Gorkha Sansar

तनहुँमा युवाको नयाँ अभियान : ‘द नाइनटिज युवा क्लब’ गठनसँगै खुला पुरुष भलिबल प्रतियोगिता हुने

तनहुँ । व्यास नगरपालिका–५ र म्याग्दे गाउँपालिका–१ का युवाहरूको सक्रियतामा सामाजिक तथा खेलकुद गतिविधिलाई केन्द्रमा राख्दै द नाइनटिज युवा क्लब गठन गरिएको छ ।

सामाजिक, आर्थिक, सांस्कृतिक, खेलकुद तथा स्वास्थ्यसम्बन्धी गतिविधि सञ्चालन गर्ने उद्देश्यसहित क्लबलाई जिल्ला प्रशासन कार्यालय तनहुँमा विधिवत रूपमा दर्ता गरिएको जनाइएको छ । एक कुमार श्रेष्ठ को नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

क्लब गठनसँगै युवाहरूको पहलमा खुला वडा स्तरीय प्रथम ‘द नाइनटिज पुरुष भलिबल प्रतियोगिता–२०८३’ आयोजना गरिने भएको छ । प्रतियोगिता आगामी जेठ १५ देखि १७ गतेसम्म निवुवाखोला खेलमैदान मा सञ्चालन हुनेछ ।

आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य स्थानीय युवाहरूको खेल प्रतिभा उजागर गर्नुका साथै व्यास नगरपालिकालाई खेलकुद र पर्यटनमार्फत परिचित गराउनु रहेको छ ।

प्रतियोगितामा करिब ४० टिमको सहभागिता रहने अपेक्षा गरिएको छ । सहभागी टिमहरूले सम्बन्धित वडाको सिफारिससहित खेलाडीको नामावली क्लबको लेटरप्याडमा उल्लेख गरी जेठ १४ गतेभित्र इमेल, फेसबुक वा ह्वाट्सएपमार्फत पठाउनुपर्ने जनाइएको छ । प्रतियोगिताको दर्ता शुल्क रु. ३,५०० तोकिएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले रु. ३३ हजार ३ सय ३३ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमलाई रु. २२ हजार २ सय २२ तथा तृतीय हुने टिमलाई रु. ११ हजार १ सय ११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । साथै विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई समेत विशेष सम्मान गरिनेछ ।

कार्यक्रमलाई सफल बनाउन आर्थिक व्यवस्थापन, प्रचार–प्रसार, मञ्च व्यवस्थापन, यातायात, अतिथि सत्कार तथा समग्र कार्यक्रम सञ्चालनका लागि विभिन्न उपसमितिहरू गठन गरिएको क्लबले जनाएको छ ।

क्लबका अध्यक्ष एक कुमार श्रेष्ठ ले युवाहरूलाई संगठित गर्दै खेलकुदमार्फत समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने लक्ष्य रहेको बताएका छन् । उनका अनुसार आगामी दिनमा पनि युवामुखी तथा सामाजिक कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.