Skip to main content

Gorkha Sansar

नेपालकागौरवःराष्ट्रिय विभूति अमरसिंह थापा -डा. नरविक्रमथापा

सन्दर्भः स्मृति दिवस

बडाकाजी अमरसिंह थापा नेपालको इतिहासमा एक महान् राष्ट्रिय विभूति, साहसी योद्धा र सैन्य जनरल हुन् । उनले नेपालको भौगोलिक एकीकरणको क्रममा पश्चिममा कुमाऊँ र गढवालसम्म नेपालको सिमाना विस्तार गर्न, राष्ट्रिय अखण्डता जोगाउन र नेपाल–अङ्ग्रेज युद्धमा निर्भीकताका साथ मातृभूमि रक्षा गर्न अतुलनीय योगदान पु¥याएको देखिन्छ । उनले कुमाऊँ, गढवाल लगायतका पश्चिमी क्षेत्रहरू विजय गरी नेपालको सिमाना सतलज नदीसम्म पु¥याएकाथिए। उनले नेपाल–अङ्ग्रेज युद्ध (१८१४–१८१६) को समयमा अङ्ग्रेजहरूले दिएको ठूलो प्रलोभनलाई अस्वीकार गर्दै राष्ट्रिय हितलाई सर्वोपरि राखी निरन्तर रुपमा वीरतापूर्वक लडेकाथिए। यहीअदम्य शाहस र देशभक्तिका कारण उनलाई ‘जिउँदो बाघ’ पनि भनिन्छ।
वडाकाजी अमरसिंह थापाको जन्मवि. सं. १८०८ श्रावण १२ गते गोर्खा जिल्लाको सिरानचोकमा ऋषितर्पणी पूर्णिमाको दिन भीमसिंह थापा र उमादेवीका पुत्रको रूपमा भएको हो । उनका हजुरबुबा रञ्जाई थापा कृषि पेशामा संलग्न थिए । एक समयमा उनी कृषि कार्य गरिरहेका थिए, सोही बेला घरभित्र बालक रोएको आवाज सुने । को रोएछ भनेर आबाजतिर ध्यानदिइरहेका बेला उनकी पत्नीले हास्दै ‘नातिजन्म्यो’ भनेर खुसीको समाचार सुनाइन् । नातिजन्मेको खवर सुनेर उनले खुसी हुँदै ‘बालक अमर रहोस्’ भने । नभन्दै तीबालक पछि गएर नेपालको इतिहासमा अमर नै बने । यसबाट के प्रमाणित हुन्छ भने उनको जन्म गोर्खाको सिरानचोक मै भएको हो । यीनी महाराज कालु थापाका २४ औं पुस्ता हुन् । प्रसिद्ध इतिहासकार सूर्यविक्रम ज्ञवाली र सुप्रसिद्ध नाटककार वालकृष्ण सम सहित नेपालका इतिहासकारहरुले उनको जन्मस्थान गोर्खाको उत्तरमाअवस्थित सिरहानचोकमा भएको कुरा उल्लेख गरेका छन् । सूर्यविक्रम ज्ञवालीले २००० सालमै प्रकाशित गर्नु भएको “अमरसिंह थापा”मा“ समसामयिक कागजपत्रहरुमा अमरसिंह थापाका घरका विषयमा “वतनचोक” भनि लेखिएको छ । एउटा स्पष्ट र निर्विवाद सत्य कुरा के हो भने तत्कालीन चौवीसी राज्यहरुमध्येको एक स्वतन्त्र गोर्खाको राजघरानासंग वैवाहिक सम्बन्ध हुँदाहुँदै पनि राजनीतिक रुपमा सदा गोर्खा राज्यको स्थापनादेखि पछि एकीकृत नेपालको तत्कालीन नायव वहादुर शाह (वि.सं. १८३९) सम्म ज्यानी दुश्मनको रुपमा रहेको तन्हु अन्तर्गत भने उक्त चोक नपर्दो हो (थापा,२०५९ः५—६) । यिनीहरुका पूर्खाहरु निकै पहिले देखि नै गोर्खा दरवारमा भारदारीमा रहेको देखिएबाट र यी बाघ भीमसेन थापाले नेपाल एकीकरणको युद्धमा भाग लिएको र यिनका छोरा बडाकाजी अमरसिंह थापाले तन्हुमा आक्रामण गर्दा लमजुङतर्फ भागेका तन्हुका राजा हरकुमार दत्त सेनलाई खेद्दै अमरसिंह थापाले लमजुङ माथि पनि आक्रामण गरे । यही युद्धमा अमरसिंह थापाले लमजुङे सेनाकाअधिकृत भक्तिथापालाई गिरफ्तार गरी पछि गोर्खाली सेनामा सामेल गराएका थिए ।यही वर्ष तन्हु, लमजुङ राज्य नेपालमा एकीकृत भएको थियो । पटक पटक आक्रामण गरी तन्हुलाई नेपालमा एकीकृत गरेकोबाट यो स्पष्ट हुन्छ की उनीहरुको बसोबास गोर्खा राज्यभित्रै थियो । त्यसैले अब बडाकाजी अमरसिंह थापाको जन्मस्थान गोर्खाको सिरान चोक नै हो भनी ऐतिहासिक रुपमा प्रमाणित गर्न सकिन्छ । यस सन्दर्भमा वादविवाद गर्नुको कुनै खास औचित्य देखिदैन ।
सिरानचोक गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयले मिति २०८१ श्रावण १५ को निर्णय अनुसार हरेक वर्षको साउन १६ गतेका दिन सिरानचोक गाउँपालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ । यस कार्यको लागिअनवरत रुपमा पहलकदमी लिनुहुने तत्कालीन गाउँपालिकाअध्यक्ष (निवर्तमान) राजु गुरुङले प्रशंसनीय कार्य गरेको पाइन्छ । यस्तो प्रशंसनीय कार्य गरे स्वरुप उहॉ धन्यवादका पात्र हुनुहुन्छ । साथै त्यस क्षेत्रकासबै देशभक्त, राजनीतिक दलका नेताहरु,समाजिक अभियन्ता, र स्थानीय जनताको साथ अविश्मरणीय नै छ । अमरसिंह थापाले स्थापना गरेका मठमन्दिर, पाटी, गढी आदिलाई समेट्नेगरी नेपालको पूर्व मेची देखि पश्चिममहाकालीसम्मको भूभागलाई जोड्न अमरसिंह थापा ऐतिहासिक पर्यटन सर्किटको योजना समेत गरिएको छ । यस अभियानलाई साकार पार्न तीनै तहका सरकार, नागरिक समाज र स्थानीय जनताको निरन्तर साथ तथा सहयोग अपरिहार्य नै छ । गोर्खा जिल्लाको सिरानचोकमा स्थापना गरिएको पार्क, बाघ भीमसिंह थापा र बडाकाजी अमरसिंह थापाको सालिक तलचित्रमा देखाइएको छ ।

बडाकाजी अमरसिंह थापा नेपाली सेनाको सम्पूर्ण नेतृत्व गरी ईस्ट इन्डिया कम्पनीका विरुद्ध पश्चिमी सीमामा रक्षा गर्न सफल भएका छन् ।उनको रणनीतिक नेतृत्वले नेपालको पश्चिमी क्षेत्रमा स्थिरता र एकीकरण सुनिश्चित गर्यो । उनको शासन भारतीय उपमहाद्वीपमा नेपालको प्रभावकारिता बढाउन महत्वपूर्ण थियो । अमरसिंह थापा नेपाली सैन्य इतिहासमा एक अजेय योद्धाका रूपमा चिनिन्छन् । उनले ईस्ट इन्डिया कम्पनी विरुद्ध लडेको युद्ध नेपालको सैन्य गौरवको प्रतीक बनेको छ। तीन दशकभन्दा बढी राज्य सेवामा उनले कहिल्यै पराजय बेहोर्नु परेन ।
उनले गरेकाप्रमुख योगदानहरू यस प्रकार छन् –
नेपालको एकीकरणमा योगदानपश्चिम नेपालकाजुम्ला, डोटी, कुमाउँ, गढवाल, देहरादुन, श्रीनगर तथा कांगडालाई नेपालमागाभ्ने काममा नेतृत्व गरे ।
उक्त कामका लागि डडेल्धुरा जिल्लामा भूगोलिय दृष्टिले उच्च र मजबुत किल्ला बनाएका थिए जसलाई अङ्ग्रेजले पार गर्न असफल भए । त्यस किल्लाबाट सारा पश्चिम क्षेत्रको विजय हुँदै गयो ।
पाल्पालाई नेपालमा गाभे ।
महाकाली  नदीभन्दा पश्चिमका राज्यहरूको संरक्षकको रूपमा सेवाप्रदान गरे ।
पञ्जाबका राजा रणजीतसिंह विरूद्ध युद्ध गरेका थिए ।
अंग्रेजले नेपाल विरूद्ध युद्ध शुरू गरे पछि नाहान, चम्बा, अल्मोडा, कांगडा, देहरादुनआदि ठाउँमा युद्ध लडे ।
डेभिड अक्टरलोनीका पुत्र र अमरसिंहका पुत्र रणजोरको मितेरी सम्बन्ध भएतापनि अलिकति पनि सङ्कोच मानेनन् ।
गङ्गानदीको उदगमस्थल गंगोत्रीमा एउटा मन्दिर स्थापना गरेकाथिए जुन् अहिले भारतिय हिमालयको चार धाम बन्नपुगेको  छ ।
सुगौली सन्धिपश्चात् नेपालबडाकाजी अमरसिंह थापा गोसाइँकुण्ड पुगेर त्यहीं दुई महीनाजति बसे । उनी त्यहाँ दशहराको मेला भर्न उनी जेठ १८७३ मा गएका थिए। जनैपूर्णिमाको मेला भरेर काठमाडौं फर्कने उनको सोंच रहेको थियो । त्यसैले त्यहाँउनी पूजापाठ गरेर बसेका थिए। त्यसैले त्यहाँ उनी पूजापाठ गरेर बसेका थिए । तर, जनैपूर्णिमाको १० दिनअघि साउन शुक्लचतुर्थी उप्रान्त पञ्चमी वि.सं. १८७३, साउन १६ गते राति पौने १२ बजे उनको निधन भयो । निधन हुनुभन्दा १०÷१२ दिनदेखि उनी शूलको व्यथाले थलिएका थिए । बघाटबाट विहे गरेर ल्याइएकी उनकी कान्छी मुखिनी उनीसँगै भएकीले आफ्ना पतिको लाशसँगै सती गइन् । डोटीबाट बिहे गरेर ल्याइएकी मुखिनी चाहिं काठमाडौं घरैमा भएकीले उनले आर्यघाटमा सतीका लागिअनुमरण गरिन् । उनको सम्झनामा धादिङ जिल्ला, थाक्रे गाउँपालिका वडा नं. ६ रानीबारीमा राष्ट्रिय विभूति अमरसिंह थापा संग्रालय स्थापना गरिएको छ । राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठान केन्द्रिय कार्यालय बत्तीसपुतली, काठमाण्डौं लाई धादिङ जिल्ला, थाक्रे गाउँपालिलका वडा नं.६ मैदानटोल निवासी श्री यज्ञबहादुर थापाको नाती श्री हरिबहादुर थापाको छोरा श्री जगतबहादुर थापा (वर्ष ६९) ले प्रतिष्ठानको कार्यालय भवन निमार्णको लागि ५ आना १ पैसा भूमिदान गरेका छन् । तर यो जग्गा सडकसंगै जोडिएर रहेको हुँदा केही क्षेत्रफल बाटोमा पर्न गएको छ । साथै थाक्रे गाउँपालिका वडा १० मा उनले स्थापना गरेका कुल देवताको मन्दिरको पनि संरक्षण गरिएको छ ।
इतिहासकार सूर्यविक्रम ज्ञावलीका अनुसार “अमरसिंह थापाले आफ्नो आदर्श सिद्धिका निम्तिजो त्याग देखाएतथा स्वदेश प्रति उनको जस्तो प्रेम थियो तिनले हामीलाई दधीचिकाआत्मत्यागका कथाको स्मरण गराउँछन ।” नेपालको सैनिक इतिहासमा सबैभन्दा लामो समयसम्म काजी हुने र युद्ध सञ्चालनगर्ने बडाकाजी अमरसिंह थापा नै थिए । नेपाल एकीकरणमा उनी अत्यन्तै सफल कमाण्डर हुन । उनी महान वीर सैनिक भएको कुरामा शङ्का नै छैन । यस्ता देशभक्तहरुको कुनै आग्रह तथा पूर्वाग्रह नराखी मूल्याङ्कन हुन् जरुरी छ ।
अन्त्यमा,
बडाकाजी अमरसिंह थापाको सम्पूर्ण जीवनमातृभूमिको अखण्डता, विस्तार र स्वाभिमानका लागि समर्पित थियो । नेपालको इतिहासमा उनी सधैं एक अमर नायक र प्रेरणाका स्रोतका रूपमा जीवित छन् । पूर्वमा टिस्टादेखि पश्चिममा काँगडासम्मको राज्यविस्तारमा उनी पूर्ण सफल पनि भए । उनी कुशल योद्वा मात्र नभई चतुर राजनीतिक नेता र कूटनीतिज्ञ पनि थिए । एकीकरणका नायक पृथ्वीनारायण शाहको राष्ट्रिय सपना पूरा गर्न बडाकाजी अमरसिंह थापा ११ वर्षको उमेरदेखि ६५ वर्षको उमेरसम्म ५४ वर्ष देशको पूर्व, पश्चिम, उत्तर, दक्षिण चारैतर्फ एकीकरण युद्धमा प्रत्यक्ष होमिएका घटनाक्रमले यो पुष्टि गरेको छ कि उनी नेपालको ‘राष्ट्रिय विभूति’, ‘जिउँदो बाघ’, ‘बडाकाजी’, ‘हिमाल रणकेशरी’ आदिबाट सम्मानितर विभूषित छन् । उनको जीवन नै सैनिक सेवामा व्यतीत भएकोले उनलाई इतिहासले उच्चकोटीको योद्धा, देशभक्त र निष्कलंक सेना  नायकको रुपमा स्थापित गरेको देखिन्छ । आजसम्म पनि उनी राष्ट्रका गौरव र देशभक्तिको प्रतीकको रुपमा सबै नेपालीको मनमा पूजनीय छन् र अजर अमर रही रहनेछन् ।

लेखक प्राध्यापक हुनुहुन्छ भने उहाँले अमरसिंहका बारेमा धेरै लेखरचनाहरू प्रकाशन गरिसक्नुभएकाे छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.