Skip to main content

Gorkha Sansar

सिन्धुलीगढीको नेपाल–अंग्रेज युद्धमा जसराम थापाको योगदान -डा. नरविक्रम थापा

Jasram Thapa

जसराम थापा कान्तिपुरका राजा जयप्रकाश मल्लको समय देखिनै भारदार भई कार्य गर्दै आएका थिए । पछि जयप्रकाश मल्लसंग मनमुटाव भएपछि यिनी श्री ५ पृथ्वीनारायण शाहसंग मिल्न गएका थिए । यिनले सिन्धुली गढीको नेपाल अंग्रेज युद्धमा र पछि नेपाल एकीकरण अभियानमा सक्रिय रुपमा भाग लिएका थिए । यिनको नेपाल एकीकरणमा महत्वपूर्ण योगदान भए पनि ओझेलमा परेका हु¤दा यस आलेख मार्फत प्रकाश पार्ने उद्देश्य रहेको छ । जसराम थापाको जन्म वि.सं. १७७७ मा भएको देखिन्छ ।

Jasram Thapa
सरदार जसराम थापा (वि.सं. १७७७—१८४६)
जसराम थापा दिपु थापाका छोरा र विश्राम थापाका पिता थिए भनी योगी नरहरिनाथले उल्लेख गरेको पाइन्छ । दिपु थापाका चार भाइ छोरा थिए जसमा जेठा जसराम थापा, सिन्धुली, अमारेमा रहे, माहिला मुसुराम थापा चिशंखु, ओखलढुङ्गामा बसोबास गर्न गए भने साहिला परशुराम थापा झॉगाझोली (थापा थुम्का) का बगाले थापा हुन् । कान्छा काशीराम थापा भलुवाजोर, रामेछॉपमा बसोबास गर्न गएको कुरा थाहा हुन आएको छ । विश्राम थापा कान्छी श्रीमतीपट्टिका छोरा हुन । यस हिसावले गणना गर्दा जसराम थापाका तीन भाइ छोरा भएको देखिन्छ । दिपु थापा पनि अंगद थापासंगसंगै काठमाण्डौ ंउपत्यका प्रवेश गरेको देखिन्छ । कान्तिपुरका राजा जयप्रकाश मल्लका पालामा यिनी पनि शक्तिशाली भारदार थिए । यिनलाई कतै जसराज थापा र कसैले जसराम थापा भनेर उल्लेख गरेको पाइन्छ, तर यी दुबै नाम गरेका व्यक्ति एकै हुन् । आफ्नो ग्रन्थ “नेपाल उपत्यकाको इतिहास” मा सूर्यविक्रम ज्ञावलीले रत्न मल्लदेखि लक्ष्मीनरसिंह मल्लसम्ममा “खस” हरुलाई पश्चिमबाट झिकाएर स–सम्मान विर्ता दिएर राखेको प्रसंग उठाउनु भएकोमा ति “खस” बगाले थापा नै हुन भन्न सकिन्छ । उनै को “पृथ्वीनारायण शाह” पेज १२७ मा कान्तिपुरका राजा जयप्रकाश मल्लसंग फाटो परेको हुनाले उनी काशी जान भनी हिडेका थिए, तर दहचोकमा उनी गोरखालीहरुद्वारा पक्रिएर नुवाकोटमा पृथ्वीनारायण शाहका सम्मुख उपस्थित गरियो । पृथ्वीनारायण शाहले उनी शत्रुका मुलुकको सबै हाल जान्ने कामलाग्ने मानिस हुन भनी उनलाई आदरपूर्वक आफ्ना दरवारमा राखेका थिए । उनका छोरा डम्बरसिंह थापासंग गोर्खाका तुलाराम पाण्डेकी छोरीको विवाह पनि गरियो । यो रीतिले नेपालको यौटा प्रतिष्ठित थापा परिवारसंग गोर्खालीहरुको प्रेमपूर्ण सम्बन्ध स्थापित भयो । गोरखा वंशावलीको वर्णन अनुसार नेपाल उपत्यका विजय गर्नु भन्दा अघि मकवानपुर आफ्ना अधीन गराउनु पर्छ भनी जसराम थापाले पृथ्वीनारायण शाहलाई महत्वपूर्ण सल्लाह दिएथे ” र श्री ५ पृथ्वीनारायण शाहले तुलराम पाण्डेकी छोरीलाई पनि कालु पाण्डेकी छोरीलाई जस्तै आफै लमी भई जसराम थापाका छोरा डम्वरसिंह थापासंग विवाह गराई कान्तिपुरका नेवार राजाका भारदार भएका थापाहरुलाई हात लिएका थिए (थापा, २०५९ः१२–१३) । भारदार–भारदारकोबीच सुमधुर सम्बन्ध जोडी आफ्नो कार्य फत्ते गर्ने पृथ्वीनारायण शाहको दूरदर्शी नीतिको यो राम्रो उदाहरण मान्न सकिन्छ । एउटा किंवदन्ती अनुसार राजा कालु थापाको बल, पहुँच र जगजगीबाट छिमेकी स–साना राजाहरु उठी रिस गर्न थाले । मले वम र कीर्ति वमको सल्लाह अनुसार रन्के र जय चन्दले संगठन तयार गरी आफ्नो सरकारी तिरो कालीचौरको धुरी तिर्नका लागि राजा कालु थापालाई पाख्रीचौरमा बोलाए । उनी पाख्रीचौर आएको समयमा हमला गरी उनको राज्य कब्जा गरे । त्यहाँबाट उम्के पछि उनी ताकुमकोटबाट वोर्लाङ्गचौरमा बसे । यसलाई अहिले पनि “थापाचौर” भनिन्छ । यसरी राजगद्दीबाट थापालाई भगाएकोमा त्यहाँका सारा रैतीहरुले अफसोंच मान्दै पाल धारोमा गई भात भान्सा गर्दै थिए र धुवा उडिरहेको थियो । धुवाको मुसलो देखेर ताकुमकोटका राजाले तिनीहरुलाई बोलाई सोधे । उनीहरुले आफू थापा राजाका अनुयायी भएको र उनीहरु जहाँ जान्छन् आफूहरु पनि उतै जान्छौ ंभन्ने जवाफ दिदा उनीहरुको भनाइबाट प्रभावित भएर कीर्तिवम मलेवम राजाले मानिसहरु पठाएर उनीहरुलाई दरबारमा बोलाए । थापाका मानिस दूतको रुपमा आए । उनीहरुलाई राजाले भने “हामी भाइ भाइ हौ ं। हाम्रो परस्पर कुनै भेदभाव छैन । हामी राजा हुन्छौं, तिमीहरु काजीको रुपमा रही राजकाजमा सल्लाह दिंदै यही वस ।” यसरी खस अधिराज्यभरी र यसको विखण्डन र विभाजन पश्चात बनेको विभिन्न राज्यहरुका सत्ता शिखरमा पुग्न सफल साहसी यस थापा वंशका पुर्खाहरु बाईसी राज्यसंग सीमा जोडिएका पाल्पा, पर्वत, गोर्खा, लमजुङ, कास्की, तनहुँ आदि चौवीसी राज्यहरुका अतिरिक्त काठमाण्डौ उपत्यकाको कान्तिपुर र भादगाँउ दरवारमा काजी तथा प्रधानसेनापतिको पदमा पुगेको कुरा काशीराम थापा, पर्शुराम थापा, जसराम थापा र रणभीम थापा आदि थापाहरुको ऐतिहासिक उपस्थितिले स्पष्ट गर्दछ (नेपाल, ज्ञानमणि, अभिमान वर्ष २ अंक १, वि.सं. २०५२ पृ. १८) । योगी नरहरिनाथद्वारा सम्पादित इतिहास प्रकाश भाग १ पृष्ठ ११९ मा दिपु थापाका छोरा र बिश्राम थापाका पिता जसराम थापाको नाम दिइएको छ र बसन्तबहादुर थापाद्वारा सम्पादित बगाले थापा वंशावलीमा पनि सो कुरा नै उल्लेख भएको छ । यसदेखि बाहेक अन्य तथ्य हालसम्म फेला पार्न सकिएको छैन । जसराम थापाले पृथ्वीनारायण शाहबाट सिन्धुलीको पश्चिमभागको शान्ति सुरक्षा गर्नु भनी बिर्ता पाएका थिए । श्री ५ पृथ्वीनारायण शाहको उपदेशका ८४७ र ८४९ अनुसार जब वि.सं. १८१९ मा सिन्धुली फत्ते भयो । यो खबर सुनी श्री ५ महाराज बहुत खुसी हुनुभयो । जसराम थापा र चंपसिंह गोदार थापालाई तिमीहरुका कबिला पनि राख्नू भनी हुकूम बक्सिनुभई सिन्धुली पनि आधा आधा गरी बक्सिनुभयो (श्री ५ पृथ्वीनारायण शाहको उपदेशका ८४७, ८४९) । प्रा. दिनेशराज पन्तका अनुसार सिन्धुली विजय भएपछि खुशी भएका पृथ्वीनारायण शाहले जसराम बगाले थापा र चम्पसिंह गोदार थापालाई तिमीहरुका जहान छोराछोरी राख्नू भनी सिन्धुली आधा–आधा बक्सनुभयो भनी भाषावंशावलीमा लेखिएबाट यो कुरा अझ बढी प्रामाणिक ठहरिन्छ (पन्त, २०७९, पृ.३१) । वि.सं. १८१९ भाद्र ९ गते मकवानपुर गढी विजय गरेको गोरखाली सेनाले त्यसवेला मकवानपुर राज्यअन्तर्गत रहेको सिन्धुलीगढी वि.सं. १८१९ आश्विन २० गते विजय गरेको थियो । नेपाल खाल्डोबाट पूर्वतिरहुँदै भारत जाने महत्वपूर्ण मूल बाटोमा सिन्धुली पर्दथ्यो । यसैले बाहिरबाट हुने धेरजसो हमलाहरु त्यहीबाट हुने गर्दथ्यो । राज्य टुक्रदै गएर खडा भएको रजौटाहरुमा सिन्धुलीमा आफ्नो अधिकार जमाउन प्रतिस्पर्धा भइरहन्थ्यो । कहिले काठमाण्डौंका मल्ल राजाहरु पहाडको टुप्पोमा रहेको सिन्धुली किल्लामा हाम्रो अधिकार छ भनी गर्व गर्दथे भने कहिले यो मकवानपुरको सेनराज्यअन्तर्गत पर्दथ्यो । पृथ्वीनारायण शाहले मकवानपुरको विजय गर्दा सिन्धुली सेनराज्यअन्तर्गत पर्दथ्यो । सामरिक दृष्टिकोणले यत्ति महत्वपूर्ण क्षेत्रमा अङ्ग्रेजले आँखा गाडेको थियो र त्यही क्षेत्रबाट किनलकको अभियान शुरु भयो । पृथ्वीनारायण शाहको कुशल नेतृत्वमा गोर्खाली सेना र स्थानीय जनताको सहयोगबाट अङ्ग्रेजको साम्राज्यवादी अभियान असफल भयो । यस अभियानमा बगाले थापाहरुको देशभक्तिपूर्ण योगदान धेरै महत्वपूर्ण थियो । उनले सिन्धुली पौवागढी र हरिहरपुरगढीको नेपाल–अंग्रेजयुद्धमा सक्रिय रुपले भाग लिएका थिए । यिनले एकीकरण अभियानमा नेपालको तर्फबाट पूर्व देखि पश्चिम काङ्गडासम्मका विभिन्न स्थानमा भाग लिई ठूलो योगदान पु¥याएका थिए । उनी र उनका सन्तानले सिन्धुलीको अमारेमा बसोबास गरे । सरदार जसराम थापाका तीन भाइ छोरा मध्ये जेठा सरदार डम्बरसिंह थापा, माहिला बिश्रामसिंह र कान्छा अडिमर्दनसिंह थापा थिए । यिनका सन्तती अहिले नेपालका विभिन्न स्थानमा बसोवास गर्दै आएको पाईन्छ । यिनको बारेमा इतिहासमा धेरै उल्लेख भएको पाइदैन । मल्लकालमा यिनी दरवार मै भारदारी काममा रहेका देखिन्छन् । यिनी बफादर, कुटनीतिज्ञ, प्रशासन सञ्चालन गर्न निपूर्ण भएकोले नै जयप्रकाश मल्लसंग द्वन्द्व बढ्दा कान्तिपुर नै छाडेर जानलाग्दा पृथ्वीनारायण शाहले जाँचीबुझीकन नै यिनलाई अति काम लाग्ने व्यक्ति भनेर नै नुवाकोट दरबारमा संरक्षण दिई नेपाल एकीकरण अभियानमा सहभागी गराएका थिए । सेप्टेम्वर, सन् १७७५ मा नेपाल र तिब्बतबीत खासा सन्धि भएको थियो । यसै परिप्रेक्षमा जुलाई, १७७५ ई मा नेपालका तर्फबाट रुपनारायण कार्की, जगधर पाण्डे, प्रतापसिंह प्रधान, जसराम थापा, बैजनाथ उपाध्याय, लक्ष्मीनारायण उपाध्याय र दामोदर उपाध्याय थिए भने तिब्बतका तर्फबाट बत्तीसकोठीका प्रतिनिधिका साथै अन्य विशिष्ट व्यक्तिहरुको प्रतिनिधित्व थियो । दुबै तर्फका प्रतिनिधिबाट खासा नामक स्थानमा आपसी हितका बारेमा गहन छलफल गरी एउटा सन्धि गरेका थिए यसैलाई खासा सन्धि भनिन्छ (ढुङ्गाना, २०७७, पृ.१६१) । यसबाट के थाहा हुन्छ भने जसराम थापा कुटनीति क्षेत्रमा पनि सक्रिय थिए । जसराम थापाको मृत्यु वि.सं. १८४६ साल सिन्धुली, अमारे गाउ‘मा भएको थियो ।
यिनको बारेमा इतिहासकारहरुले धेरै व्याख्या गरेको पाइदैन । यिनी देशभक्त वीर लडाकु अंग्रेजका कट्टर दुश्मन भएको हुँदा उनीहरुले पनि यिनको बारेमा खासै उल्लेख गरेनन् । सरदार जसराम थापा जस्ता धेरै वीर वीरङ्गनाहरु अझै नेपालको इतिहासमा ओझेलमा परेका छन् । सिन्धुली, पौवागढीको युद्धमा महत्वपूर्ण भूमिका खेलेका सरदार जसराम थापा, सरदार डम्बरसिंह थापा आदिको नाम सिन्धुली गढी युद्ध संग्राहलयमा समेत छुटाइएको छ । यो अति दुःखलाग्दो पक्ष हो । यस्ता देशभक्त वीर योद्धाप्रति राज्य पक्षबाट अन्याय हुन गएको देखिन्छ । उनको सम्मान स्वरुप आगामी दिनमा सिन्धुली गढी युद्ध संग्राहलयमा यथोचित् स्थान प्रदान गर्न सम्बन्धित पक्षको ध्यान पुगोस् र नेपाल राष्ट्र निर्माणमा उनले पु¥याएको योगदानको कदर गरियोस् । अस्तु ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.