Skip to main content

Gorkha Sansar

नेपाल–अंङ्ग्रेज युद्धमासरदार डम्वरसिंह थापाको भूमिका –डा. नरविक्रम थापा

  • इतिहासका निर्माता जनता हुन् । भूंइमानिसका छोराहरुको इतिहास आझेलमा पारेर दरबारमा बस्ने राजा, महाराज र हुकूम चलाउनेहरुको मात्रै गुणगान गाउने चलनले धेरै देशभक्त, राष्ट्र जोगाउन ज्यानको पनि परवाहा नगरी देशका लागि लड्ने वीर सपुतहरु ओझेलमा पर्दै आएका छन् । ती मध्ये एक हुन नेपाल एकीकरण अभियानका लडाकु सरदार डम्बरसिंह थापा । वि.सं. १८२४ सिन्धुली पौवागढीमा नेपाल–अंग्रेजबीच भएको युद्धमा नेपाली सेनाले ब्रिटिस साम्राज्यवादलाई नराम्रोसंग हराएको थियो । वीर नेपाली सेनाले त्यस बखत छापामार शैली अप्नाई घरेलु हतियार जस्तै भरुवा बन्दुक, घुयत्रो, गुलेली, खुडा, तरवार, खुकुरी, ढुङ्गामुडा र अरिङ्गालको गोलामा घुयत्रो हानी विषालु किरा समेत प्रयोग गरेर लज्जाजनक रुपमा ब्रिटिस साम्राज्यवादी सेनालाई धुलो चटाएको थियो । यस युद्धमा सरदार डम्बरसिंह थापा युद्ध मोर्चाको अघिल्लो पङ्तिमा रहि सक्रियतापूर्वक लडेका थिए । साथै उनले वडाकाजी अमरसिंह थापासंगै नेपालको पूर्वी क्षेत्र टिष्टा नदी देखि पश्चिम किल्ला काङगडासम्म बिटिश साम्राज्यवादका विरुद्धमा लडेका थिए । तर उनको योगदान नेपालको इतिहासमा ओझेलमा परेको देखिन्छ । यस आलेखमा नेपाल–अंग्रेजबीच भएको सिन्धुली,पौवागढी युद्धमा उनको त्याग, युद्ध कौसल र वीरताको उजागर गर्नेउद्देश्य राखिएको छ । सरदार डम्बरसिंह थापाको जन्म वि.सं. १७९५ मा भएको पाइन्छ ।

सरदार डम्बरसिंह थापा (वि.सं. १७९५—१८७५)
सरदार डम्बरसिंह थापा सरदार जसराम थापाका जेठा छोरा थिए । सरदार जसराम थापाका जेठीपट्टीका खलक डम्बरसिंह थापा हुन् उनी अमारेमा बसोबास गरे । डम्बरसिंह थापाका माहिला काका मुसुराम थापा चिशंखु, ओखलढुङ्गामा बसोबास गर्न गए भने साहिला परशुराम थापाका संतान चाँहि झाँगाझोली, थापा थुम्काका बगाले थापा हुन् । धेरै पछिसम्म अमारे, झाँगाझोली (थापा थुम्का) र सिन्धुली, खुर्कोटका थापाबीच दशैंमा पूmलपाती र दाजुभाइ मर्दा वीचार आदान प्रदान हुने गरेको पाइन्छ । कान्छा काशीराम थापा भने भलुवाजोर, रामेछापमा बसोबास गर्न गएको कुरा हस्तलिखित वंशावलीमा उल्लेख भएको पाइएको छ । सरदार डम्बरसिंह थापाका सात भाइ छोराहरु थिए —
१. खम्बसिंह थापा (जेठा) —गौखर्क (सारीछाप), २. निर्भयसिंह थापा (माहिला)— निसन्तान (सरदार), ३. हिमकर्णसिंह थापा (साहिला)— अमारे, ४. अभयसिंह थापा (काइला) — अमारे, ५.नवलसिंह थापा (ठाइला)–मोरङ्ग, विराटनगर, ६. बक्तावरसिंह थापा (अन्तरे) —अमारे र ७. बदलसिंह थापा (कान्छा) —गौखर्क (सारीछाप) बसोबास गरेको देखिन्छ ।
सरदार डम्बरसिंह थापाका पुर्खौलीहरु वि.सं. १४०६ मा जयदेव मल्लको पालादेखि कान्तिपुर राज्यमा सेनामा सहभागि भएको पाइन्छ । बगाले थापाहरु वीर, साहसी, लडाकु र हेर्दैमा खाइलाग्दा थिए । शुरुदेखि नै सैनिक पेशामा संलग्न बगाले थापाहरु युद्ध कलामा निपुर्ण थिए । साथै पृथ्वीनारायण शाहले अन्य सबै थापा परिवारका शक्तिशाली व्यक्तिहरुसंग छलफल गरी आफ्नो सेनामा सहभागी हुन आग्रह गरे । उनीहरुलाई विश्वास दिलाउन पृथ्वीनारायण शाहले गोरखाका तुलराम पाण्डेकी छोरीसंग डम्वरसिंह थापाको बिवाह गरिदिए र आजीवन सरदार पदवी पनि दिए । त्यसपछि सरदार डम्वरसिंह थापा सिन्धुली, पौवागढीमा अंग्रेज विरुद्धको युद्धमा खटिए । त्यस सिलसिलामा उनी अमारेमा बसोबास गर्न आए । किनभने उनी पृथ्वीनारायण शाहसंग मिलीसकेपछि कान्तिपुरमा बस्न सक्ने अवस्था रहेन र उनी अमारे आउँदा सिन्धुलीगढीको बाटोहुँदै हात्ती पनि लिई आएका थिए । त्यसभन्दा पहिले उनी कनौजमा बसोबास गर्दथे । अमारेमा अहिलेसम्म हात्ती बाँध्ने कीलो मक्कियर गए पनि हात्तीले पानी पिउने पोखरी, वरपिपलको चौतारो र डम्बरसिंहले पानी पिउने गरेको कुवा अझै देख्न पाइन्छ । यस क्षेत्रमावीर सरदार डम्वरसिंह थापा निकै लोकप्रिय रहेको पाइन्छ ।
सरदार डम्वरसिंह थापा युद्ध कलामा अत्यन्त निपूर्ण थिए । उनी हात्ती माथि चढेर दुश्मनको विरुद्धमा लड्ने क्षमता राख्दथे । सिन्धुली, पौवागढीको युद्ध हुनुभन्दा पहिला पृथ्वीनारायण शाह ६ महिना जति सरदार डम्वरसिंह थापाको घरमा बसेर त्यस भेगको अध्ययन गरेर अंग्रेजसंग लड्ने रणनीति तयार गरेका थिए । त्यहाँका जाजिफकार व्यक्तिहरुका अनुसार अंग्रेजसंग लड्ने रणनीति तयार पार्न सरदार डम्वरसिंह थापा र उनका बाबु सरदार जसराम थापाले महत्वपूर्ण सल्लाह तथा सुझावहरु दिएका थिए । अंग्रेजको फौज निकै शक्तिशाली भएकोहुँदा उनीहरुलाई हराउन छापामार शैलीको युद्ध कला अपनाउनु पर्नेकुरा उनलेनै पृथ्वीनारायण शाहलाई सुझाएका थिए । यसै रणनीतिक योजनाको आधारमा वि.सं. १८२४ आश्विन १५ गते नेपाली सेनाले अंग्रेज विरुद्धको युद्धमा विजय हात पारेको थियो ।यही युद्धबाट एउटा कहावत सुन्न पाइन्छ कि “किरै बैरे, झारै बैरी ।” अङ्ग्रेजका लागि कीरा, आरिंगाल र बच्छ्यू‘ बैरी भयो भने सिस्नोको झार पनि बैरी बन्यो । यस युद्धमा सरदार डम्वरसिंह थापाले बहादुरीका साथ युद्ध मोर्चा सम्हालेका थिए भन्ने कुरा स्थानीय जानिफकार व्यक्तिहरुको भनाइ छ । तर, यस बारेमा कतै पनि स्पष्टसंग इतिहासमा उल्लेख गरिएको पाइदैन् । सिन्धुलीको पौवागढीमा भएको नेपाल—अङ्ग्रेज युद्धमा वेलायती सेनालाई पराजित गर्न असमर्थ भएको भए त्यसै बेला नेपाल एकीकरण अभियान नै रोकिने थियो । परिणामस्वरुपः हामी आज स्वतन्त्र नेपाली भएर स्वाभीमानपूर्वक बॉच्न सक्ने थिएनौं । नेपाल एककिरण अभियानमा धेरै वीर वीरङ्गानाहरुले नेपाल राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान दिनु भएको पाइन्छ । तर अझै यस्ता वीर लडाकुहरुको यथोचित कदर हुन सकेको छैन ।
सरदार डम्वरसिंह थापाले आफ्नो सेनामा खस क्षेत्री (बगाले थापा, गोदार थापा, पुवार थापा, बस्नेत, कार्की, कुवर, पाँण्डे, खड्का आदि), मगर, गुरुङ, हायु, सुनुवार, तामाङ, विश्वकर्मा, दमाई, सार्की, माझी, दनुवार, भुजेल, थारु, बाहुन आदिलाई समावेश गरेका थिए । उनले आफ्ना सिपाहीहरुलाई उच्च मनोबलकासाथ परिचालन गरेको कुरा स्थानीय बुढापाकाहरुको भनाई रहेको छ । उनलाई युद्धको वेलामा स्थानीय जनताको ठूलो सहयोग हुन्थ्यो । उनको युद्ध कुशलताले गर्दा स्थानीय जनताले हरतरहले रसद पानीको व्यवस्था मिलाउन समेत नेपाली सेनालाई मद्दत गर्दथे । सिन्धुलीगढीको युद्धमा स्थानीय जनताले आफ्नो घर नै ताल्चा लगाएर बन्द गरी पूर्ण रुपमा गाउँ नै खाली गरेर नेपाली सेनाको पक्षमा तन, मन र धनले सहयोग जुटाएका थिए । यो एउटा अविस्मरणीय क्षण थियो जसको कारणले अंग्रेजको फौज हार खाएर धोती न टोपी भएर भाग्न वाध्य हुनुप¥यो । यस युद्धमा अंगे्रजका अन्दाजी १६०० जना सेना मारिएका थिए भने करिव ३०० जना जति नेपाली सेनाले वीरगति प्राप्त गरे भन्ने कुरा इतिहासमा उल्लेख भएको पाइन्छ । नेपाल—अंग्रेज युद्धमा मरेका वास्तविक सेनाका संख्याको हकमा भने शंका गर्ने ठाउँ छ । सरदार डम्बरसिंह थापा हरिहरपुरगढीको नेपाल–अंग्रेज युद्धमा पनि सक्रिय रुपमा भाग लिएका थिए । उनी सिन्धुली पौवागढी किल्ला हेर्ने उमराव पनि थिए । त्यसवेलाको प्रचलनअनुसार सामरिक महत्वको दृष्टिले महत्वपूर्ण मानिएका ठाउ¤हरुमा किल्ला या गढी बनाइन्थ्यो र त्यस्ता किल्ला वा गढीमा स्थायी रुपमा कुरुवा बस्ने व्यक्तिलाई “उमराव” भनिन्थ्यो । यस्ता यी उमरावहरुमाथि राज्यका निजामती प्रशासकहरुको हुकुम आदेश चल्दैन्थ्यो । उनीहरु युद्धको समय आफ्नो हेरचाह र निगरानीमा रहेका इलाकाहरुका उमेर पुगेका व्यक्तिहरुबाट आफ्नो सेनाको संगठन तयार गर्दथे र भूमिकर उठाउने काम पनि गर्दथे । यिनीहरुको पोशाक ठूलो मोहता भएको सुरुवाल, त्यो माथि छोटो जामा र टाउ¤कोमा पगरी हुन्थ्यो । उमरावहरु विविध श्रेणीकाहुन्थे । लडाई परेको वेलामा उनीहरुले आफ्ना श्रेणीअनुसार निश्चित संख्याका तरवार भिर्ने सिपाही उपस्थित गर्नु पथ्र्यो ।
सरदार डम्वरसिंह थापाले सामाजिक सेवामा पनि हात बढाएका थिए । वि.सं. १८६९ मा उनले सिन्धुलीको खाल्टेचैनपुर (हाल सुनकाशी गाउँपालिका वार्ड नं. ६) मा शितलपाटीको निर्माण गरे । यो ठाउँ काठमाडौं ओहोर दोहोर गर्ने मुख्य नाका रहदै आएको छ । त्यसवेला त्यहाँ पिउने पानीको निकै अभाव हुन्थ्यो । बटुवाहरुको प्यास मेटाउन यो पाटीमा घ्याम्पो राखी सुनकोशी नदीबाट (अन्दाजी आधा किलो मिटर तल) पानी ल्याउन एक जना सेवकको बन्दोबस्त समेत मिलाएका थिए । त्यस घेम्पोबाट जो कोहीले विना छुवाछुत (भेदभाव) ट्वाकले उभाई पानी पिउन सक्थे । यस व्यवस्थाले त्यसवेलामा पनि छुवाछूतको अन्त्य गर्न समाजमा रहेको कुरीति र अन्धविश्वास हटाउने समानताको सन्देश प्रवाह गरेको थियो । सुनकोशी नदीबाट पानी ओसारी घ्याम्पोमा राखे वापत पारिश्रमिक उपलब्ध गराउन खुर्कोट माथिल्लो वेशी देवकोटा बस्तीमा (हाल गोलान्जोर गाउँपालिका वार्ड नं. ७) मा ४० मुरी माटो खेत गुठीकोरुपमा राखिएको थियो । मोहीबाट २० मुरी धान उठाएर पानी बोक्ने व्यक्तिलाई वार्षिक रुपमा पारिश्रमिक दिने चलन वि.सं. २०५३ सालसम्म चलेको देखिन्छ । धान उठाउने जिम्मा श्री गणेशबहादुर थापालाई दिइएको थियो । उन्को देहावसान भएपछि धान उठाउन जाने मानिस पनि कोही तोकिएन । धान उठाउन जाँदा वि.सं. १८६९ मिति उल्लेख गरिएको एउटा अधिकारिक पित्तलको झारी लिएर जाने चलन चलाइएको थियो । त्यो झारी अझै शंभु थापासंग (गौखर्क) भएको बुझिएको छ । माओवादी जनयुद्ध उत्कर्षमा पुग्न थाले पछि मोहीहरुले धान दिन छाडे । पछि त्यही ठाउँबाट वि. पी. राजमार्ग संचालन हुन थालेपछि यो शितलपाटी भत्काएर सडक योजनाकै सहयोगमा नयाँ पाटीको निर्माण गरियो र पिउने पानीको धारो समेत त्यस ठाउँमा स्थापना गरिएको हुँदा सुनकोशी नदीबाट पानी बोकेर ल्याउने झंझट स्वतः हट्यो ।सरदार डम्बरसिंह थापाले वटुवालाई बास बस्नकोलागि अर्को एउटा छुट्टै पाटीको पनि निर्माण गरेको थिए जुन वि.पी. राजमार्गको माथिल्लो पट्टी भागमा रहेको छ । यस पाटीको हेरचाह गर्नथापाले वि.सं. १८७३ मा ४० मुरी माटो खेत गुठी राखेका थिए । २०७२ सालको भुकम्प पछि नेपाल सरकारको सहयोगमा यो पाटी पनि मर्मत संभार गरिएको छ । यी दुवै पाटीको तस्विर तल प्रस्तुत गरिएकोछ—

सुनकोशी गाउँपालिका (साबिकको शीतलपाटी गाविस क्षेत्र) वडा—६ खाल्टेमा पर्ने ऐतिहासिक तथा सांस्कृतिक महत्वको भौतिक सम्पदा ‘शीतलपाटी’ सरदार डम्बरसिंह थापाद्वारा निर्माण गरिएको एक पुरातात्विक विश्राम स्थल हो । यो ठाउ‘ स्थानीय ऐतिहासिक सांस्कृतिक पहिचान तथा बागमती प्रदेशको ग्रामीण सौन्दर्यसँग जोडिएको छ ।उनको मृत्यु वि.सं. १८७५ साल सिन्धुली, अमारेमा भएको थियो । किन डम्बरसिंह थापा जस्ता वीर लडाकुहरु छायॉमा पर्छन् भन्ने विषयमा तल केही चर्चा गरौं ।
डम्बरसिंह थापा, एक प्रसिद्ध सरदार वा युद्धाधिकारी, अङ्ग्रेज नेपाल युद्धको समयमा सिन्धुली गढी, हरिहरपुर गढी आदि स्थान देखि नेपाल एककिरण अभियानमा पश्चिमसम्म लडेका थिए । तर इतिहासकारहरूले उनको योगदान लेखिरहेका छैनन्, किनभने उनी शासकीय चर्चामा नहुने अथवा नामान्तर मात्र भएका हुन्छन् । अधिकांश इतिहासले राजा वा उच्च अधिकारीहरू बारे मात्र लेख्छन् जसले आम योद्धाहरूको योगदान छायामा राख्छ । उनको भूमिका लोककथा र मौखिक ऐतिहासिक स्रोतमा अझै सुन्न पाइन्छ । यस्को बारेमा तल थप चर्चा गरिएको छ ।
इतिहासले किन आम योद्धा वा सरदारहरूलाई पर्याप्त ठाउँ दिँदैन भन्ने विषयमा केही प्रमुख कारणहरू यस प्रकार छन्ः
इतिहासको शक्ति–केन्द्रित प्रकृतिः धेरैजसो इतिहास लेखन राजा, प्रधानमन्त्री, र उच्च सैन्य अधिकारीहरूको दृष्टिकोणबाट गरिन्छ । पुराना विद्वानहरू (बाबुराम आचार्य, आदि) प्रायः शासक वर्गका पक्षमा केन्द्रित रहन्थे । आम योद्धा र क्षेत्रीय कमान्डरहरू शक्ति–संरचनाको शिखरमा नभएकाले उनीहरूको नाम, उपलब्धि र त्याग दस्तावेजीकरणबाट छुट्दै गयो ।
लिखित स्रोतको अभावः नेपालको इतिहासमा मौखिक परम्परा (लोककथा, गीत, भजन) धेरै बलियो छ, तर लिखित अभिलेख सीमित छन् । सिन्धुली गढी, हरिहरपुर गढी जस्ता युद्धका विवरणहरू प्रायः गाउँगाउँमा पुस्तौंदेखि मुखमुखै चलिआएका कथामा मात्र बाँचेका छन् । इतिहासकारहरू प्रमाण र दस्तावेजको खोजीमा हुने हुँदा, लिखित प्रमाण नभएका व्यक्तिहरूले उचित स्थान पाउँदैनन् ।
राजनीतिक पूर्वाग्रह र द्वन्द्वः थापा र पाण्डे कुलबीचको प्रतिस्पर्धा, अमरसिंह थापा, भीमसेन थापा आदिको प्रभुत्व, र पछि राणा शासकले आफ्नो पक्षका व्यक्तिहरूलाई मात्र गौरवान्वित गर्यो । जो शासक वर्गसँग प्रत्यक्ष जोडिएनन् वा राजनीतिक रूपमा पक्षपोषित भएनन्, उनीहरू बिस्तारै “छायामा” पर्दै गए । डम्बरसिंह थापा पनि सम्भवतः यही लहरको शिकार भए ।
सामूहिक स्मृतिको क्षयः युद्धपछिका पुस्ताहरूले आफ्ना पुर्खाको सही विवरण लेख्ने अवसर पाएनन् । वंशावली वा पुस्ता–क्रम मौखिक रूपमा मात्र चलिआयो, जुन समयसँगै परिवर्तन, भुल्ने, वा अतिरञ्जित हुने गर्छ । त्यसैले ऐतिहासिक रूपमा प्रमाणित गर्न गाह्रो हुन्छ ।
इतिहासलेखनको पद्धतिगत सीमाः परम्परागत नेपाली इतिहासलेखन “राष्ट्र–निर्माण” र “महान व्यक्तित्व” को कथामा केन्द्रित भयो । जनस्तरका योद्धाहरूको आर्थिक–सामाजिक योगदान, स्थानीय प्रतिरोध, र संघर्षको कथा “सामान्य” मानिन्थ्यो र त्यसलाई बृहत् इतिहासभित्र समावेश गरिएन ।
तर राम्रो पक्ष यो छ कि हालका वर्षहरूमा नयाँ पुस्ताका इतिहासकारहरू र अनुसन्धानकर्ताहरूले लोकइतिहास, मौखिक परम्परा र स्थानीय अभिलेखलाई खोज्न थालेका छन् । त्यसैले डम्बरसिंह थापा जस्ता छायामा परेका योद्धाका कथाहरू पुनर्जीवित हुन गइरहेका छन् ।
सारमा, सरदार डम्बरसिंह थापा जस्ता वीर लडाकुलाई नेपालको इतिहासमा थोरै मात्र चर्चा गरिएको पाइन्छ । तथापी उनको नेपाल एकीकरण अभियानमा महत्वपूर्ण योगदान रहेको पाइन्छ । नेपालको इतिहास अंग्रेजहरुबाट लेखन सुरु गरियो । तर उनीहरुले आफ्ना कट्टर विरोधीहरुको वीरताको इतिहास षड्यन्त्रपूर्वक नै लेखेनन् । तर पछि नेपाली इतिहासकारहरु समेतले अंग्रेजकै फेर समाएर इतिहास लेखन गरेको पाइन्छ ।त्यसैले वीर देशभक्तहरु षड्यन्त्रको सिकार भएको पाइन्छ ।यो उहॉ जस्ता वीर लडाकुले नेपाल एकीकरण अभियानमा दिएको योगदानप्रति अन्याय भएको महसुस गरिएको छ । यस्ता वीर योद्धाको नाम सिन्धुली गढीको युद्ध संग्राहलयमा समेत राख्न छुटाइएको हु¤दाकमलामाइ नगरपालिकाले उनको नाम समावेस गरीनेपाल राष्ट्र निर्माणमा उनले पु¥याएको योगदानको कदर गरियोस् ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.