छन्, जबकि केही मधेशी जातिहरू जमिनको जोत पोत, व्यापार र राजनीतिमा उच्च स्थानमा छन् ।यो असमानताले मुस्लिमहरूमा आफूलाई पछाडि पारिएको भावना जन्माउँछ। जमिन माथिको हक, रोजगारी, शिक्षा र स्वास्थ्यको पहुँचमा भएको फरकले दुई समुदायबीच देखिने गरी अन्तर सिर्जना गरेको छ।
३. धार्मिक र सांस्कृतिक भिन्नता र सहिष्णुताको कमीः मधेशी समाजको मूल संस्कृति हिन्दु धर्मकेन्द्रित छ। दशैँ–तिहार, मठ–मन्दिरको प्रभुत्व छ। मुस्लिम समुदाय आफ्नो धार्मिक पहिचान (मस्जिद, ईद, हलाल) कायम राख्न चाहन्छ।कहिलेकाहीँ धार्मिक चाडपर्व, विवाह, खानपान (मासु, प्रसाद) जस्ता विषयमा परम्परागत/कट्टरपन्थी दृष्टिकोणले द्वन्द्वको बीज रोप्छ।
४. राजनीतिक फाइदा र ध्रुवीकरणः महत्वाकांक्षी राजनीतिज्ञहरूले चुनाव जित्न वा सत्ता कब्जा गर्न धार्मिक÷समुदायिक ध्रुवीकरणको रणनीति अपनाउँछन् । एक समुदायलाई अर्कोविरुद्ध उभ्याएर मत बाँडफाँट गर्ने प्रवृत्तिले तनावलाई विकृत गर्छ । बाह्य शक्ति भारतको हिन्दु राष्ट्रवादी प्रभाव, अन्यले यस्तो ध्रुवीकरणलाई उक्साउन सक्छन् ।
५. स्थानीय पहिचान र समुदायको आशंकाः केही मधेशीहरू मुस्लिम समुदायलाई “बाहिरी” वा “बिहार÷उत्तर प्रदेशबाट बसाइँ सरेर आएको” भनेर हेला गर्छन् ।त्यसैगरी केही मुस्लिमहरू आफूलाई मधेश आन्दोलनले प्राथमिकता नदिएको ठान्छन् । यस्ता पारस्परिक आशंकाले सामाजिक दूरी बढाउँन मलजल गर्छ।
६. कमजोर कानुनी संवेदनशीलता र सुरक्षा संयन्त्रः द्वन्द्वको समयमा राज्यले दुवै समुदायलाई निष्पक्ष सुरक्षा दिन नसक्दा विश्वास घट्छ। अल्पसंख्यक मुस्लिमहरूमा “राज्य हिन्दुवादी पक्षतिर झुकेको” भन्ने आशंका जाग्दा तनाव थप बढ्छ।
७. हिंसाको ऐतिहासिक पृष्ठभूमिः विभिन्न कालखण्डमा आन्दोलन, नाकाबन्दी, स्थानीय झडप आदि भएका हिंसात्मक घटनाहरूले दुई समुदायबीच दीर्घकालीन अविश्वास र आक्रोशको “स्मृति” निर्माण गरेका छन्, जुन पुस्तौँसम्म हस्तान्तरण हुन्छ।
३. द्वन्द्वको भूराजनीति र बाह्य शक्तिहरूको भूमिका
भारतको भूमिकाः खुला सिमाना र रोटी–बेटीको सम्बन्ध रहेको भारतको तराई–मधेसको राजनीतिमा गहिरो प्रभाव रहिआएको छ। भारतका दक्षिणपन्थी तथा हिन्दुवादी संघसंस्थाहरूको वैचारिक प्रभाव नेपालका तल्लो तहसम्म पुग्दा साम्प्रदायिक तनाव बढेको विश्लेषण गरिन्छ। साथै, मधेस आन्दोलनका क्रममा भारतको रणनीतिक स्वार्थ र दबाबपूर्ण नीतिको आलोचना हुने गरेको छ। भारत र चीनबीच आर्थिक तथा व्यापारीक सवालमा समझदारी देखिए पनि चीत विरोधी सवालमा भने अमेरिका र भारतको रणनीतिक स्वार्थमा मेल खान्छ । त्यसकारण नेपाल युद्ध मैदान हुने जाखिम रहन्छ । यसको लागि नेपालले कसैसंग नजिक र टाढाको दूरी नराखी संन्तुलित विदेश नीति अपनाउनु पर्ने हुन्छ ।
संयुक्त राज्य अमेरिकाको भूमिकाः अमेरिकाले नेपालको लोकतान्त्रिक सुदृढीकरण, मानव अधिकार र खुला समाजको नाममा प्रत्यक्ष–अप्रत्यक्ष चासो राख्दै आएको छ। इन्डो–प्यासिफिक रणनीतिको परिप्रेक्ष्यमा चीनको बढ्दो प्रभावलाई रोक्न अमेरिकाले यहाँका सीमान्तकृत समुदाय, पहिचानवादी आन्दोलन र नागरिक समाजलाई सहयोग गर्ने गरेको छ, जसलाई कतिपय विश्लेषकहरूले भूराजनीतिक पकड बनाउने रणनीतिको रूपमा हेर्ने गरेका छन् ।तिब्बतलाई एउटा चीनको “सफ्ट वेल्ली” को रुपमा लिइन्छ । यस अवस्थालाई आधार मानेर अमेरिका तिब्बतलाई चीनबाट अलग राख्न चाहन्छ । त्यसैले नेपाल लगायत अन्य मुलुकमा तिब्बतियनहरुले चीन विरोधी गतिविधि बढाई रहेको पाइन्छ ।नेपाल एउटा रणनीतिक स्थानमा रहेकोले यो भूगोल अमेरिका र चीनबीच युद्ध भएमा प्रयोग हुन सक्ने जोखिम सधैं रहन्छ । हाम्रो भूमि दुबै छिमेकी राष्ट्र भारत र चीन विरुद्ध प्रयोग हुन नदिननेपाल सरकार, राजनीतिक दलहरु, नागरीक समाज, नेपाली जनता र सञ्चार माध्यम सधैं चनाखो हुनु पर्ने देखिन्छ । आन्तरिक सदभाव, आपसी मेलमिलाप, प्रवल देशभक्तिको भाव र राष्ट्रिय एकता सुदृढ भए मात्र विदेशी अदृश्य शक्तिलेनेपाल र नेपाली माथि बुई चढेर खेल्न सक्दैनन् ।
४. द्वन्द्वका प्रभावहरू
सामुदायिक स्तरमाः सामाजिक सद्भाव खलबलिनु, आपसी विश्वासमा कमी आउनु, विस्थापन र असुरक्षाको महसुस हुनु ।
राष्ट्रिय स्तरमाः राजनीतिक अस्थिरता, आर्थिक विकासमा बाधा, राष्ट्रिय एकता कमजोर हुनु र राज्यको सुरक्षा संयन्त्रमाथि दबाब बढ्नु ।
अंतर्राष्ट्रिय स्तरमाः नेपालको आन्तरिक सुरक्षा र स्थिरतामा बाह्य चासो र हस्तक्षेप बढ्ने खतरा हुनु ।
५. द्वन्द्वलाई शान्ति र सामाजिक सद्भावमा रूपान्तरण गर्ने उपायहरू
संवाद र सहकार्यः सबै जातजाति, भाषाभाषी र धर्मका अगुवाहरूबीच नियमित अन्तरधार्मिक तथा अन्तरसामुदायिक संवाद सञ्चालन गर्ने ।
न्यायिक र समतामूलक राज्यः राज्यका सबै अंगमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गरी सीमान्तकृतको भावना सम्बोधन गर्ने ।
कानूनी कारबाही र संयमताः साम्प्रदायिक द्वन्द्व फैलाउनेलाई कानूनी दायरामा ल्याउने र सुरक्षा निकायलाई संयमित तथा जिम्मेवार बनाउने ।
शिक्षा र सचेतनाः विद्यालय तहदेखि नै सहिष्णुता, विविधता र राष्ट्रिय एकताको शिक्षा प्रदान गर्न जरुरी देखिन्छ । सञ्चार माध्यमले पनि सामुदायिक सद्भाव भडकाउने कार्य भन्दा सद्भाव र आपसी समझदारी कायम गर्नेतिर सूचना संप्रेषण गर्नु पर्ने हुन्छ ।
६. चुनौतीहरू र सिकाइ
राजनीतिक स्वार्थका लागि धर्म र जातको प्रयोग रोक्नु, खुला सिमानाबाट हुने अवाञ्छित गतिविधी नियन्त्रण गर्नु, सामाजिक सञ्जालको नियमन गर्नु र बाह्य उक्साहट र अतिवादबाट जोगिन आन्तरिक रूपमा बलियो राष्ट्रिय एकता र न्यायपूर्ण शासन प्रणाली अपरिहार्य छ। क्षणिक राजनीतिक लाभभन्दा सामाजिक सद्भाव, राष्ट्रियता र देशको सार्वभौमिकता सर्वोपरि हुन्छ।
सारमा, तराई–मधेस नेपालको विविधता र समृद्धिको आधार हो । यहाँ देखिएका जाति, वर्ग वा धर्ममा आधारित द्वन्द्वलाई बल प्रयोगले मात्र समाधान गर्न सकिंदैन । यसका लागि आर्थिक समृद्धि, सामाजिक न्याय, पारदर्शी शासन र सबै समुदायबीचको आपसी आदर र मेलमिलाप नै दीगो शान्तिको एकमात्र मार्ग हो ।
७. भारतको राजनीतिक प्रभाव र तराइ–मधेश संघर्ष
नेपाल–भारत खुला सिमाना, सांस्कृतिक निकटता र ऐतिहासिक सम्बन्धका कारण भारतको तराइ–मधेशमा गहिरो प्रभाव छ। यसले संघर्षलाई धेरै तरिकाले बढाउँछः
१. मधेशी आन्दोलन र आन्तरिक राजनीतिमा हस्तक्षेप
भारतले मधेशी समुदायलाई “भारतसँग नजिक” मानेर उनीहरूको आन्दोलनलाई सशस्त्र रूपमा नभए पनि राजनीतिक, कूटनीतिक र प्राविधिक सहयोग गर्ने गरेको छ। संविधान संशोधन, नागरिकता, र निर्वाचन क्षेत्र विभाजनजस्ता संवेदनशील मुद्दामा भारतले खुला रूपमा टिप्पणी गर्दै नेपाली आन्तरिक राजनीतिमा प्रभाव पार्न खोज्छ, जसले काठमाडौं र मधेश बीचको विश्वासको खाडल बढाउँछ।
२. सिमाना र नाकाबन्दी शक्ति
सन् २०१५–१६ को नाकाबन्दी यसको प्रमुख उदाहरण हो । भारतीय नाकाबन्दीले तराइ–मधेशमा इन्धन, औषधि र खाद्यपदार्थको अभाव सिर्जना भयो, जसले गर्दा स्थानीय बासिन्दा काठमाडौं सरकारप्रति आक्रोशित भए र मधेशी आन्दोलनलाई बल पुग्यो ।
३. खुला सिमाना र असुरक्षा
खुला सिमानाका कारण हिन्दु राष्ट्रवादी समूह, र विभिन्न हिंसात्मक समूहहरू आवतजावत गर्छन् । भारतका केही विचारधारात्मक र धार्मिक संगठनहरू जस्तै हिन्दु राष्ट्रवादी पक्ष तराइ–मधेशमा मुस्लिम तथा जनजाति समुदायविरुद्ध द्वेष फैलाउन सक्छन्, जसले सामप्रदायिक तनाव बढाउँछ।
४. आर्थिक र जलस्रोत दबाब
भारतले सीमा व्यापार, पारवहन अधिकार र जलविद्युत् परियोजनाहरूमा लगाएको नियन्त्रण र दबाबले तराइ–मधेशका बासिन्दा जो आर्थिक रूपमा भारतसँग व्यापारमा निर्भर छन उनीहरु असन्तुष्ट हुन्छन् । यो असन्तुष्टि राजनीतिक अस्थिरताको रूपमा प्रकट हुन्छ।
५. धार्मिक र सांस्कृतिक प्रभाव
भारतमा बलियो हुँदै गएको हिन्दु राष्ट्रवादी आन्दोलनको छायाँ तराइ–मधेशमा पर्छ । यसले स्थानीय हिन्दु मानसिकतालाई ध्रुवीकरण गर्न र अल्पसंख्यक मुस्लिम तथा जनजातिहरूलाई हेला गर्ने वातावरण बनाउन सक्छ । यसले धार्मिक संघर्षको जग बसाल्छ।
६. दोहोरो मापदण्ड
भारतले एकातिर “छिमेकीको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने” भन्छ, अर्कातिर मधेशी नेताहरूसँग गोप्य बैठकहरू गरेर उनीहरूलाई काठमाडौंविरुद्ध मोर्चा बनाउन प्रोत्साहित गर्छ । यो दोहोरो चरित्रले नेपाली जनता बीच अविश्वास बढाउँछ।
सारमा, भारतको प्रभावले तराइ–मधेशमा संघर्षलाई सीधै “इन्धन” भर्ने काम गर्छ । चाहे त्यो नाकाबन्दीको सहारा होस्, मधेशी आन्दोलनलाई कूटनीतिक समर्थन होस्, वा हिन्दु राष्ट्रवादी विचारधाराको प्रसार होस् । तर, यो पनि सत्य हो कि भारत एकमात्र कारण होइन । आन्तरिक सामाजिक असमानता, राज्यको यकिन कानुनी सुरक्षा अभाव र स्थानीय राजनीतिक स्वार्थ पनि उत्तिकै जिम्मेवार छन् । तर बुझ्नु पर्ने कुरा के छ भने दुई पक्षबीच द्वन्द्व हुनुमा आन्तरिक कारण प्रधान र वाह्य कारण गौण हुन्छ । भारतले प्रायः यी आन्तरिक कमजोरीहरूलाई “दोहन” गरेर आफ्नो रणनीतिक स्वार्थ पूरा गर्न खोज्छ।
८.निष्कर्ष
मधेशी र मुस्लिम बीचको तनावको मूल जरा पहिचानको प्रतिस्पर्धा, सामाजिक–आर्थिक असमानता र धार्मिक सहिष्णुताको कमीमा छ। तर, सबैभन्दा विनाशकारी तत्व भनेको राजनीतिक रूपमा यस तनावको दोहन हो । जब शक्ति र स्वार्थका लागि दुई समुदायलाई जानाजान एकअर्काको शत्रु बनाइन्छ, तब देखिने गरी संघर्ष चर्कन्छ।राज्यको मूलप्रवाहबाट मधेसी, मुस्लिम, दलित र सीमान्तकृत समुदाय लामो समयसम्म राजनीतिक, आर्थिक र प्रशासनिक रूपमा पछाडि पारिनुले द्वन्द्वको बीज रोपण गर्छ । राज्यको पुनर्संरचना गर्दा संघीयता, भाषा, र प्रदेशको सीमांकनसम्बन्धी असन्तुष्टि द्वन्द्वको अर्को कारण रहेको छ । जमिन माथिको पहु‘च, रोजगारी, शिक्षा र विकासका अवसरमा पहुँचको अभाव जस्तो सवाल, धार्मिक जुलुस, सांस्कृतिक प्रदर्शन, सामाजिक सञ्जालमा फैलिने अफवाह र उत्तेजित नाराबाजी आदि पनि द्वन्द्वको कारण रहेका छन् । सबै जातजाति, भाषाभाषी र धर्मका अगुवाहरूबीच नियमित अन्तरधार्मिक तथा अन्तरसामुदायिक संवाद सञ्चालन गर्नु पर्छ । राज्यका सबै अंगमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गरी सीमान्तकृत वर्गको भावना सम्बोधन गर्न आवश्यक छ । साम्प्रदायिक द्वन्द्व फैलाउनेलाई कानूनी दायरामा ल्याउने र सुरक्षा निकायलाई संयमित तथा जिम्मेवार बनाउन जरुरी देखिन्छ । विद्यालय तहदेखि नै सहिष्णुता, विविधता र राष्ट्रिय एकताको शिक्षा प्रदान गरी जनचेतना जगाउनु पर्छ । भारतको भूमि भएर नेपाल प्रवेश गर्ने शरणार्थीहरुलाई बेलैमा नियन्त्रण गर्नु पर्ने देखिन्छ । भोलीका दिनमा यिनै शरणार्थीहरु द्वन्द्वमा प्रयोग हुने जोखिम धेरै छ । हालै तराई—मधेशमा भएको झडप एउटा भूराजनीतिक खेलको श्रृङ्खला मात्र हो । पछिका दिनमा यसले अझ उग्र रुप लिने संभावना प्रवल छ ।
नेपालको दक्षिणी भागको करीव १८५० किलो मिटर लामो खुला सीमानाको रक्षा गर्ने मधेशी जनता नै हुन् । बास्तविक मधेशी जनता देशभक्त छन् । यो देशको खतरा सर्वसाधारण नागरीकबाट छैन । यदि देशका लागि खतरा छ भने तथाकथित् विकाउ बुद्धिजीवीहरु, छद्मभेशी राजनीतिक दलका नेताहरु र उच्च आहोदामा आसिनहरुबाट नै छ । एउटा सचेत देशभक्त नागरीकका लागि राष्ट्रियता, देशको भौगोलिक अखण्डता, सार्वभौमसत्ता र स्वाभीमान भन्दा ठूलो कुरा केही हुन सक्दैन । यो देशको संरक्षण र सम्वद्र्धन गर्ने नेपाली नागरीक नै हुन् । यदि हामी कसैको लागि प्रयोग हुन्छौं भने त्यो राष्ट्रघाती कार्य हो, यो कसैका निम्ति पनि क्षम्य हुन सक्दैन् । भविश्यमा इतिहासले अबस्य सबैको मुल्याङ्कन गर्नेछ ।
तराई–मधेसद्वन्द्वको भूराजनीतिक चलखेल –डा. नरविक्रम थापा