Gorkha Sansar

आत्मनिर्भरबाट परनिर्भर अर्थतन्त्रको यात्रा – डा.नरविक्रम थापा

१. पृष्ठभूमि
आत्मनिर्भर अर्थतन्त्र भनेको देशले आफ्नो नागरिकको आधारभूत आवश्यकता पूरा गर्न बाह्य मुलुकमा भरपर्नु नपर्ने र आफ्नै कृषि, उद्योग तथा स्रोत साधनमा निर्भर रहने आर्थिक प्रणाली हो ।नेपालको इतिहासमा मल्ल कालदेखि राणा शासनसम्म आइपुग्दा व्यापार र अर्थतन्त्रको ढाँचामा धेरै उतार–चढाव आएको पाइन्छ। मल्लकालमा अन्तर्राष्ट्रिय व्यापार र हस्तकलाको माध्यमबाट आत्मनिर्भरता तथा समृद्धि हासिल भएको थियो भने कालान्तरमा भौगोलिक एकीकरण, युद्ध र राणाकालीन निरङ्कूशवादी जहानीय शासनका कारण अर्थतन्त्रको स्वरूप खुम्चिँदै गयो ।
भीमसेन थापाको पाला (१९ औं शताब्दीको सुरुवाती चरण) मा नेपालको अर्थतन्त्र मुख्यतया कृषि, हस्तकला, र व्यापारमा आधारित थियो । आधुनिक अर्थतन्त्रको मापन जस्तो ‘कुल गार्हस्थ उत्पादन’ वा आर्थिक वृद्धि दरको तथ्यांक त्यस समयमा प्रचलनमा थिएन। तुलनात्मक रूपमा हेर्दा तत्कालीन (भीमसेन थापाको पाला) नेपालको अर्थतन्त्रको आकार सानो र आत्मनिर्भर थियो । त्यस समयमा राज्यको आम्दानीको मुख्य स्रोत जग्गाको कर (मालपोत) र भारत तथा तिब्बतसँगको व्यापारमा लाग्ने भन्सार महसुल थियो । नेपालमा औद्योगिकीकरण नभएकाले आर्थिक वृद्धिको दर एकदमै न्यून वा स्थिर हुन्थ्यो । त्यस बेला बेलायतमा औद्योगिक क्रान्ति सुरु भइसकेको थियो । युरोप र अमेरिका तीव्र आर्थिक वृद्धि र औद्योगिकीकरणतर्फ अघि बढिरहेका थिए। बेलायत जस्ता साम्राज्यवादी शक्तिहरू विश्वव्यापी व्यापार र उपनिवेश विस्तारमा व्यस्त थिए।
भीमसेन थापाको पालामा नेपालले बाह्य व्यापारलाई निरुत्साहित गरी आत्मनिर्भरतामा जोड दिने नीति लिएको थियो । त्यसबेलाको विश्वव्यापी अर्थतन्त्र कृषि र हस्तकलामा आधारित थियो । तर पश्चिमा देशहरूले भने मेसिन र कलकारखानाको स्थापना गरी उत्पादन क्षमता धेरै गुणा बढाइसकेका थिए ।
२.अर्थतन्त्रको ऐतिहासिक कालखण्ड
नेपालको ऐतिहासिक कालखण्डमा अर्थतन्त्र र आत्मनिर्भर व्यापारको प्रवृत्तिलाई यसरी व्याख्या गर्न सकिन्छः
२.१ मल्लकाल (१२ औं देखि १८ औं शताब्दी)
मल्लकालिन अर्थतन्त्र मुख्यतया कृषि, हस्तकला र तिब्बत–भारतबीचको पारवहन व्यापारमा निर्भर थियो । काठमाडौं उपत्यका भारत र तिब्बत जोड्ने प्रमुख व्यापारिक केन्द्र थियो । नेपाली कालिगढहरूले धातु, काठ र कपडाबाट बनाएका सामानहरू तिब्बत र भारतमा निर्यात हुन्थे ।मल्ल राजाहरूले आफ्नै चाँदी र तामाका सिक्काहरू (महेन्द्रमल्ली) प्रचलनमा ल्याएका थिए। उनीहरूले तिब्बतसँग व्यापारिक सन्धि गरेर नेपाली व्यापारीलाई ल्हासामा व्यापार गर्ने एकाधिकारसमेत पाएका थिए।
२.२पृथ्वीनारायण शाहको काल (१८ औं शताब्दी)
पृथ्वीनारायण शाहले नेपालको एकीकरण अभियानका क्रममा राष्ट्रिय स्वाधीनता र अर्थतन्त्र बीचको सम्बन्धलाई अत्यन्तै महत्वका साथ हेर्नुभएको थियो । उनको दूरगामी सोचमा यी दुई एक–अर्काका परिपूरक थिए । उनको मुख्य उद्देश्य नेपाललाई एउटा बलियो र सार्वभौम राष्ट्र बनाउनु थियो । उनले नेपाललाई ‘दुई ढुंगाको तरुल’ (दुई ठूला देशहरू चीन र भारतको बीचमा अवस्थित) को रूपमा परिभाषित गरेकाथिए । त्यसैले, विदेशी शक्ति (विशेष गरी ब्रिटिस इस्ट इन्डिया कम्पनी) को आर्थिक चंगुल र हस्तक्षेपबाट बच्न उनले नेपाललाई आत्मनिर्भर बनाउन जोड दिए । काठमाडौं उपत्यका र वरपरका क्षेत्रहरू तिब्बत र भारतबीचको व्यापारिक मार्ग थिए। यी मार्गहरूमाथि नियन्त्रण कायम गरेर मात्र राज्यको अर्थतन्त्र बलियो हुन सक्छ भन्ने उनलाई राम्रोसँग थाहा थियो । उनले नुवाकोट र काठमाडौं उपत्यकालाई आफ्नो अधीनमा लिनुको मुख्य कारण यसले आर्थिक श्रोत बढाउने र गोर्खा राज्यको सैन्य तथा राजनीतिक हैसियत बलियो बनाउने थियो । आफ्नो सार्वभौमिकता जोगाउन उनले ब्रिटिस व्यापारीहरूलाई नेपाल प्रवेश गर्न र व्यापार गर्नबाट रोकेका थिए ।उनको बुझाइमा, ब्रिटिसहरूसँग खुल्ला व्यापार गर्दा उनीहरूको आर्थिक प्रभाव बढ्ने र अन्ततः देशको राजनीतिक स्वतन्त्रता नै गुम्ने खतरा हुन्थ्यो ।
उनले बाहिरबाट आउने विदेशी विलासी सामानहरूलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादन, कृषि र स्थानीय हस्तकलाको विकासमा जोड दिएका थिए । उनको आर्थिक नीति राष्ट्रको सार्वभौमसत्ता अक्षुण्ण राख्नका लागि आन्तरिक रूपमा सबल हुनुपर्छ भन्ने मान्यतामा आधारित थियो ।अर्थतन्त्रलाई राष्ट्रिय हितमा प्रयोग गर्न उनले कान्तिपुर र भक्तपुर लगायतका राज्यहरूसँग सन्धि गर्दा संयुक्त व्यापार र मुद्रा प्रचलन जस्ता आर्थिक सर्तहरू राखेका थिए ।यसले विभिन्न राज्यहरूलाई एउटै आर्थिक तथा राजनीतिक सूत्रमा बाँध्न मद्दत ग¥यो ।
पृथ्वीनारायण शाहले आर्थिक आत्मनिर्भरतालाई राष्ट्रिय स्वाधीनतासँग जोडेर हेरेका थिए। उनको बुझाइमा बलियो अर्थतन्त्रविना बलियो राज्य सम्भव थिएन।त्यसैले उनले विदेशी व्यापारीहरूलाई नेपाल प्रवेशमा रोक लगाएका थिए र देशमै कपडा बुन्न प्रोत्साहन गरी विदेशी कपडाको प्रयोगमा प्रतिबन्ध लगाएका थिए। यसको मुख्य उद्देश्य पुँजी बाहिरिन नदिनु र स्वदेशी उत्पादनलाई बढावा दिनु थियो । उनले उपत्यकाका मल्ल राजाहरूका विरुद्ध आर्थिक नाकाबन्दी लगाएर व्यापार मार्गहरू आफ्नो नियन्त्रणमा लिएका थिए, जसले गोरखा राज्यको एकीकरण अभियानलाई आर्थिक टेवा पु¥यायो ।
२.३. भीमसेन थापाको काल (सन् १८०६–१८३९)
मुख्तियार भीमसेन थापा (प्रथम प्रधानमन्त्री) को समयमा नेपालको सीमा पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म पुगेको थियो, जसले गर्दा व्यापारिक मार्गहरू अझ फराकिला भए। उनी नेपाललाई ब्रिटिस इस्ट इन्डिया कम्पनीको आर्थिक तथा राजनीतिक प्रभावबाट मुक्त राख्न चाहन्थे । यसका लागि उनले स्वदेशी उत्पादनलाई बढावा दिने र तिब्बत तथा भारतसँगको व्यापार सन्तुलन कायम राख्न कूटनीतिक कौशल अपनाएका थिए।
भीमसेन थापाको आर्थिक नीति राजा पृथ्वीनारायण शाहकै विचारबाट प्रेरित थियो । उनी विदेशी (विशेषगरी बेलायती) व्यापारीहरूको प्रवेशले स्थानीय अर्थतन्त्रलाई कमजोर पार्छ र जनतालाई गरिब बनाउँछ भन्ने कुरामा विश्वास गर्थे । भीमसेन थापाले नेपालको सार्वभौमिकता जोगाउन र विदेशी परनिर्भरता घटाउन अपनाएको अर्थतन्त्र तथा व्यापार नीति मुख्यतया आत्मनिर्भरता र संरक्षणवादमा आधारित थियो ।
उनको समयमा हातहतियार, लत्ताकपडा र दैनिक उपभोग्य वस्तुहरूमा नेपाललाई आत्मनिर्भर बनाउन घरेलु हस्तकला र उद्योगहरूलाई बढावा दिइएको थियो ।बेलायती (इस्ट इन्डिया कम्पनी) सामानहरूले नेपाली बजारलाई विस्थापित नगरून् भनेर उनले विलासी विदेशी सामानहरूको आयातमा प्रतिबन्ध वा कडा भन्सार कर लगाएका थिए।राज्यको राजस्व बढाउन र खाद्यान्नमा आत्मनिर्भर हुन कृषि प्रणालीको व्यवस्थित विकास र भूमि व्यवस्थापनमा जोड दिइएको थियो । उनले राज्यकोष बलियो बनाउन ‘विर्ता’ र ‘गुठी’ को जग्गासमेत करको दायरामा ल्याएका थिए। उनले तराई क्षेत्रका बाँझो जग्गा आवाद गर्न लगाएर सिँचाइको व्यवस्था मिलाईकृषि उत्पादन बढाए ।
दुई विशाल छिमेकीहरू भारत र चीनको बीचमा व्यापारिक सन्तुलन कायम राख्दै उनले नेपालको आफ्नै व्यापारिक मार्गहरू प्रयोग गर्न जोड दिएका थिए।नेपाल कपडा, हतियार (बन्दुक र तोप), कृषि उपज र दैनिक उपभोग्य वस्तुहरूमा आत्मनिर्भर थियो । उनले बाह्य व्यापारमा कडाइ गरी स्वदेशी उत्पादनलाई बढावा दिएका थिए। राज्यको आम्दानी बढाउन जग्गाको कर प्रणाली सुधार गरियो र ‘बैसठी हरण’ मार्फत कर नतिर्नेहरूको जग्गा राज्यको अधिनमा ल्याइयो । राज्यको सुरक्षाका लागि उनले आधुनिक हतियार भित्र्याउनुका साथै उद्योग र खानी उत्खननमा ध्यान दिएका थिए।
२.४ राणा शासन (सन् १८४६–१९५१)
राणा शासनको सुरुवातसँगै नेपालको अर्थतन्त्रमा परनिर्भरता सुरु भयो। जङ्गबहादुर राणाले ब्रिटिस भारतसँग गरेको मैत्रीपूर्ण सम्बन्धका कारण नेपाल ब्रिटिस नीतिहरूतर्फ बढी आश्रित हुन पुग्यो । राणाहरूले बाह्य प्रभावबाट आफ्नो सत्ता जोगाउन बन्द ढोकाको नीति अपनाए। यसले नेपाललाई आधुनिक विश्वबाट अलग्यायो र मुलुकको औद्योगिक विकास ठप्प भयो ।राणा कालमा ९५ प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा निर्भर थियो तर जमिन मुठ्ठीभर शासक र भारदारको कब्जामा थियो । देशले कच्चा पदार्थ निर्यात गथ्र्यो र महँगा विलासी वस्तुहरू आयात गथ्र्यो । यसले गर्दा कालान्तरमा आत्मनिर्भर अर्थतन्त्र कमजोर हु‘दै परनिर्भर भयो ।
२.४.१ राणा शासनमा आत्मनिर्भर अर्थतन्त्रको विनाश
सन् १८४६ मा जङ्गबहादुर राणाले सत्ता हत्याएपछि नेपालको आत्मनिर्भर अर्थतन्त्र योजनाबद्ध रूपमै ध्वस्त पारियो । राणाहरूले देशको ढुकुटीलाई व्यक्तिगत सम्पत्ति बनाए। उनीहरूलाई जनता शिक्षित भएमा सत्ता धरापमा पर्छ भन्ने डर थियो, जसका कारण उनीहरूले नेपाललाई आधुनिक विकास र औद्योगिकरणबाट अलग राखे ।
२.४.२ बेलायती साम्राज्यको भूमिका र निर्भरताको सुरुवात
सुगौली सन्धिको (सन् १८१६) पछि नै नेपालको ब्रिटिश–भारतसँगको निर्भरता बढ्न थाल्यो । बेलायतमा औद्योगिक क्रान्ति सुरु भएपछि ब्रिटिश इन्डियाले सस्तो र मेशिनबाट बनेका सामानहरू नेपालमा पठाउन थाल्यो । नेपाली घरेलु उद्योगहरू (जस्तैः कपडा उद्योग, फलामका भाँडा बनाउने काम) यी सस्तो सामानसँग प्रतिस्पर्धा गर्न नसकी बन्द भए।ब्रिटिश साम्राज्यले नेपालको काठ र कृषि कच्चा पदार्थ सस्तोमा लैजान थाल्यो र नेपाललाई सस्तो सामान बेच्ने बजारको रूपमा मात्र प्रयोग गर्यो । सन् १८१६ को सुगौली सन्धि पछि नेपालले आफ्नो सीमा र बजार गुमाउँदै गयो । राणाहरूले बेलायत र ब्रिटिश–भारतको चाकडी गरी सत्ता टिकाउन थाले ।
२.४.३ राणा शासनको राजनीतिक अर्थतन्त्र र ब्रिटिशसँगको आत्मसमर्पण
राणा शासनको राजनीतिक अर्थतन्त्र ‘चाकडी र कमिसन’ मा आधारित थियो। जङ्गबहादुर राणाले ब्रिटिशहरूसँग मित्रता गाँसेर आफ्नो सत्ताको वैधानिकता सुनिश्चित गरे । राणाहरूले ब्रिटिश–भारतमा आफ्नो अकुत सम्पत्ति जम्मा गरे । बदलेमा, ब्रिटिशहरूले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेनन् । राणाहरूले दुई विश्वयुद्धमा नेपाली युवाहरूलाई ब्रिटिश सेनामा (गोर्खा भर्ती) पठाए र नेपाललाई ब्रिटिश साम्राज्यको सैन्य तथा आर्थिक उपनिवेश जस्तै बनाए ।
२.४.४ राणा शासनकालमा बन्द भएका उद्योगहरू
नेपालको राणा शासनकाल (सन् १८४६–१९५१) मा नेपालका परम्परागत घरेलु तथा राष्ट्रिय उद्योगहरू क्रमशः बन्द हुँदै जानुमा राणा शासकहरूको संकुचित नीति, ब्रिटिश भारतसँगको निर्भरता र आन्तरिक उत्पादनलाई बेवास्ता गर्ने प्रवृत्ति मुख्य कारण थिए ।
राणाकालीन समयमा यी परम्परागत पेशा र ज्ञान प्रणाली कसरी धराशायी भए । राणा शासकहरू र उनीहरूका परिवारले आफ्नो विलासी जीवनका लागि ब्रिटिश–इण्डिया (भारत) र युरोपबाट महँगा र विदेशी कपडा तथा जुत्ताहरू आयात गर्न थाले । नेपाली हाते तान र परम्परागत सिल्पकारहरूलाई राज्यबाट कुनै प्रोत्साहन वा संरक्षण नमिलेपछि यी घरेलु उद्योगहरू संकटमा परे ।नेपालका पहाडी भेगमा फलाम र तामा उत्खनन गरी भाँडाकुँडा र हतियार बनाउने परम्परागत प्रविधि थियो । तर, राणा सरकारले भारतबाट सस्तो र ठूलो परिमाणमा उत्पादित धातुका भाँडा र सिक्काहरू आयात गर्न सजिलो बाटो बनाइदियो । यसले गर्दा हाम्रा स्थानीय खानीमा काम गर्ने श्रमिक र कालिगढहरू बेरोजगार भए ।
हाते कागज बनाउने परम्परागत ज्ञान (जस्तैः लोक्ता र अल्लोबाट कागज बनाउने) लोप हुने अवस्थामा पुग्यो किनकि दरबारिया काम र सरकारी अड्डामा भारतबाट आयातित मेसिनरी कागजको प्रयोग बढाइयो । सुनार, शाक्य तथा अन्य शिल्पी समुदायले सिर्जना गरेका मौलिक हस्तकलालाई शासकहरूले व्यक्तिगत विलासिता जस्तैः युरोपेली शैलीका दरबार सजाउनका लागि प्रयोग गरे । कलाकारहरूलाई उचित ज्याला वा बजार नदिँदा यो पुख्र्यौली सीप पुस्तौँसम्म हस्तान्तरण हुन सकेन । राणा शासनकालमा स्थानीय ज्ञान प्रणाली जस्तै वैद्यहरूले गर्ने जडीबुटी उपचार र गुरुकुल शिक्षालाई कुनै राज्य–मान्यता वा आर्थिक सहयोग दिइएन । बरु उनीहरूले पश्चिमा शिक्षा र चिकित्सा पद्दतिलाई मात्रै प्राथमिकता दिएका थिए ।राणा शासकहरूले जनतालाई कृषकको रूपमा मात्र सीमित राखे र उनीहरूबाट उच्च कर असुल गरे । खेतीपातीका लागि चाहिने आधुनिक प्रविधि, अनुसन्धान, कृषि औजार, मल र उचित बजारको कुनै व्यवस्था भएन । यसले गर्दा कृषि पेसा निर्वाहमुखी मात्र बन्यो ।
२.४.५ उद्योगहरू बन्द हुनुका मुख्य कारणहरुः
ब्रिटिश भारतसँगको निर्भरताः जंगबहादुर राणाको पालादेखि नै नेपाल पूर्णरूपमा ब्रिटिश–भारतीय अर्थतन्त्रमा निर्भर रहन पुग्यो । विदेशी सामान सहजै आउँदा स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न सकेन ।राणा शासकहरूले स्वदेशी उद्योगको विकासमा ध्यान दिनुको सट्टा कच्चा पदार्थ भारत पठाउने र तयार सामान महँगोमा आयात गर्ने नीति अपनाए । जङ्गबहादुरदेखि चन्द्र शमशेर र अन्य राणा प्रधानमन्त्रीहरूले विदेशी संस्कृति र उत्पादनलाई बढी महत्व दिए । स्वदेशी उत्पादनलाई माया गर्ने वा प्रवद्र्धन गर्ने वातावरण नै बनेन । राणाकालमा नेपालमा आधुनिक शिक्षा र अनुसन्धानमा कडा प्रतिबन्ध थियो, जसले गर्दा स्थानीय प्रविधिमा कुनै आधुनिकीकरण हुन सकेन ।राणा शासनकालमा भव्य दरबार, मन्दिर, वास्तुकला वा वैज्ञानिक आविष्कारहरू गर्ने शिल्पी वा कालीगढहरूको हात काटिने गरेको कुरा स्थानीय जनताले सुनाउने गरेको पाइन्छ ।
अन्त्यमा, जुद्ध शमशेरको पालामा केही आधुनिक उद्योगहरू जस्तैः विराटनगर जुट मिल खुले पनि समग्रमा राणा शासनले नेपालको सदियौँ पुरानो रैथाने ज्ञान प्रणाली, घरेलु उद्योग र आधुनिक उद्योगहरुको विकास गर्न ध्यान नै दिइएन । नेपालमा परम्परागत रूपमा चलिरहेका धेरै घरेलु तथा हस्तकला उद्योगहरू राणाकालमा बन्द भए । त्यसको उदाहरणहरू पाल्पा, धादिङ, र काठमाडौंका कपडा उद्योगहरू ब्रिटिश मिल–कपडाको भरमार आयातले बन्द भए। पहाडी भेगमा (जस्तैः प्यूठान, बझाङ, लमजुङ, रामेछॉप आदि) चल्ने परम्परागत खानी र धातुका भाँडा बनाउने उद्योगहरू ब्रिटिश वस्तुसँग प्रतिस्पर्धा गर्न नसकी बन्द भए। नेपाली हाते कागजको निर्यात तिब्बत र भारतमा ठूलो मात्रामा हुन्थ्यो, जुन समयसँगै घट्दै गयो र धेरै उद्योगहरु प्रायः बन्द भए ।
३. चुनौतीहरू र सिकाइ
३.१ चुनौतीहरू
नेपालको अर्थतन्त्रमा पञ्चायत कालदेखि हालको संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा आत्मनिर्भरता र वैदेशिक व्यापारका चुनौतीहरू निरन्तर रूपमा बढ्दै गएका छन् । ऐतिहासिक रूपमा कृषिमा आत्मनिर्भर रहेको देश आज खाद्यान्न र पेट्रोलियम पदार्थमा समेत परनिर्भर बन्न पुगेको छ। यसका प्रमुख चुनौतीहरू निम्न छन्ः
३.१.१ पञ्चायत काल (सन् १९६०–१९९०)ः
संरक्षण नीति र सीमित उत्पादनः पञ्चायत कालमा आयात प्रतिस्थापनको नीति लिइए पनि घरेलु उत्पादनको क्षमता कमजोर थियो ।
पारवहन समस्या र नाकाबन्दीः भूपरिवेष्टित अवस्थिति र भारतसँगको पारवहन विवादका कारण देशको अर्थतन्त्रमा गम्भीर धक्का लाग्ने गरेको थियो ।
अर्थतन्त्रको सीमित दायराः कृषिमा अत्यधिक निर्भरता र उद्योगहरूको दयनीय अवस्थाका कारण वैदेशिक व्यापारमा सन्तुलन कायम हुन सकेन ।
३.१.२ बहुदलीय प्रजातन्त्र काल (सन् १९९०–२००६)ः
सन् १९९० पछि अपनाइएको आर्थिक उदारीकरण र खुला बजार नीतिका कारण सस्तो विदेशी सामानहरू सजिलै भित्रिए। यसले गर्दा स्वदेशी साना उद्योग तथा कृषि उत्पादनहरू प्रतिस्पर्धा गर्न नसकी बन्द भए।सशस्त्र द्वन्द्व र जनआन्दोलनका कारण अर्थतन्त्र कमजोरभई राजनीतिक प्रणाली नै परिवर्तन हुने अवस्था सिर्जना भयो ।
३.१.३ संघीय लोकतान्त्रिक गणतन्त्र काल (सन् २००६–हाल)ः
देशभित्र रोजगारीको अभाव हुँदा युवाहरू विदेशिने क्रम अत्यधिक बढ्यो । अर्थतन्त्र पूरै विप्रेषणमा निर्भर छ।उपभोग्य वस्तुहरू (खाद्यान्न, तरकारी, फलफूल, मासु, दुग्ध तथा दुग्धजन्य पदार्थ), कपडा, मेसिनरी, निर्माण सामग्री, औषधी, उच्च शिक्षा अध्ययन र पेट्रोलियम पदार्थको आयातमा अर्बौं रुपैयाँ बाहिरिँदा विकराल व्यापार घाटाको अवस्था छ। देशको कुल गार्हस्थ उत्पादनको तुलनामा आयातको अंश अत्यन्तै धेरै छ।ग्रामीण क्षेत्रका खेतियोग्य जमिन बाँझो हुँदै जानु र उत्पादनभन्दा पनि सेवा क्षेत्रको मात्रै विस्तार हुँदा दिगो आर्थिक वृद्धि हुन सकेको छैन।सरकारको अस्थिरता, कमजोर पुँजीगत खर्च, र लगानीमैत्री वातावरणको अभावमा यथेष्ट मात्रामा वैदेशिक लगानी भित्रिन सकेको छैन ।जलविद्युतको अपार सम्भावना भए पनि औद्योगिक क्षेत्रको लागि आवश्यक पूर्वाधार र नीति अभावले गर्दा देश ऊर्जा र प्रविधिमा समेत पूर्णतः परनिर्भर छ।
पञ्चायत कालको सीमित उत्पादनमुखी अर्थतन्त्रबाट गणतन्त्र कालसम्म आइपुग्दा नेपालको अर्थतन्त्र उपभोक्तामुखी र रेमिट्यान्समा आधारित अर्थतन्त्रमा परिणत भएको छ। यसबाट पार पाउन स्वदेशी कृषि, जलविद्युत विकास र उद्योगको आधुनिकीकरण गरी निर्यात प्रवद्र्धन गर्नु आजको मुख्य आवश्यकता हो । खुला सिमानाका कारण नेपाल आफ्नै उत्पादनमा आत्मनिर्भर हुन सकेको छैन । स्वदेशी उद्योगको अभावमा नेपाली युवाहरू रोजगारीका लागि खाडी मुलुक र मलेसिया तथा भारत पलायन हुनुपरेको छ। लामो समयसम्म स्पष्ट आर्थिक नीतिको अभाव र कमजोर पूर्वाधार यसका मुख्य चुनौती हुन् ।
३.२ सिकाइ
नेपालको व्यापारिक तथा आर्थिक इतिहासले देखाउँछ कि पूर्ण आत्मनिर्भरताको नीति अव्यावहारिक छ, तर अत्यधिक परनिर्भरताले राष्ट्रिय स्वाभिमान र अर्थतन्त्रलाई गम्भीर जोखिममा पार्छ । अहिलेसम्मको मुख्य सिकाइ भनेको आन्तरिक उत्पादनको अभावमा व्यापार घाटा चुलिनु, कृषिमा परनिर्भरता, र रेमिट्यान्समा अर्थतन्त्र अडिनु नै नेपालको मुख्य चुनौती हो ।
ऐतिहासिक रूपमा नेपालले प्राथमिक वस्तुहरू निर्यात गथ्र्यो र केही हदसम्म आत्मनिर्भर थियो । तर, सन् १९९० को दशकको उदारीकरणपछि आन्तरिक उत्पादन क्षमता बढाउन नसक्दा र आयातमा आधारित उपभोग संस्कृति बढ्दा कुल गार्हस्थ उत्पादनको तुलनामा व्यापार घाटा भयावह रूपमा बढेको छ ।नेपालको अर्थतन्त्र वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्यान्समा निर्भर छ । यसले उपभोग र राजस्व बढाए पनि देश भित्रै उत्पादन र रोजगारी सिर्जना गर्ने दिगो अर्थतन्त्र निर्माणमा ठूलो धक्का पु¥याएको छ ।
नेपाल कृषि प्रधान देश भए पनि खाद्यान्नको आयात वर्षेनी बढ्दो छ। यसैगरी, ऊर्जाका लागि पेट्रोलियम पदार्थमा बाहिरी मुलुकसँग निर्भर रहनुपर्दा बाह्य नाकाबन्दी वा अन्तर्राष्ट्रिय संकटको बेला अर्थतन्त्र ठप्प हुने गरेको छ।नेपालको अन्तर्राष्ट्रिय व्यापार धेरै हदसम्म एक वा दुई छिमेकी देशमा निर्भर छ । पारवहन मार्ग र व्यापारिक साझेदारहरूको विविधीकरण नहुँदा आपूर्ति शृङ्खलामा बेलाबेलामा ठूला झट्काहरू लाग्ने गरेका छन् ।
४.निष्कर्ष
भीमसेन थापाको पालामा रहेको आत्मनिर्भरताको आधार पछि गएर राणा शासनको अदूरदर्शी नीतिको कारण ध्वस्त भयो । पराधीनता र परनिर्भरताको जुन बिजारोपण राणा शासनमा भयो, त्यसको असर आजसम्म पनि नेपालले भोगिरहेको छ। देशलाई समृद्ध बनाउन र युवा पलायन रोक्नका लागि नेपालले अब आफ्नो कृषि र घरेलु उद्योगको आधुनिकीकरण गरी आत्मनिर्भर अर्थतन्त्रको मार्गमा अघि बढ्नुको विकल्प छैन । राणाहरूको बन्द द्वार नीति वा अन्धो खुला सीमा नीति दुवै अर्थतन्त्रका लागि घातक छन् । स्वनिर्भर अर्थतन्त्रका लागि स्वदेशी कच्चा पदार्थको उपयोग, आधुनिक प्रविधिको प्रयोग, र गुणस्तरीय रोजगारमूलक शिक्षा अपरिहार्य छ। आत्मनिर्भरता भन्नाले सम्पूर्ण विश्वबाट अलग रहनु होइन, बरु आन्तरिक क्षमता जस्तैः कृषिको व्यवसायिकीकरण तथा आधुनिकीकरण, जलविद्युत विकास, पर्यटन, सूचना प्रविधि र जडीवुटी उद्योगको मूल्यश्रृङ्खलामा आधारित बजारीकरण सबल बनाउनु हो । यसले बाह्य परनिर्भरता घटाउन मद्दत गर्दछ। देश र जनताको आर्थिक तथा सामाजिक रुपान्तरण गर्नको लागि आर्थिक वृद्धिका साथै समन्यायिक वितरण प्रणालीमा ध्यान दिनु पर्ने देखिन्छ । वेलगामको नवउदारवादी आर्थिक प्रणालीले स्वाधीन अर्थतन्त्र तथा राष्ट्रिय पू‘जीको विकास हुन सक्दैन । देशको दिगो आर्थिक विकासको लागि लोकतन्त्र, आर्थिक वृद्धि र समन्यायिक वितरण संगसंगै लैजानुपर्छ । शहरमा बस्ने टाई लगाउनेलाई मात्रै खुशी पार्ने र अन्न उब्जाउने कृषक, कारखानामा काम गर्ने श्रमिक र गरिब तथा पछि पारिएका वर्गलाई वेवास्ता गर्ने अर्थतन्त्रको मोडेलले देश उभो लाग्न सक्दैन । यसले त बरु गरिबीको खाडल बढाउने अनि आम जनतालाई पाखा लगाएर मुठ्ठीभरले मात्र रजगज गर्ने र नेपाली जनताको थाप्लोमा ऋणको भारी बोकाउने काम मात्र हुनेछ ।

अस्तु ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.