Skip to main content

Gorkha Sansar

लायन्स क्लब अफ काठमाडौं जीवन ज्योतिको Installation तथा Induction Program सम्पन्न

lions

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं जीवन ज्योतिको Installation तथा Induction Program भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न लायन्स क्लबका पदाधिकारी, चार्टर मेम्बर, सदस्य तथा अतिथिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमको पहिलो चरणमा आसन ग्रहण, खादा तथा माला, राष्ट्रिय गान, झण्डाको अभिवादन, विश्व शान्तिका लागि मौन प्रार्थना, स्वागत मन्तव्य तथा स्वागत नृत्यलगायतका कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा लायन प्रजापति बास्तोला एमजेएफको उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा विभिन्न लायन्स क्लबका वर्ष २०२५/२६ का अध्यक्षहरूले आफ्नो कार्यकालका अनुभव तथा गतिविधिबारे मन्तव्य प्रस्तुत गरेका थिए।District Governor PMJF lion Prajapati Bastola काे बिशेष उपस्थितिमा बालाजु हाइट्स, नागार्जुन, बालाजु ब्राइट, चार्टर्ड एकाउन्टेन्ट्स, दीपसेवा, नागार्जुनलगायतका क्लबका अध्यक्ष तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो।
त्यसैगरी, लायन्स क्लब अफ काठमाडौं जीवन ज्योतिको Installation तथा Induction कार्यक्रमअन्तर्गत नयाँ सदस्य अर्थात् चार्टर मेम्बरहरूलाई लायन्स परिवारमा औपचारिक रूपमा स्वागत गरिएको थियो। कार्यक्रममा सहभागी चार्टर मेम्बरहरूलाई लायन्सको सेवा भावनालाई आत्मसात् गर्दै समुदाय तथा समाजको हितमा सक्रिय भएर अघि बढ्न आह्वान गरिएको थियो।
कार्यक्रममा क्लब नेतृत्वले नयाँ सदस्यहरूको साथ, सहयोग र सक्रिय सहभागिताले क्लबलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको थियो। ‘We Serve’ अर्थात् ‘हामी सेवा गर्छौं’ भन्ने लायन्सको मूल भावनालाई आत्मसात् गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रमको दोस्रो चरणमा लायन शालिग्राम शर्मा पौडेलको अध्यक्षतामा विभिन्न औपचारिक कार्यक्रम सञ्चालन गरिएको थियो। लायन वर्ष २०२६/२७ का लागि विभिन्न क्लबका अध्यक्ष तथा पदाधिकारीहरूले जिम्मेवारी ग्रहण गरेका थिए। नयाँ सदस्यहरूलाई शपथ ग्रहण गराउनुका साथै क्लबका पदाधिकारीहरूको पदस्थापनसमेत गरिएको थियो।
कार्यक्रममा लायन बिमला अधिकारीको नृत्य प्रस्तुति, शुभकामना मन्तव्य, विभिन्न पदाधिकारीहरूको परिचय तथा सम्मान कार्यक्रमसमेत आयोजना गरिएको थियो। साथै को–चिफ एडभाइजर, पि.डि.जि., द्वितीय पि.डि.जि. तथा प्रथम पि.डि.जि.लगायत लायन्स नेतृत्वको सहभागिता रहेको थियो।
सेवा नै लायन्सको मूल उद्देश्य
लायन्स क्लब अन्तर्राष्ट्रिय रूपमा समुदाय र मानवीय सेवामा केन्द्रित स्वयंसेवी संस्था हो। यसको मुख्य उद्देश्य स्वास्थ्य तथा कल्याणमा सुधार ल्याउने, समुदायलाई सुदृढ बनाउने र आवश्यकतामा रहेका व्यक्तिलाई सहयोग गर्ने तथा शान्ति र अन्तर्राष्ट्रिय समझदारी प्रवर्द्धन गर्नु हो।
लायन्सले दृष्टि संरक्षण, मधुमेह, बाल क्यान्सर, विपद् राहत, वातावरण संरक्षण, भोकमरी न्यूनीकरण, मानवीय सेवा तथा युवासम्बन्धी क्षेत्रमा विश्वभर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
सन् १९१७ मा भएको थियो लायन्सको स्थापना
लायन्स क्लबको इतिहास एक शताब्दीभन्दा लामो छ। सन् १९१७ मा अमेरिकाको सिकागोका व्यवसायी मेल्भिन जोन्सको पहलमा सेवा केन्द्रित क्लब स्थापना भएको थियो। व्यवसायिक क्लबहरूलाई समुदायको हित र सेवामा जोड्ने सोचका साथ जोन्सले अघि सारेको अवधारणाबाट लायन्स आन्दोलनको सुरुवात भएको हो।
स्थापनाको केही वर्षमै लायन्स अन्तर्राष्ट्रिय संगठनका रूपमा विस्तार भयो। सन् १९२० मा क्यानडामा क्लब स्थापना भएपछि यसको अन्तर्राष्ट्रिय विस्तार सुरु भएको आधिकारिक इतिहासमा उल्लेख छ। अहिले लायन्स विश्वका २०० भन्दा बढी देश तथा भौगोलिक क्षेत्रमा सक्रिय रहेको छ।
लायन्सको मूल मन्त्र “We Serve” हो। यही सेवाको भावनालाई केन्द्रमा राखेर विश्वभरका लायन्स सदस्यहरूले आफ्नो समय, क्षमता र स्रोतलाई समुदाय तथा मानवीय सेवामा समर्पित गर्दै आएका छन्।
कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन, मायाको चिनो वितरण, समापन घोषणा तथा सामूहिक फोटो सेसन गरिएको थियो।
कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं जीवन ज्योतिका नयाँ चार्टर मेम्बरहरूलाई हार्दिक स्वागत गर्दै आगामी दिनमा “Together We Serve, Together We Make a Difference” को भावनाअनुसार समाज र समुदायको सेवामा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.