गोरखा, असार १४।
एम्नेस्टी इन्टरनेसनल नेपाल, समूह ७६ गोरखाको चौविसौँ साधारणसभा तथा अधिवेशन सभ्य, भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। अधिवेशनले पुनः कमलप्रसाद लामिछानेलाई समूहको संयोजकमा सर्वसम्मत रूपमा चयन गर्दै ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।
नवनिर्वाचित संयोजक कमलप्रसाद लामिछानेले आफूलाई पुनः नेतृत्व गर्ने अवसर प्रदान गरेकोमा सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गर्दै संस्थाको अन्तर्राष्ट्रिय मूल्य, मान्यता, विधान र नियमावलीअनुसार मानवअधिकारको संरक्षण तथा प्रवर्द्धनका अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाए। उनले कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई धन्यवाद दिँदै संस्थाका अग्रज एवं अनुभवी सदस्यहरूको अनुभव र मार्गदर्शन आगामी कार्यकालमा महत्वपूर्ण रहने विश्वास व्यक्त गरे।
अधिवेशनबाट सहसंयोजकमा मेनुका सुवेदी, सचिवमा एकदेव अधिकारी, कोषाध्यक्षमा अच्युत खत्री तथा सदस्यहरूमा नकुल थापा, सिर्जना ढकाल, बिमल श्रेष्ठ, सुनिल अर्याल र मुना दुवाडी चयन भएका छन्।
त्यसैगरी, समूहका सल्लाहकारमा डा. रविन्द्र कंडेल, रमेश अधिकारी र हरिराम अधिकारी चयन भएका छन्।
संयोजक कमल लामिछानेको अध्यक्षतामा सम्पन्न अधिवेशनको सञ्चालन सचिव एकदेव अधिकारीले गरेका थिए। कार्यक्रममा समूहका सल्लाहकार डा. रविन्द्र कंडेल, सदस्यहरू विमला अङ्गाईं, सुमन ज्ञवाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
नवनिर्वाचित कार्यसमितिको घोषणा सल्लाहकार डा. रविन्द्र कंडेलले गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथि शक्ति माध्यमिक विद्यालय, गोरखाका प्रधानाध्यापक राजेन्द्रप्रसाद अधिकारीले नवनिर्वाचित पदाधिकारीहरूलाई टीका लगाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
अधिवेशनले आगामी कार्यकालमा एम्नेस्टी इन्टरनेसनल नेपालको मूल्य र मान्यतालाई आत्मसात गर्दै मानवअधिकार संरक्षण, प्रवर्द्धन तथा जनचेतनामूलक अभियानलाई अझ प्रभावकारी र सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
