Skip to main content

Gorkha Sansar

मानुङकोटमा प्रहरीको ‘फुट पेट्रोल’ : पर्यटकसँग प्रत्यक्ष संवाद, सुरक्षामा भरोसा बढाउँदै दुईदिने पैदल गस्ती

दमौली, साउन १६ । तनहुँको चर्चित पर्यटकीय गन्तव्य मानुङकोटमा पर्यटकले सुरक्षित वातावरणको अनुभूति गर्न सकून् भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँले दुईदिने लामो ‘फुट पेट्रोल’ (पैदल गस्ती) सञ्चालन गरेको छ। गस्तीका क्रममा प्रहरीले स्थानीयवासी, व्यवसायी तथा स्वदेशी–विदेशी पर्यटकसँग प्रत्यक्ष संवाद गर्दै सुरक्षा सचेतना फैलाएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार साउन १५ गते अपराह्न ४ बजे प्रहरी नायब निरीक्षकको नेतृत्वमा १५ सदस्यीय टोलीले व्यास नगरपालिका–३ स्थित दुर्गा मन्दिरबाट पैदल गस्ती सुरु गरेको थियो। टोली मादी पुल, चापाघाट हुँदै व्यास–५ स्थित पर्यटकीय गन्तव्य मानुङकोट पुगेर भ्यू टावर परिसरमा राति बास बसेको थियो।

गस्ती अभियानको प्रभावकारिता अनुगमन तथा प्रहरी टोलीको मनोबल अभिवृद्धि गर्न साउन १६ गते बिहान ४ः३० बजे प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको नेतृत्वमा प्रहरी निरीक्षक अमृत लामिछानेसहित सात सदस्यीय अर्को टोली पनि मानुङकोट पुगेको थियो। त्यसपछि दुवै टोलीले बिहान ८ः१५ बजे पैदल यात्रा गर्दै फर्किएर बिहान ११ बजे जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेका थिए।

प्रहरीले गस्तीका क्रममा स्थानीयवासी, होटल तथा पर्यटन व्यवसायी र आन्तरिक एवं बाह्य पर्यटकसँग भेटघाट गरी पर्यटकीय क्षेत्रको सुरक्षा अवस्था, सम्भावित जोखिम न्यूनीकरण, पर्यटकमैत्री वातावरण निर्माण तथा यात्राका क्रममा अपनाउनुपर्ने सावधानीबारे अन्तरक्रिया गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार यस्ता लामो दूरीका पैदल गस्तीले दुर्गम तथा पर्यटकीय क्षेत्रमा प्रहरीको प्रत्यक्ष उपस्थितिलाई बलियो बनाउनुका साथै पर्यटकमा सुरक्षा अनुभूति अभिवृद्धि गर्ने विश्वास गरिएको छ।

प्रहरीले पर्यटकीय गन्तव्यलाई सुरक्षित, व्यवस्थित र विश्वसनीय बनाउने अभियानलाई निरन्तरता दिँदै आगामी दिनमा पनि जिल्लाका अन्य प्रमुख पर्यटकीय क्षेत्रमा यस्तै पैदल गस्ती सञ्चालन गरिने जनाएको छ।

मानुङकोट पछिल्ला वर्षहरूमा सूर्योदय, हिमशृंखला अवलोकन र प्राकृतिक दृश्यावलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको छ। यस्तो अवस्थामा प्रहरीको सक्रिय उपस्थितिले पर्यटन प्रवर्द्धनसँगै सुरक्षित गन्तव्यको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.