Gorkha Sansar

LISA मा उत्कृष्ट पालुङटारको लक्ष्य अब ‘सुशासनदेखि परिणाममुखी सेवा’ : नगरसभाबाट बजेट, कर्मचारी सम्मान र खेलाडी प्रोत्साहन

गोरखा । गण्डकी प्रदेशमै स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन (LISA) मा उत्कृष्ट अंक हासिल गरेको पालुङटार नगरपालिकाले अब सुशासनलाई परिणाममुखी सेवा प्रवाहसँग जोड्ने लक्ष्यसहित आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम र बजेट पारित गरेको छ।
आइतबार सम्पन्न नगरपालिकाको उन्नाइसौँ नगरसभाले आर्थिक विधेयक, विनियोजन विधेयक तथा वार्षिक बजेट सर्वसम्मत रूपमा पारित गर्दै विकास निर्माण, सेवा प्रवाह, कर्मचारी व्यवस्थापन र सुशासनलाई प्राथमिकतामा राख्ने निर्णय गरेको हो।
नगरसभाले चालु आर्थिक वर्षका अपूरा योजनालाई आवश्यकताअनुसार आगामी वर्षमा निरन्तरता दिने, वार्षिक खरिद योजना तथा कार्यान्वयन कार्यतालिका स्वीकृत गर्ने, करार कर्मचारीको अवधि आवश्यकताअनुसार थप गर्ने, नेपाल सरकारको निर्णयअनुसार तलब समायोजन लागू गर्ने तथा कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ।
विकास आयोजनाको गुणस्तर सुनिश्चित गर्न सडक, भवन, सीसीटीभी क्यामेरा तथा सडकबत्ती लगायतका पूर्वाधारको नियमित ल्याब परीक्षण गरिने, नगर तथा वडास्तरीय अनुगमन समिति सक्रिय बनाइने तथा भवन निर्माणलाई मापदण्डअनुसार कार्यान्वयन गरिने निर्णय पनि गरिएको छ।
नगरसभाले प्लास्टिक झोलाको प्रयोग नियन्त्रण, कार्यसम्पादन सम्झौता, दण्ड–प्रोत्साहन प्रणाली तथा बेरुजु फर्छ्यौटलाई विशेष प्राथमिकता दिने नीति अघि सारेको छ। उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्ने निर्णयलाई पनि सभाले अनुमोदन गरेको छ।
खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्दै जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका पदक विजेता खेलाडीलाई स्वर्ण, रजत र कांस्य पदकअनुसार क्रमशः सात हजार, छ हजार र पाँच हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ।
नगर प्रमुख विवस चिन्तनले नगरसभाबाट पारित नीति तथा बजेटको प्रभावकारी कार्यान्वयनमार्फत सुशासन, दिगो विकास, आर्थिक समृद्धि र नागरिकमैत्री सेवा प्रवाहलाई थप सुदृढ बनाउँदै पालुङटारलाई नमुना स्थानीय तहका रूपमा विकास गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.