गोर्खाको पालुङटार नगरपालिकामा जारी नगरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नं. ७ ले जितेको छ। अत्यन्त प्रतिस्पर्धात्मक फाइनल खेलमा वडा नं. ७ ले वडा नं. ४ लाई २–१ गोल अन्तरले पराजित गर्दै ट्रफी उचालेको हो।
खेलको सुरुआतदेखि नै आक्रामक प्रदर्शन गरेको वडा नं. ७ ले पहिलो हाफमै दुई गोल गर्दै बलियो अग्रता बनाएको थियो। टोलीका खेलाडी असिम श्रेष्ठ र अन्जित अधिकारीले गोल गर्दै टिमलाई २–० को अवस्थामा पुर्याएका थिए। दोस्रो हाफ सुरु भएको केही समयमै वडा नं. ४ का खेलाडीले एक गोल फर्काए पनि त्यसपछि थप गोल हुन नसक्दा खेल २–१ मै सीमित रह्यो।
फाइनलसम्म पुग्ने यात्रामा वडा नं. ४ ले उतारचढावपूर्ण प्रदर्शन गरेको थियो। पहिलो खेलमा वडा नं. ५ सँग पराजित भए पनि विपक्षी टोलीविरुद्ध परेको प्रोटेस्टका आधारमा विजयी घोषित हुँदै सेमिफाइनल पुगेको थियो। सेमिफाइनलमा वडा नं. १ सँगको खेल पेनाल्टी सुटआउटमार्फत जित्दै फाइनल यात्रा तय गरेको थियो।
उता, वडा नं. ७ ले भने पहिलो खेलमा वडा नं. २ लाई हराउँदै सेमिफाइनल पुगेको थियो। त्यसपछि वडा नं. ६ लाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो।
प्रतियोगितामा विजेता वडा नं. ७ ले नगद रु ६० हजार, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता वडा नं. ४ ले नगद रु ४० हजारसहित मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।
खेल समापनसँगै अचानक आएको हावाहुरी र वर्षाका बीच पनि पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको थियो। नगर प्रमुख विवश चिन्तनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख बन्दना पाण्डे, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मनोज नेपाली सिर्मल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन स्रोत शिक्षक सन्तोष पाण्डेले गर्नुभएको थियो।
पालुङटारमा आयोजित यस प्रतियोगिताले स्थानीय खेल प्रतिभालाई उजागर गर्नुका साथै खेलप्रेमी दर्शकमा उत्साह थपेको छ।
मेयरकपफुटबलप्रतियोगिता२०८३ सम्पन्न : उत्कृष्ट खेलाडीहरू सम्मानित
पालुङटारमा सम्पन्न मेयर कप फुटबल प्रतियोगिता २०८३ मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान गरिएको छ। प्रतियोगिताभर उत्कृष्ट खेल प्रस्तुत गर्दै विभिन्न विधामा खेलाडीहरू पुरस्कृत भएका हुन्।
🏆 उत्कृष्ट खेलाडी – सुदिप क्षेत्री (बामे), वडा नं. १
🏆 Player of the Tournament – निखिल सुनार, वडा नं. ४
🏆 Best Defender – नविन सुनार, वडा नं. ४
🏆 High Scorer – सन्जय श्रेष्ठ, वडा नं. ७
🏆 Best Goalkeeper – समिर श्रेष्ठ, वडा नं. ७