गोरखा, असार २२ । फोटो पत्रकारिताको व्यावसायिक विकास, क्षमता अभिवृद्धि तथा संस्थागत सुदृढीकरण गर्ने उद्देश्यसहित राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाल, गोरखा जिल्ला समितिले नयाँ नेतृत्व चयन गरेको छ। सोमबार गोरखा सदरमुकाममा सम्पन्न दोस्रो जिल्ला भेलाले कैलासबाबू श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नवगठित कार्यसमितिको उपाध्यक्षमा विकास मरहट्ठा, सचिवमा मेलिना बराम, कोषाध्यक्षमा अस्मिता सिम्खडा तथा सदस्यहरूमा दीपक श्रेष्ठ, सुदीप श्रेष्ठ र विराज त्रिपाठी चयन भएका छन्। सर्वसम्मत रूपमा नेतृत्व चयन भएसँगै जिल्लामा फोटो पत्रकारिताको क्षेत्रलाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
भेला राष्ट्रिय फोटो पत्रकार समूह नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा समूहका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ गोरखा शाखाका अध्यक्ष नरेन्द्र ढकाल, महासङ्घका पूर्व अध्यक्ष भिमलाल श्रेष्ठ लगायत जिल्लाका सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले पछिल्लो समय फोटो पत्रकारिताको महत्व निरन्तर बढ्दै गएको उल्लेख गर्दै समाचारको विश्वसनीयता, प्रभावकारिता र ऐतिहासिक दस्तावेजीकरणमा फोटो पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको धारणा राखेका थिए। उनीहरूले प्रविधिको तीव्र विकाससँगै फोटो पत्रकारहरूले आफ्नो सीप, दक्षता र व्यावसायिकतालाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।
नवनिर्वाचित अध्यक्ष कैलासबाबू श्रेष्ठले गोरखामा फोटो पत्रकारिताको पेशागत विकास, नयाँ पुस्ताका फोटो पत्रकारहरूको क्षमता अभिवृद्धि, तालिम तथा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन र फोटो पत्रकारहरूको हकहितका विषयमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जिल्लाका फोटो पत्रकारहरूलाई एकताबद्ध गर्दै संस्थालाई थप चलायमान बनाउने योजना रहेको बताउनुभयो।
भेलाले फोटो पत्रकारहरूबीच सहकार्य, अनुभव आदानप्रदान तथा पेशागत सुरक्षाका विषयमा समेत छलफल गरेको थियो। सहभागीहरूले फोटो पत्रकारितालाई केवल समाचारको सहायक माध्यम नभई समाजका महत्वपूर्ण घटना, परिवर्तन र इतिहासलाई दृश्य भाषामा अभिलेखीकरण गर्ने सशक्त माध्यमका रूपमा विकास गर्न आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
नयाँ कार्यसमिति चयनसँगै राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, गोरखा जिल्ला समितिले जिल्लामा फोटो पत्रकारिताको व्यावसायिक उन्नयन र संस्थागत सुदृढीकरणका लागि थप सक्रिय भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।
फोटो पत्रकारिताको संस्थागत सुदृढीकरणतर्फ गोरखामा नयाँ नेतृत्व