भीमसेन थापाकोे जन्म वि.सं. १८३२ साउन ९ गते गोरखाको पिपलथोकमा भएको थियो । भीमसेन थापाले जग्गा खरिद गरी यंगाल (हाल का.न.पा.वडा नं.२१, इकुवहाल समीप) मा जोडाएर बनाएको निजी घरभित्र नजरबन्दमा राखिएका भिमसेन थापाको मृत्यु वि.सं. १८९६ साउन १६ गते भयो । वि.सं. १८४१ मा राजा रणबहादुर शाहको गोर्खा दरबारमा ब्रतबन्ध गरिएको थियो । गोर्खा दरबार जाने क्रममा सम्पर्कका कारण समउमेरका भीमसेन थापालाई रणबहादुर शाहको निजी सेवकको लागि काठमाण्डौं, राजदरबारमा ल्याइएको थियो । त्यसपछि भीमसेन थापा रणबहादुर शाहसंग राजदरबारमै रहन थाले । यिनी वि.सं. १८५१ मा नेपाली सेनाको सुबेदार पदमा नियुक्त भएका थिए भने वि.सं. १८५६ वैशाख ११ गते सुबेदारबाट नेपाली सेनाको सर्दारमा पदोन्नति भए । भिमसेन थापा सानाकाजी अमरसिंह थापाका जेठा छोरा थिए । सानाकाजी अमरसिंह थापाका दुई श्रीमती थिए । जेठी तर्फका भीमसेन थापा, नयनसिंह थापा, बख्तबरसिंह थापा, अमृतसिंह थापा र रणबहादुर थापा तथा कान्छीतर्फ दुई छोरा रणबम र भोटु थापा थिए । भीमसेन थापाका दुई श्रीमती र तीन छोरी क्रमशः ललितादेवी, जनक कुमारी र दीर्घ कुमारी थिए । उनीहरु तीनै जनाको विबाह पाण्डे परिवारसंग भएको थियो । उनका एक जना छोराको बाल्यकालमै वि.सं. १८५३ मा मृत्यु भयो (थापा, बशन्त बहादुर, २०४७, पेज २१) । भीमसेन थापाको तस्विर तल प्रस्तुत गरिएको छ ।

जब रणबहादुर शाह निर्वाणानन्द योगीको भेषमा काशी बास गए, त्यतिबेलादेखि भीमसेन थापाले राजा रणबहादुर शाहको साथमा रही स्वास्थ्यको हेरचाहका साथै भारतीय राजा, रजवाडाहरु र बृटिस व्यापारी शासकहरुको कुटिल चालको अध्ययन गर्ने मौका पाए । बुझ्दै जा¤दा काजी दामोदर पा¤ण्डेले ती बृटिसहरुसंग वाणिज्य सन्धि गरी क्याप्टेन नक्स अंग्रेजी दूतको रुपमा नेपालमै बसी जागिर लिने र रणबहादुर शाहलाई काशीमै रोक्न त्यही जागिर पु¥याएर उनको नेपाल आउने बाटो नै बन्द गर्ने चालबाजी गरेका थिए । पृथ्वीनारायण शाहको नीति विपरीत अंग्रेजसंग त्यो वाणिज्य सन्धि गरिएको थियो र त्यो बुझेर भीमसेन थापाले राजा रणबहादुर शाहलाई सुरक्षितसाथ यथाशिघ्र काठमाण्डौं अवतरण गराउन खोज्दा काजी दामोदर पाण्डे तगारो बन्न गए । काशीबाटै राजा रणबहादुर शाहसंग साथमा आएका अर्का जोगी उदय गिरी त राजस्थानका उदयसिंह राजकाजमा बडा शिल्पी थिए, जो राजनीतिमा निपूर्ण पनि । जसको निर्देशनले दामोदर पाण्डेको योजना उल्टिन गएको थियो । र, वि.सं. १८६२ को विर्ता हरण पनि उनैको योजना अनुसार बुझी भीमसेन थापाद्वारा सफल गरिएको थियो । काठमाण्डौं आएपछि रणबहादुर शाहलाई धेरै समस्याहरुले घेरेर आर्थिक समस्या जटिल भइसकेको हुनाले बेरुजु फछर््यौंट गर्ने अर्ति पनि उनै उदय गिरीले रणबहादुर शाहलाई दिए, जो नेपालका राजकीय खजाञ्ची बनाइएका थिए । तर पासा उल्टो भएर विश्वासघातकासाथ राजा रणबहादुर शाहको हत्या शेरबहादुर शाहद्वारा भएको थियो ।
स्वामी राजा रणबहादुर शाहको हत्यापछि भीमसेन थापा नेपालका मुख्तियार भए, जो राजकीय पद मानिन्थ्यो, जुन पद सोझै राजा रणबहादुर शाहबाट अन्तिम अवस्थामा भीमसेन थापालाई मिलेको थियो । त्यसपछिको युग नै भीमसेन थापाको युग मान्न सकिन्छ । उनले ९ दिनपछि राजराजेश्वरीलाई हेलम्बुबाट बोलाएर सती जाने उनको इच्छा पूरा गरिदिए । तर ललितत्रिपुरसुन्दरी सानै उमेरकी पटरानी हुनाले सती पठाइएन, र श्री ५ गीर्वाणयुद्धविक्रम शाहदेवको नायव पदमा बहाली गरियो । भीमसेन थापामा आइपरेको धेरै चुनौतीहरुमध्ये सबैभन्दा कडा बृटिस भारतको शक्तिले नेपालमा ढीलो या चा¤डो आक्रामण गर्छ भन्ने पृथ्वीनारायण शाहको उपदेश अनुसार अध्ययन गरेर नै नेपाली सेनालाई दरिलो पार्ने र संख्या थप गर्ने नीति उनले लिएको देखिन्छ । त्यस सेनालाई भरणपोषणको लागि वि.सं. १८६२ मा हरण गरिएको जमीनको आय नै प्रमुख स्रोत बनेको थियो ।
भीमसेन थापाले नेपाली व्यापारीलाई सक्रिय पारे । तर चीनिया र भारतीय व्यापारीसंग अन्तरक्रिया गर्नमा कडा प्रतिबन्ध गरियो, जसको कारण नेपालको आन्तरिक र बाह्य सुरक्षाको दृष्टिबाट नै थियो । उनीहरुबीचको सहजकर्ताको काम सोझै सरकारले गर्न थाल्यो जसबाट चीनिया र अंग्रेज व्यापारीहरुले नेपालको आ¤त पाएनन् ।
प्रधानका अनुसार (सन् २०१२) भारतमा बेलायती व्यापारीहरुले स्थानीय राजा रजवाडाहरुको शासन अनेक षड्यन्त्रद्वारा हत्याई मनमानी शासन गर्ने क्रममा लर्ड वेलेज्लीको सैनिक भरणपोषण र सहयोग नीति, अनि लर्ड डेलहौजीको भारतीय राज्यका राजाका आफ्नै सन्तान नभएमा त्यस्ता राज्यहरु स्वतः बृटिसभारतमा कम्पनी राज्यमा बिलय गर्ने नीति लागू गराएका थिए । त्यसरी नेपालमा सो नीति लागूगर्दा नमिल्ने भएकाले अंग्रेजले नेपाललाई पनि æPrinciple of Limitation or Doctrine of Delimitation˝ को नीति प्रस्ताव गरेर मुख्तियार जनरल भीमसेन थापालाई नेपालले अब आइन्दाका दिनहरुमा “पहाडतिर काश्मिरसम्म बढ्न र विजय गर्न दिने तर तराईको एक बित्ता पनि लिन नदिने नीतिसंग˝ भीमसेन थापाको सहमतीपटक्कै भएन । त्सैले यो नीति नमान्दा नै नेपाल र इष्ट इण्डिया कम्पनीको बीच सन् १८१४ को युद्ध भएको हो, त्यस युद्ध हुनाका सानातिना निहु¤हरु त धेरै बनाइएका मात्र हुन् ।
नेपाल र कम्पनीबीच युद्ध हुने स्थितिमा भीमसेन थापाले भारतका राजा रजवाडाहरुलाई अंग्रेज विरुद्ध पत्रहरु लेख्दा पं. पद्मपाणी शर्मालाई ग्वालियरमा पठाउ¤दा भारदारहरुले स्वीकारे, तर राजा सिन्धियाले मानेनन्, अरु राजाहरुले पनि समर्थन गरे तापनि पञ्जाव केशरी रणजीतसिंहलेस्वीकारेमा सबैले नेपाललाई सहयोग गर्ने सर्तसहित वचन दिए । त्यसैले यो प्रस्तावसाथ पृथ्वीविलास उपाध्यायलाई भीमसेन थापाले पत्रसहित लाहोर पठाउ¤दा नेपाल र पञ्जावले दिल्ली र कलकत्ताबीचको भाग बा¤डीलिने र ग्वालिएरमा मराठाहरुलाई हिन्दू जागरणको नारा दिने योजना बनाए । तर सो योजना लर्ड हेस्टिङ्सले थाहा पाएको हुनाले ती सबैलाई एकै मोर्चामा आउनै दिएनन् । त्यसपछि उनले मद्रासको सारा सेना उत्तर भारतमा झिकाएर आन्तरिक सुरक्षा दिने जिम्मा दिएर भारतीय पहाडीहरुको सेना तयार पारी नेपाल माथि आक्रामण गर्ने तयारी गरे । बङ्गाली र नेपालीलाई जुधाउने योजना बनाएर नेपोलियनसंग वाटर्लुमा लडेको ४६,६२९ संख्यामा रहेको अंग्रेजी सेनालाई भारतमा झिकाइयो र सैनिक नेतृत्व दिइयो । King’s Regiment Cape and Mauritius को सेनालाई बोलाएर भारतीयहरुको निगरानी गर्न लगाईयो ।
त्यस्तो व्यापक तयारी थाहा पाएका भीमसेन थापाले मित्र राष्ट्र चीनसंग अंग्रेजले नेपालबाट तिब्बत छाडेर चीनमाथि व्यापार गर्न चाहेको र त्यसको निम्ति नेपाललाई ६०–७० हजार रुपैया दिन चाहेको कुरा लेखेर मद्दत मागी ल्हासाका चीनिया¤ अम्वान्हरुलाई पठाए । तर ती चीनिया¤ अम्वान्हरुले नेपाल र कम्पनीको आन्तरिक मामलाको कुरामा हामी हात हाल्दैनौं भन्ने रुखो जवाफ पठाएर नेपाललाई एक्लै लड्नु पर्ने वाध्यतामा पारे । अनि त युद्ध भएरै छोड्यो । अक्टरलोनीको कुटिल चालवाजीले गर्दा नेपालले जति बहादुरी देखाउदा पनि “पहरासंग कुहिनाको जोड˝भने झै हुन गई युद्धमा हार हुन गयो र मेचीदेखि महाकालीबीचको पहाडी खण्डमात्र नेपालले भोग गर्न पायो । अंग्रेज रेजिडेण्ट काठमाण्डौंमा रहने कुरा नेपालले मानेको थिएन तर त्यो सर्त नमान्दा पुनः युद्ध हुने भई नेपालको अस्तित्व नै रहन नसक्ने स्थिति भयो ।
नेपालबाट गुरु गजराज मिश्र, चन्द्रशेखर उपाध्याय, रुद्रबीर शाही अंग्रेजसंग सन्धि गर्न गए । तर नेपालले सो सन्धि पत्रमा हस्ताक्षर नगरेकाले अंग्रेजी सेनाले अख्टरलोनीको नेतृत्वमा हेटौडासम्म विजय गर्दै आयो र लादिएको सुगौली सन्धिमा हस्ताक्षर गर्न नेपाल बाध्य भयो । नेपाल सरकारको स्वीकृति भएको सन्धि प्रस्तावलाई अक्टरलोनीको ब्राडशामार्फत गभर्नरकहा¤ प्रेषित गरेपछि सन् १८१४ नोवेम्वर १ बाट सुरु भएको नेपाल अंग्रेज युद्ध सन् १८१६ मार्चबाट समाप्त भयो ।
सुगौली सन्धिमा समावेस गरिएका नौ बुदे धाराहरु यस प्रकार छन् –
१. माननीय इष्ट–इन्डिया कम्पनी र नेपालका राजाका बीच चिरस्थायी शान्ति र मैत्री कायम रहनेछ ।
२. युद्ध हुनुभन्दा पहिले दुवै राज्यका बीच जुन भूभागका सम्बन्धमा विवाद थियो, ती भूभागहरु नेपालका राजाले परित्याग गर्छन् र ती भूभागहरुमाथि माननीय कम्पनीको प्रभुसत्ता स्वीकार गर्छन् ।
३. नेपालका राजा माननीय इष्ट–इन्डिया कम्पनीलाई तल उल्लिखित इलाकाहरु सदाका लागि समर्पण गर्छन् –
–काली र राप्ती नदीको बीचका सम्पूर्ण तल्ला भागहरु,
–राप्ती र गण्डकी बीचको सम्पूर्ण तल्लो भूमि,
–गण्डकी र कोसीबीचको समस्त तल्लो भूभाग,
–मेची र टिष्टाबीचको समस्त तल्लो भूमि,
–मेची नदी भन्दा पूर्वतर्फको सम्पूर्ण पहाडी इलाकाहरु,
नागरीको दुर्ग र जमिन तथा नगरकोटको घाटी जसमा मोरङबाट पहाडतिर जाने बाटो छ, यससंगै सो घाटी र नागरीका बीचका सबै भूभाग यस मितिदेखि ४० दिन भित्रमा गोर्खाली सेनाले खाली गरिदिनुपर्नेछ ।
४. नेपाल राज्यका प्रमुख र भारदारहरु ज–जसको स्वार्थमा माथि उल्लिखित अभिधाराले हानी पु¥याएको छ, क्षतिपूर्तिका लागि ब्रिटिस सरकारले ती प्रमुखहरुलाई जम्माजम्मी सालाना दुई लाख रुपैंया पेन्सनका रुपमा दिन स्विकार गर्छ । यो रकम नेपालका राजाको तजबिजअनुसार समानुपातमा बा¤डिनेछ । नेपालका राजाबाट यस रकमको अनुपात निश्चित भएपछि पेन्सनका लागि गभर्नर जनरलको मेहर र हस्ताक्षरसहितको सनदपत्र सम्बन्धित पेन्सनवालालाई दिइनेछ ।
५. नेपालका राजा स्वयं आफ्ना सम्बन्धि तथा उत्तराधिकारीहरुकातर्फबाट काली नदीको पश्चिमी भूभागको सम्पूर्ण अधिकार परित्याग गर्छन् र साथै त्यो इलाका तथा इलाकाका निवासीहरुसंग कुनै किसिमको सम्बन्ध नराख्न वचनबद्ध हुन्छन् ।
६. नेपालका राजा सिक्किमका राजालाई उनको प्रादेशिक अधिकारका सम्बन्धमा कुनै तहबाट परेसान नगर्न र साथै शान्ति भंग नगर्न स्वीकार गर्छन् र साथै के पनि स्वीकार गर्छन भने यदि नेपाल अधिराज्य र सिक्किमका राजा अथवा सिक्किमका प्रजाहरुका बीच कुनै मतभित्रता उत्पत्र भएमा उक्त मतभित्रता समाधान गर्न मध्यस्थको रुपमा ब्रिटिस सरकारको निर्णय स्वीकार गर्नुपर्नेछ ।
७. नेपालका राजा यस नियमलाई स्वीकार गर्छन् कि ब्रिटिस सरकारको अनुमतिबिना कुनै ब्रिटिस प्रजा तथा युरोपेली प्रजा अथवा अमेरिकीलाई आफ्नो सेवामा कहिले पनि राख्ने छैनन् ।
८. दुबै राज्यका बीचमा मित्रता र शान्ति सम्बन्ध सुदृढ र समुत्रत गराउनका लागि एक राज्यका विश्वासपात्र मिनिस्टर दोस्रो राज्यमा रहनेछ भत्रे पनि स्वीकार गर्छन् ।
९. यो सन्धी जसमा नौ अभिधारा समाविष्ट छन्, नेपालका राजाद्वारा आजको मितिदेखि पन्ध्र दिनभित्र अनुमोदन गरिनेछ । उक्त अनुमोदन लेफ्टिनेन्ट कर्नल ब्रेडशालाई प्रदान गरिनेछ र उनले बीस दिनभित्र अथवा सम्भव भए सोभन्दा पनि अगावै गभर्नर जनरलबाट अनुमोदन गराई नेपालका राजालाई सो अनुमोदित सन्धिपत्र दिनेछन् (यादव, २०६४, ढुङ्गाना, २०७७, पृ.८८) ।
उल्लेखित सुगौली सन्धिमा नेपालले असन्तुष्टी जनाएको थियो किनकी जसमा विवादरहित तराईको भूभागसमेत नेपालले छाड्नुपर्ने कुराहरु समावेश थिए । मुख्तियार भीमसेन थापा सहितका भारदारहरु यो विवादित सन्धिलाई पालना गर्ने पक्षमा थिएनन् । यो सुगौली सन्धि नेपाल तर्फबाट नत राजा गीवार्णविक्रम शाहको दस्तखत छ नत अंग्रेजको कर्णेल अक्टरलोनीकै छ । त्यसैले मध्यस्थकर्ताले मात्र अंग्रेजी र फारसी भाषामा सुगौली सन्धि प्रकाशमा ल्याईएको हुनाले यो सन्धि विवादास्पद र सन्देहजनक रहिआएको छ । सन्धिमा अधिकारिक व्यक्तिको हस्ताक्षर नहुनु, सन्धिपत्र अंग्रेजी र फारसी भाषामा आउनु एकतर्फी रुपमा सन्धि प्रस्ताव हुनु प्रतिनिधिलाई जानकारी नहुनु जस्ता कुराले ४ मार्च १८१६ को सुगौली सन्धि सधै विवादित र सन्देहजनक रहेको छ । नेपालले असहमति जाहेर गरेको कुरा अंग्रेजहरुले निकै सोचविचार गरी पुनः ८ डिसेम्वर १८१६ मा कोसी र राप्ती बिचको तराई भूभाग नेपाललाई फिर्ता गरी मूल सन्धिको धारा ४ को प्रावधान खारेज गर्न कम्पनी सरकारले सहमति जनायो ।
सुगौली सन्धिपछि अंग्रेजी रेजिडेण्टले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न थाल्यो र नेपालमा भारतीय हस्तक्षेप सोही समयबाट सुरु भएको ठानिन्छ । नेपाल कम्पनीबिचको युद्ध भएपछि भीमसेन थापा अझ शक्तिशाली भए । आखिरमा अंग्रेजले लिएको तराईबाट एक लाख पनि मालपोत उठाउन सकेन र राप्तीदेखि मेचीसम्मको जमीन फिर्ता गर्न वाध्य भयो । राप्तीदेखि महाकालीसम्मको भूभाग भने अबधको नबाबको मातहतमा रह्यो । किनभने सो नबाबले नेपाल र कम्पनीबिचको युद्ध हु¤दा एक करोड रुपैया¤ अंग्रेजलाई मद्दत दिएबापत् सो नेपालको जमिन दिएको हु¤दा फिर्ता गरेन र पछि सिपाही बिद्रोहमा नेपालले अंग्रेजलाई मद्दत गरेपछि जङ्गबहादुर प्रधानमन्त्री हु¤दा फिर्ता गरेको हो । अंग्रेजलाई नेपालले बा¤की विजित जमीन पनि श्री ३ चन्द्रशम्शेरले पहिलो विश्व युद्धमा मद्दत गरेकाले फिर्ता गर्न चाहेकोमा चन्द्रशम्शेरले दश लाख रुपैया¤ लिए, जमीन फिर्ता लिएनन् । फेरि श्री ३ जुद्धशम्शेर प्रधानमन्त्री हु¤दा दोश्रो विश्व युद्धमा नेपालले बेलायतलाई मद्दत गरेकोमा पनि बा¤की विजित जमीन फिर्ता गर्न बेलायत तयार हु¤दा हु¤दै पनि जुद्धले दश लाख रुपैया¤ आफ्नो खातामा राखे, जमीन फिर्ता लिन मानेनन् । पछि फेरि लर्ड माउण्ट व्याटन बृटिश भारतका अन्तिम भायसरायले बङ्गालबाट समुद्रसम्म जाने बाटो दिंदा पनि राणा प्रधानमन्त्री मोहन शम्शेरले आफ्नो शासन गुम्ला भन्ने डरले फिर्ता लिएनन् (प्रधान, सन् २०१२, सुवेदी, २०८०, पृ.७३) ।
कुनै पनि देशको अधिकार, इज्जत र विकास गर्ने भूमिका राष्ट्रको नेतृत्व वर्गले निर्बाह गर्न सक्नुपर्छ । पदमा बसेर मात्र सफल नेतृत्व मानिदैन । प्रशासनमा बसेकाले देश र जनतालाई सुरक्षा दिनुपर्छ, तर नेपाल सरकारको काम केबल मालपोत उठाउने, सिर्तो जम्मा पार्ने, जगात लिने, सलामी लिने, सजाय गर्ने मात्र हुन्थ्यिो, मुलुकमा सुधार केही गर्नु थिएन । गाउ¤मा स–साना खिचोला छिनिन्थे, थरी, भारापा¤च, पञ्चप्रमान, पञ्चायतले शाहकालभर सो काम गथ्र्यो । जनतालाई प्रशासनबारे पटक्कै जनकारी हु¤दैन्थ्यो । र, राज्यमा परेका भित्री, बाहिरी समस्याहरु पनि केही जान्दैनथे । राज्यमा वाह्य अतिक्रमण भएमा झारा सेना उठाएर युद्ध मोलिन्थ्यो । केन्द्रमा थापा, बस्न्यात, पा¤डे, पन्त, बखेती, कार्की, बुढाथोकी, पाठक, मगर, गुरुङ, किरात, ठकुरी आदिको हालीमुहाली हुन्थ्यो । उनीहरुको संख्या बाराबर हु¤दैन्थयो, चौतारिया, सरदार, खरिदार, कपर्दार, खजाञ्ची, नजिकी, आदि पदका रहन्थे । काजीहरुमा भित्री र बाहिरी हुन्थे, भित्री काजीले केन्द्रमा र बाहिरी काजीले उपत्यका बाहिरको प्रशासनिक, जङ्गी क्षेत्रको जिम्मा पाउथे । राष्ट्रको कुनै योजनाबद्ध काम भने हु¤दैन्थ्यो । जे जे, जुन बेला परिआयो सोही अनुसार शासन सञ्चालन गरिन्थ्यो । भारदारहरुबीच शक्तिको सन्तुलन चाली चाली मिलाउने चलन थियो । नेपाल कम्पनी युद्धपूर्व नेपालको अवस्था यस्तै थियो ।
नेपाल र कम्पनी युद्धपछि नैतिकता र अनुशासनमा राजा रहन थाले । भीमसेन थापा सत्तामा आएपछि नेपालको शासनमा धेरै सुधारहरु ल्याएर नया¤ वातावरण ल्याइदिए । उनले न्यायलयलाई सबैको सहयोगीको रुपमा प्रयोग गर्न थाले, राज्यको आम्दानी अनुसार विकासका कामहरु गर्दै सैनिक शक्ति मजबूत पार्दै गए । तदनुसार बमशाहलाई कुमाउ, माथवरसिंह थापालाई सल्यान, र प्युठान, साना अमरसिंह थापालाई पाल्पा गरी भारदारको चित्त बुझाउने नीति लिए । सोही क्रममा खर्दारले गैंडाको रेकर्ड राख्ने, सर्दारले सेना हेर्ने, जुम्ला, डोटी, पाल्पा, मकवानपुर, चैनपुर र विजयपुरलाई पुनः संगठित गरियो । तराई हेर्ने ६ जना सुब्बाको बन्दोबस्त गरियो, सप्तरी र महोत्तरी, डोटी र कुमाउका रैती काठमाण्डौं आएर धेरै गुनासो गरे । डिठ्टा, बिचारीले न्याय हेर्ने, जमीन जोत्ने मोहीको संरक्षण गर्ने, जुवा, मदिरा, दाशप्रथा, घुसखोरी, सामाजिक कुरीतिका उनी बिरोधी थिए । बडाहाकिमको अधिकार कटौति गरी गाउ¤का जिम्मावल, मुखिया र अमालीहरुलाई दिए । उनीहरुलाई केही रकम (सयकडा पा¤च, र शयकडा दशलाई पचौंदी र दशौंदी) सहुलियत पाउने भए । केन्द्रको काम लालमोहरमा छाप हानेर पठाउने मात्र हुन थाल्यो । गृह प्रशासन साहैं निरङ्कुश प्रकृतिको, भारदारीमा एकाधिकार, सेना र निजामती हेर्ने सर्दारलाई जिम्मा दिइएको थियो । उनले खान्गी, भत्ता, भर्ती, परेड आदि पनि हेर्थे । त्यसलाई हड्सनले देशाचार भनेका छन्, जहा¤ न्याय कडा हुन्थ्यो, देशको छिचरो पातलो बाहिरियाले थाहा पाउदैनथे (उही, पृ.७४) ।
राजा राजेन्द्र राज्य सञ्चालनमा ज्ञान न गुनका महत्वकांक्षी थिए । रानीहरुले राजालाई आफू शक्तिशाली हुनुपर्छ भनी टोकिरहन्थे । हड्सनले राजेन्द्रलाई भीमसेन थापाका भाई रणवीरसिंह थापालाई हात लिएर भीमसेन थापाको पतन गराउने सल्लाह दिए । उता दामोदर पा¤डेका छोरा रणजङ्ग पा¤डेलाई प्रवासबाट नेपाल आउने अनुमति दिइयो र उनले भीमसेन थापाको बिरोध गर्न थाले । भीमसेन थापाको दाहिने हात मानिने नायब ललितत्रिपुरसुन्दरी देवीको पनि चा¤डै मृत्यु भयो, ठीमी र छाउनीको बारुदखानामा आगलागी भयो । वि.सं. १८९० सालमा महाभूकम्प गयो, पाल्पा र रिडी बजारमा आगलागी भयो, राजा राजेन्द्र शक्तिशाली हु¤दै आए, रणजङ्ग पा¤डेका मानिसलाई चीनमा पा¤चवर्षीय शिष्टमण्डलमा पठाउने योजना बनाए, तर भीमसेन थापाले रणबम पा¤डेलाई पठाइदिए । सिक्कीमका काजी युक्ला तोपको बिवादले भीमसेन थापालाई असजिलो पा¥यो । जेठी रानीको ६ महिने छोरा सयनपातको बिरामी हु¤दा बैद्यलाई बिष हाल्न लगाएको झूठो आरोपमा भीमसेन थापामाथि मुद्दा चलाइयो । यस्ता धेरै कारणबाट भीमसेन थापाको पतन गराउन सहयोगी आधारहरु देखिन्छन् (उही, पृ.७६)।
सुगौलकिो सन्धिपछि पनि नेपालले भारतका बनारस, रेवा, बर्मा अफगानिस्थान, इलाहावाद, भरतपुर, उदयपुर, राजस्थान, हैदरावाद, लाहोर, कुचबिहार, मथुरा, कोटा, हरिद्वार, भूटान, ग्वालियर, सिन्धिया जस्ता राज्यहरुमा अंग्रेजबिरोधी पत्रहरु पठाएको थियो ।ती पत्रवाहकहरु नेपाली पण्डित, व्यापारी, बैद्य, कायस्थहरु हुन्थे । जसले आ–आफ्नो कामको अर्कै परिचय स्थापित गरेका थिए । तैपनि अंग्रेजहरुको सुराकीहरुले त्यो थाहा पाएको हुनाले जनरल ग्लाडरलाई त्यसको सुराकी गर्ने काममा गोरखपुरमा खटाइएको थियो । उनले नेपालीहरुलाई ती ती ठाउ¤मा जान प्रतिबन्ध जस्तै गर्न थाले । त्यो कुरा माथवरसिंह थापाले तराईको सिकारमा जा¤दा पञ्जाबकेशरी रणजितसिंहलाई भेटेर बताएका थिए । यता रेजिडेण्ट हड्सनले भीमसेन थापालाई पतन गराउन राजालाई मन्त्रणा गरेर उनले तयार पारेको सेनालाई तितरबितर पार्न बिभिन्न गौंडा र जिल्लाहरुमा खटाउन थालियो जसबाट भीमसेन थापा केन्द्रमा कमजोर हुन गए ।
केन्द्रमा भीमसेन थापाको पदच्यूति पछि रणजङ्ग पा¤डे, पुष्कर शाह, रङ्गनाथ पौडेल मुख्तियार भए तापनि दरबार सन्तुष्ट भएन । रङ्गनाथ पौडेल मुख्तियार रहदासम्म भीमसेन थापाको ज्यादै विचल्ली हुन पाएन । जब उनले त्यागपत्र दिए, भीमसेन थापाको पुरानो बिष मुद्दा पुनः उल्टइयो । उनीमाथिश्री ५ गीवार्णलाई विफरले मरेका राजालाई विष दिएको भन्ने कीर्ते आरोप पनि थपियो । अनि त राजा राजेन्द्रले उनलाई नेल, गलफन्दी, हतकडी लगाउने आदेश दिएर आफ्नो बागदरबारको एक कोठामा बन्दि बनाइयो । त्यो कुरा एकदेव बैद्यले बोलेको हो भनी टिपी प्रमाणित भनी कीर्ते कागज तयार पारियो । मुख्तियार रणजङ्ग पा¤डेको रिस त्यतिले पनि मरेन र नेपाली सेनाको तलब कटाउ¤दा पुष्कार शाह र रङ्गनाथ पौडेलको घर लुट्न लगाइयो । भीमसेन थापाकी देवीसमान मानिएकी कज्यानी जेठी भक्तकुमारीलाई निर्बस्त्र पारी तीन शहर घुमाउने हल्ला भीमसेन थापालाई सुनाइयो । ई. २८ जुलाई १८३९ मा भीमसेन थापाले आत्महत्या गरेको हल्ला पिटाइयो । तर मृत्युको प्रकृतिबारे यथार्थ प्रकाशमा ल्याइएन, न त मृतकको वैदिक विधिले क्रियाकाज नै गर्न दिइयो । भीमसेन थापा ढलेपछि र सतीले दिएको श्रापपछि थापाहरुको जात, पात, भात, जागिर, इज्जत, खानदान, बिहाबारी, सामाजिक स्तर, दरबार प्रवेश सारा गिराइयो । सा¤च्चे भन्ने हो भने त्यति बेलादेखि नेपालको शासन आजसम्म बिग्रेको बिग्र्यै छ (उही, पृ.७६) ।
भीमसेन थापाको मुख्तियारीकाल वि.सं. १८६३–१८९४ बिचको मूल्याङकनगर्दा नेपाल र इष्ट इण्डिया कम्पनी बिचको युद्ध वि.सं. १८१४–१८१६ पूर्व नेपालले लिएको गृह नीति र परराष्ट्र नीति, अनि त्यस पछिको नीतिमा धेरै अन्तर देखिन्छ । किनभने नेपालले युद्धपूर्व नेपाल एकीकरणको अभियानलाई तीब्रता दिइरहेको, नेपाली सेना विभिन्न मोर्चामा डटेर बसिरहेको अवस्था देखिन्छ भने युद्धपछि नेपालले त्यस नीतिलाई पूर्णतः तिलाञ्जली दिनु परेको थियो । अंग्रेजले नेपाललाई स्वतन्त्र देशको रुपमा बचाएर राख्ने उद्देश्यले आक्रामण गरेको नभई यसको विलयीकरण गर्नु नै उसको मूल उद्देश्य थियो । तर युद्धमा नेपालीले देखाएको राष्ट्रियता, बहादुरी तथा आत्मोत्सर्ग देखेर नेपाली जातिलाई वशमा लिन कदापि सकिन्न भन्ने निश्चयकासाथ सुगौलीको सन्धि गरेका थिए ।
युद्धपछिको नेपालको राजनीतिमा खासै भिन्नता आएन । नेपालले विदेशी प्रवेशलाई पूर्णतः निषेध गरे पनि अंग्रेजले यहा¤को रानीतिमा हस्तक्षेप गर्न थाल्यो, जुन कुरामा पृथ्वीनारायण शाह र भीमसेन थापा सतर्क थिए । त्यसैलाई धेरै प्रयत्न गर्दा पनि बहिष्कार गर्न सकिएन । नेपाललाई भीमसेन थापा नभएको भए बृटिश भारतले लिएरै छोड्ने थियो, यसमा शंका नै छैन । नेपालले युद्धपछि लिएको कुटनीतिमा अंग्रेजलाई सधैं तर्साउन नेपाली सेनालाई मजबुत पारेर राख्ने, आन्तरिक सुधारहरु गर्ने नीति भीमसेन थापाले लिए । त्यसोगर्दा नेपालले शान्तिको मार्ग पनि त्यागेको थिएन । नेपाललाई विदेशीको छाया¤मुनी पर्न नदिनु र नेपाललाई आधुनिकीकरण गर्नु नै भीमसेन थापाको मूलनीति थियो । त्यस्तो राष्ट्रवादी र सुधारवादी नीति अंग्रेजलाई मन पर्ने करै थिएन । अनि जङ्गबहादुरलाई हात लिएर अंग्रेजले आफ्नो शासन भारतमा रहेसम्म इच्छा प्राप्ति गरेका थिए (प्रधान, सन् २०१२, सुवेदी, पृ. ६९–७७) ।
नेपालको इतिहासमा एकल व्यक्तिकोबारेमा राष्ट्रकै प्रतिनिधित्व हुने, दरबारको वा राजपरिवार भित्रको सदस्य नभएर पनि आफ्नै बुद्धिबलले नेपाललाई ३१ वर्षसम्म नेतृत्व दिन सक्ने कोही पुरुष खोजी गर्नुपरेमा जनरल मुख्तियार भीमसेन थापालाई नाम नलिई सुखै छैन । हुन त श्री ३ जङ्गबहादुर राणाको कुरा पनि त्यस्तो व्यक्तिमा आउ¤छ । तापनि उनको उन्नतिको परिवेश, भूमिका, अन्तर्घात र स्वभावजन्य संस्कार पृथक देखिन्छ । तर भीमसेन थापाको दा¤जोमा पुग्न लायक देखिदैनन् । भनिएला उनकै योगदानबाट नया¤ नेपाल फिर्ता आएको हो । तर सुगौली सन्धि पछि गुमेको तराई भूभाग ल्याउने भीमसेन थापाको नाम ओझेलमा पार्न मिल्दैन ।
नेपालमा भीमसेन थापाले नेपालका सबै शासकहरु भन्दा धेरै सुधारहरु गरे, जस्तैः नेपालमा पुस्तौंदेखि चली आएको बेठ, बेगार प्रथामा सुधार, दनुवार र मगरका छोरा छोरीहरुलाई दासता र बा¤धाप्रथाबाट मुक्त गर्नु, जैशी ब्राह्मणले मामाकी छोरी बिबाह गरी आएको प्रथालाई बन्देज गर्नु, नेवार जातले जात्रा मेलामा बढी खर्च गर्नमा बन्देज, जनताले न्याय पाइएन भनी कराएमा सोझैं न्याय दिने चलन ल्याउनु, नातावाद, कृपावाद र घुसखोरी बन्द गर्नु, जमीनदारले मोहीलाई जग्गा कमाउन नदिई रित्तै निकाल्न नपाइने व्यवस्था गर्नु, नापतौलमा सुधार गर्नु, पाल्पा र रिडीमा आगलागी भएपछि घडेरी र घर बनाउनेबाट पहिलेको झै सरकारले गर्दै आएको खोसुवा बन्द गर्नु, ऋण लिएकोमा व्याजदर कडाइकासाथ तोकी दिनु, बेत्रावतीको सन्धिपछि बन्द भएको तिब्बतको व्यापार खुलाई ल्हासामा नेपाली मुद्रा चलाउन शुरु गर्नु, वि.सं. १८६२ मा विर्ता हरण गरी राजश्व बढाउनु, सञ्चार र हुलाक घर, सूचना व्यवस्थालाई दु्रत पार्नु, जमदार जयकृष्ण र कुलु लामालाई गाउ¤ गाउ¤ पुगेर अनुसन्धान गराई जनताको पिर मर्का बुझी सुधार गर्नु, खोला, खहरे र नदी तार घाटको व्यवस्था मिलाउनु, ठूला नदीहरुमा पुलपुलेसाहरु बनाएर यातायातमा दू्रतता ल्याउनु, कला, वास्तुकला, मूर्तिकला, मन्दिर, दरबार, धरहरा (दुईवटा निर्माण), बागमतीको पुल, आदि बनाउनु, कानूनमा सबैलाई समानताको व्यवहार गराउनु, प्रशासनलाई चुस्त राख्नु, नेपालमा बस्ने सबै युवाहरुलाई अनिवार्य एकवर्षे सैनिक तालिम दिलाएर देशको सुरक्षार्थ सैनिकीकरण गर्नु, नहर निर्माण गराई जमीनमा सिंचाई पु¥याउनु, त्रीशाले, पञ्चाशाले जमीनमा खेतीको व्यबस्था र जग्गा बा¤झो रहन नदिनु, तराईको सन्धिमा गुमेको पूर्व झापा देखि राप्तीसम्मको जमीन फिर्ता ल्याउनु आदि जस्ता सुधारहरु मुख्तियार भीमसेन थापाले गरेका महत्वपूर्ण कामहरु हुन् ।
भीमसेन थापाको राष्ट्रभक्तिको बारेमा विभिन्न देशी तथा विदेशीहरुले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
˝म मरि मुलुक डुब्न्या¤छैन, भीमसेन मरे मुलुक डुब्न्या¤छ˝ छ भनी श्री ५ रणबहादुर शाहले भीमसेन थापाको योगदानको कदर गरेको पाइन्छ । त्यसैगरी जङ्गबहादु राणा भन्छन् “हामी बजिरमध्ये ठूला वजिर भीमसेन थापा हुन् ।˝ त्यस्तै चन्द्रशमशेरको भनाईमा “एउटा भीमसेन थापा नजन्मेको भए नेपाल उहिल्यै हिडिसक्थ्यो ।˝ पंजावकेशरी रणजित सिंह भन्छन् “तेस्तो संभार गरि दिन्या मानिस मेरो साथमा भयादेखि यत्ति अम्मल ग¥या¤ थिया¤ ।˝
ब्रायन हग्सनका अनुसार “वर्तमानकालिय देशिय राजनीतिज्ञहरुमा सिवाय रणजितसिंह म एकजना पनि यस्तो व्यक्ति देख्दिन जो नेपालका स्वर्गिय जनरल भीमसेन थापासंग दा¤जिन योग्य छन् ।˝ ब्रायन हग्सन तथा ह्यामिल्टन यस्ता व्यक्ति हुन् , जसले भीमसेन थापा ब्रिटिश संरक्षण नीतिका सदा बिरोधी भएका हु¤दा यिनीहरुले सदैव उनको विरोध गर्दथे, विरोधीहरुलाई उचाल्थे, ब्रिटिश सरकारसमक्ष कुरा लगाउ¤दथे तर पनि भीमसेन थापाको मृत्युपश्चात हग्सनले समेत मुक्तकण्ठले उनको देशभक्तिको प्रशंसा गरेको पाइन्छ । त्यसैगरी एच. ओल्ड फिल्ड भन्छन् “भीमसेन थापाका लागि राष्ट्रको स्वाधिनता भन्दा निकट र प्रियवस्तु अरु केही थिएन ।˝सर्वप्रथम एसियाली एकताको आव्हान गर्दै वर्मा, अफगानिस्तान, फारस, पञ्जाव, ग्वालियर, अवध, एवं वंगालसम्म आफना दूतहरु पठाएर फिरङ्गीलाई एशियाबाट नहटाएसम्म स्वाधीनता र सार्वभौमसत्ता कायम राख्न सकिदैन भन्ने भीमसेन थापा नवीन ऊर्जा, उत्साह, प्रतिभा र सामथ्र्यका उज्ज्वल नक्षत्र थिए । कार्ल माक्र्सको अनुसार उनि एशियाका मुलुकहरुमा व्रिटिश साम्राज्यवादको प्रखर विरोध गर्ने एक मात्र दूरदर्शी राजनीतिज्ञ थिए ।
जननायक विश्वेश्वरप्रसाद कोईरालाले भीमसेन थापाका बारेमा भनेका छन् “ठूला राजदर्शीमध्ये एउटा राजदर्शी (भीमसेन थापा) को यस्तो दुःखदायी र कृतध्न हत्याको घटनाले नेपाली जनमानसमा देशको सेवा गर्नेहरुको नेपालमा जहिले पनि कुभलो हुन्छ भन्ने विषादपूर्ण भावनाको उत्पत्ति गरायो । सतीको श्राप परेको हो नेपाल भन्ने चलन छ ।” अर्का नेपालका सर्वोच्च नेता स्व. गणेशमान सिंहका अनुसार “भमिसेन थापामा राजनीतिक नैतिकता भएको हुनाले सेरिएर मर्नुपरेको थियो जसले यस्ता राष्ट्रको गौरव बढाउने राष्ट्रिय विभूति भीमसेन थापाले पानी माग्दा पनि पानी नपाएको प्रसङ्ग उल्लेख गर्नु भयो । उहा¤ले माथवरसिंह थापा, अमरसिंह थापा आदि लाञ्छित र अपमानित भएको इतिहासलाई पनि स्मरण गर्नु भएको छ ।” त्यस्तै गरी पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोईरालाले भनेका छन् “पृथ्वीनारायण शाहले निर्माण गरेको देशलाई भीमसेन थापाले आत्मा दिने काम गरे ।” यी लोकतात्रिक नेताको भनाइबाट के पुष्टी हुन्छ भने भीमसेन थापा नेपालका एक महान देशभक्त नेता थिए जसले नेपालको शिर उच्चो राख्न महत्वपूर्ण योगदान गरे ।
प्रधानमन्त्री मनमोहन अधिकारीले “एशियाली राष्ट्रहरुलाई साम्राज्यवादी शक्तिविरुद्ध एक हुन आह्वान गर्ने भीमसेन थापा नेपालको मात्र नभई एशियाको महान नेता हुनुहुिन्थयो । नेपालको इतिहास पुर्खाहरुको आलो रातो रगतले रङ्गिएको कुरा व्यक्त गर्नु भएको छ । अझ थप कुरा औल्याउ¤दै उहा¤ले भन्नु भएको छ की “वीर भीमसेन थापा नेपाल आमाका त्यस्ता जाज्वल्यमान सुपुत्र हुनुहु¤न्थ्यो जसको नाम मात्र उच्चारण गर्दा पनि साम्राज्यवादीहरुको मुटुमा ढ्याङ्ग्रो बज्दथ्यो । देशभक्तहरुको शिर हिमाल झै उच्चहुन्थ्यो । देशको राष्ट्रियता र प्रभूसत्तालाई कमजोर तुल्याउने खालको कुनै पनि प्रयासलाई वहा¤ले गम्भीरतापुर्वक सामना गरेको इतिहासमा स्पष्ट छ । यही कारणले गर्दा भीमसेन थापाको समयमा अंग्रेजसंग युद्ध समेत भयो । त्यस युद्धमा नेपालले ठूलो मूल्य चुकाउनु प¥यो । तैपनि भीमसेन थापाकै राष्ट्रवादी अडानका कारणले धेरै हदसम्म नेपाल स्वतन्त्र रहन पुग्यो ।” प्रधानमन्त्री मनमोहन अधिकारीको भीमसेन थापाप्रतिको यस्तो उच्च मूल्याङ्कनले देशभक्त नेपालीहरु र नेपालकै शिर ठा¤डो भएको गौरव महसुुस हुन्छ ।
वि.स. १८६३ सालमा मुख्तियारी हासिल गरेका भीमसेन थापाले बडाकाजी अमरसिंह थापाको छत्रछायामा कश्मीरसम्म महत्वाकांक्षी योजना बनाउदै तदनुरुप फौज हाक्ने अख्तियारी प्रदान गरेकाले अमरसिंह सयौं वाधा विरोध छिचोल्दै काँगडा दुर्ग हुदै चम्बासम्म पुग्न सफल भए । काँगडाका राजा संसारचन्द र सिख राजा रणजितसिंहको ठूलो फौजसंग एक्कासी लडाई परेकोले गोर्खाली फौज सतलजी वारि आई बस्न बाध्य भयो । मुख्तियार भीमसेन थापामा वर्तमान कालखण्डमा फौजी शक्तिको ठूलो महत्व रहेको तथ्य मनन गरी त्यसको आधुनिकीकरण गर्न फ्रान्सका सैन्य विज्ञलाइ कान्तिपुर झिकाई बलियो सेना बनाउने आकांक्षा थियो । यसैलाई कार्यान्वयन गर्न उनि एकाग्र चित्त लागिरहे (थापा, वि. सं. २०७२) ।
सारमा भत्रुपर्दा अंग्रेजलाई एशियाबाट लखटेर नेपालको मात्र नभएर छिमेकी राज्यको पनि संरक्षण गर्नु पर्छ भत्रे भीमसेन थापा देशभक्त तथा एशियाकै नेता हुन् । बास्तवमा उनले स्वामी महाराजसंग वनारसमा बस्तादेखि ३१ वर्षको एकछत्र शासनकालमा राष्ट्र र राष्ट्रियताभन्दा अरु चिजलाई महत्व दिएनन् । अंग्रेजलाइ शत्रु मानेर सुगौली सन्धिपछि पनि राजदूतलाई स्वछन्द चलखेल गर्नबाट प्रतिवन्ध लगाएर सार्वभौम शक्तिका मालिक नेपाली जनतालाई वनाउने उनको दूरदर्शी व्यवहार र राष्ट्रभक्ति र स्वाधीनताको महत्वपूर्ण उदाहरण हो । साना राजा, दरवारभित्रको तरल अवस्था, शक्ति हत्याउन खोज्ने विभित्र स्वार्थ समूह सबैलाई साम्यपारी राष्ट्रिय अखण्डतामा भूइचालो ल्याउन खोज्ने अंग्रेज शक्तिलाई नियन्त्रित गर्नु तत्कालीन परिस्थितिको चुनौती थियो ।
सानो संख्यामा रहेको नेपाली सेना नया¤ भर्ती गरेर तालिम र वन्दोवस्तिका सामग्रीले व्यवस्थित नगरेको भए अंग्रेजका आधुनिक हातहतियार प्रशिक्षित सेनाका सामु राष्ट्र र राष्ट्रिय स्वाभिमान दुवै संकटमा मात्र होईन अस्तित्व विहिन हुने थिए । उनले सेनामा संख्या वृद्धि गरी संम्भावित अंग्रेजसंगको युद्धमा पूर्ण तयारी साथ संलग्न हुन उनीहरुलाई मानसिक रुपमा तयार गरेका थिए । उनले नेपाली सेनालाई कही कतै आफ्नो रक्षामा प्रयोग गरेको ऐतिहासिक तथ्य फेला परको छैन (ढुङ्गेल, ज्ञानु २०६७, पृ.३५) । राजनीतिमा सक्रिय भएदेखि शासन सत्तामा बसुञ्जेल अंग्रेजलाई कुटनीतिक मर्यादामा राखेर देशको गोपनियता जोगाई उसको कुटिल चाल असफल पार्ने भीमसेन थापाको अंग्रेजप्रतिको नीति समयअनुकूल र राष्ट्रिय आवश्यक्तालाई पूर्ति गर्ने खालको थियो । भीमसेन थापाको कार्यकाल नेपाली राजनीतिमा विशेष महत्वको छ । राजा र जनताको मन जितेर ३१ वर्षसम्म मुख्तियारी चलाउने अर्को राजनेता अहिलेसम्म कोही देखापरेको छैन । आन्तरिक कलह र बाह्ययुद्धका बीचमा पनि राष्ट्रलाई स्वाधीन र जनतालाई सुशासन प्रदान गर्नु उनको ठूलो सफलता मात्रुपर्छ । लामो समयसम्म राज्य सञ्चालन गर्दा आरोप र अपवादहरु आउनु स्वभाविक हो ता पनि उनी शासक भन्दा बढी राष्ट्रसेवक भएर देखा परे । राजा, सेना र जनताको मनमा राष्ट्रियताको धरहरा भएर उभिनु उनको राजनीतिक व्यक्तित्वको सफलता हो ।
उनको व्यक्तित्वबाट जल्ने र राज्यशक्ति हत्याउनेहरुको कुटिल चालले आत्महत्या गर्न वाध्य पारे तापनि उनको शवलाई दाहसंस्कार गर्न समेत नदिए पनि उनको हार भएन । उनको मृत्युलाई आफ्नो जित ठात्रेहरुले तत्कालीन राजाले माथवरसिंह थापालाई दिएको जीतापत्रको व्यहोरा नै काफी छ । राष्ट्रियताका धरोहर, स्वाभिमानका प्रतिमूर्ति, सुझबुझपूर्ण निर्णय र कठिन परिस्थितिलाई पनि नियन्त्रण गर्न सक्ने राजनीतिक क्षमताका कारण उनलाई नेपालका मात्र नभएर एशियाका नेता मानिएको हो ।
उनको शासन काल मूल्याङ्कनगर्दा भीमसेन थापा सर्वगुण सम्पत्र थिए भत्रे कुरा होइन । सत्य के हो भने मानिसमा सकारात्मक र नकारात्मक दुवै पक्ष विद्धमान रहेको हुन्छ । लेनिनको भनाइमा “गल्ती नगर्ने वित्तिकै त्यो इश्वर हुन्छ र इश्वर भन्ने वस्तु नै हु¤दैन” । नेपालका इतिहासकारहरुले यस्तो दृष्टिकोण राख्न नसक्दा एक पक्षले भीमसेन थापामा असल पक्ष मात्र देखेर महान भने अर्कोले उनलाई नराम्रो देखेर तानाशाह सम्मको विल्ला भिराए (के.सी., अमरगाथा, २०६७ ः २६) । उनी महत्वका¤छी र तुरुन्तै अरुको विश्वास गर्ने व्यक्ति थिए । राजदरबारप्रति चाहिने भन्दा बढी विश्वास गर्नाले उनको प्राण गयो । यति लामो अवधिसम्म शासन सञ्चालन गर्ने व्यक्तिका शत्रु हुनु स्वभाविकै हो । शासन सत्ता सञ्चालन गर्ने व्यक्तिले सबैलाई रिझाउन सक्दैन । सत्ता सञ्चालन गर्ने सवाल सर्वजन हिताय भन्दा वहुजन हितायमा आधारित हुन्छ । केही व्यक्तिको स्वार्थमा धक्का लाग्न जा¤दा उनीहरु शत्रु पक्ष बत्र पुग्दछन् । यो मानवीय स्वभाव नै हो । प्रत्येक देशको आफ्नो विशेषता हुन्छ, केही आफ्नोपना हुन्छ जो त्यसको व्यक्तित्व हो । त्यसलाई बुझ्न आफ्नै विचार र आफ्नै विवेक चाहिन्छ र त्यसलाई छुट्ट्याउने आफ्नै आ¤खा पनि । विद्वान्हरुले त्यसलाई ठह¥याउन स्वभावत सकेनन् । उही उनीहरुको इतिहास लेखनमा सबभन्दा ठूलो त्रुटी रह्यो (शर्मा, भूमिका, च, २०१३) । भीमसेन थापा एक प्रधानमन्त्री, एक सैनिक नायक र एक शासक मात्र होइनन्, तिनमा नेपाली जनताको भावनाका प्रतिनिधित्व भएको छ । वर्गविशेषको सर्वाधिकारलाई उछिनी लोकको धरातलबाट उम्रेको यस नेपाली सुमनमा लोकको भावना र आका¤क्षाको सही–सही बास्ना हुनु स्वभाविकै हो ।
राष्ट्रियताका पीडा नभोगेका अहिलेका नेताहरुसंग उतिबेलाका देशभक्त योद्धाहरुलाई दाज्न सुहाउ¤दैन । यस सम्बन्धमा दीर्घराज प्रसाई लेख्छन् – “सुगौली सन्धिमा राजा र भीमसेन थापाको सहमति र हस्ताक्षर नहु¤दानहु¤दै पनि चन्द्रशेखर उपाध्याय र दरबारबाट निकालिएका गजानन्द मिश्रले अंग्रेजसंग मिलेर दरबारको सहमति छ भनेर हस्ताक्षर गरेको सुगोली सन्धि कीर्ते हो भनेर इतिहासका खोजकर्ता योगी नरहरिनाथले कतिपय पुस्तकमा लेखेका छन् । उनको वीरताको प्रशंसा गर्दै शत्रु पक्षका अंग्रेजी लेखक ओल्फिल्डले “भीमसेन थापाका लागि देशको स्वाधिनताभन्दा अर्को न त केही प्यारो छ न त केही नजिक” भनेर लेखेका थिए । त्यसैले इतिहासमाथि बदलाको भावना नराखौ” (कान्तिपुर, २०६७ वैशाख ३०) । तर, भीमसेन थापाले यति धेरै आर्थिक, सामाजिक, सुशासन, न्यायिक, सेनाको आधुनिकीकरण, राष्ट्रियताको रक्षा जस्ता काम गरेर नेपालको शिर उच्च तुल्याउन योगदान दिए पनि विरोधीहरुका लागि सह्य भएन ।
‘कहिल्यै घाम नअस्ताउने’ महाशक्ति राष्ट्र बेलायती साम्राज्यवादसंग नेपालले वीरताका साथ लड्नु र सिन्धुलीगढी र विजयपुरगढी, बुटवलमा अङ्ग्रेज सेनालाई पराजित गरी घुडा टेकाउनु नै ठुलो कुरा थियो । पछि केही त्रुटीका कारण ब्रिटिससंग सुगौली सन्धि गर्नु प¥यो जस्को कारण एक तिहाई भूभाग गुमाउनु परे ता पनि नेपालले आफ्नो स्वाभीमान कायमै राख्यो । सन् १८१६ को सुगौली सन्धिले नेपाललाई विश्वमा एक स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिएको छ, जसले नेपालको राष्ट्रिय पहिचान बचाएको छ। मुख्तियार भीमसेन थापाले आफ्नो रणनीतिक दृष्टिकोणले नेपालको संप्रभुता बचाएका थिए । यसले नेपालको ऐतिहासिक पहिचान र राष्ट्रिय एकता सुरक्षित गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
नेपाल सरकारले मुख्तियार भीमसेन थापाको सम्मान स्वरुप गोरखा जिल्लामा ‘भीमसेन थापा गाउ‘पालिका’ नामाकरण नै गरेको छ । जनस्तरमा भीमसेन थापाको नाममा एउटा प्रतिष्ठान गठन गरिएको छ । २०५३ सालमा स्थापित राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानद्वारा हरेक वर्ष श्रवण ९ गते उनको जन्मदिनको पावन अवसर पारेर जन्मजयन्ती एवंम् सम्मानको कार्यक्रम आयोजना गरी मनाउदै आएको छ । राष्ट्रिय रुपमा योगदान पु¥याएका एक जना लब्धप्रतिष्ठित व्यक्तिलाई एक लाखको नगद् पुरस्कार पनिप्रदान गरिदै आएको छ । अस्तु ।