Gorkha Sansar

सुस्त व्यापारमा नयाँ ‘बूस्ट’: काठमाडौंमा सुरु हुँदै सार्कस्तरीय ‘साउथ एसिया ट्रेड फेयर २०२६’

काठमाडौं । आर्थिक मन्दी, लगानी अनिश्चितता र सुस्त व्यापारिक गतिविधिबीच निजी क्षेत्रलाई पुनः चलायमान बनाउने अपेक्षासहित राजधानीमा “साउथ एसिया ट्रेड फेयर २०२६” आयोजना हुने भएको छ । दक्षिण एसियाली मुलुकका व्यवसायी, उद्योगी र सेवा प्रदायकहरूलाई एउटै प्लेटफर्ममा ल्याउने लक्ष्यसहित आयोजना हुन लागेको मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

मे ७ देखि ११ तारिख (वैशाख २४ देखि २८) सम्म भृकुटीमण्डप प्रदर्शनी हल मा सञ्चालन हुने मेलामा सहभागी हुन सार्क राष्ट्रका प्रतिनिधिहरू काठमाडौं आइपुग्न थालेका छन् ।

व्यापारिक गतिविधि खस्किएको अवस्थामा आयोजना हुन लागेको यो मेलालाई निजी क्षेत्रले ‘व्यापार पुनर्जीवन अभियान’ का रूपमा समेत हेरेका छन् । लामो समयदेखि आर्थिक दबाबमा रहेका व्यवसायीहरू अहिले नयाँ बजार, नयाँ साझेदारी र लगानी सम्भावना खोज्दै मेलाप्रति उत्साहित देखिएका छन् ।

सार्क राष्ट्र एउटै व्यापारिक छानामुनि

Introduction Trade Shows Nepal Pvt. Ltd. द्वारा आयोजना तथा व्यवस्थापन गरिएको यस मेलामा बंगलादेशको उद्योग मन्त्रालय तथा एक्सपोर्ट प्रोमोसन ब्यूरो (EPB) को सहकार्य रहेको छ ।

भुटान सरकारको उद्योग, वाणिज्य तथा रोजगारी मन्त्रालयले पनि मेलालाई औपचारिक समर्थन गरेको जनाइएको छ ।

मेलामा नेपालसहित भारत, बंगलादेश, भुटान, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र माल्दिभ्सका प्रदर्शक तथा व्यवसायिक प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

१५० भन्दा बढी प्रदर्शक, एक लाख दर्शक अपेक्षा

मेला संयोजक Suman Maharjan का अनुसार मेलामा १५० भन्दा बढी स्टल रहनेछन् भने झण्डै एक लाख स्थानीय अवलोकनकर्ता तथा पाँच हजारभन्दा बढी अन्तर्राष्ट्रिय तथा व्यवसायिक प्रतिनिधिको सहभागिता अपेक्षा गरिएको छ ।

मेलामा कपडा, रेडिमेड सामग्री, सौन्दर्य सामग्री, हस्तकला, सूचना प्रविधि, घरेलु उपकरण, कृषि उत्पादन, सवारी साधन, फर्निचर लगायत विभिन्न क्षेत्रका उत्पादन तथा सेवाहरू प्रदर्शन गरिनेछन् ।

व्यापारसँगै नेटवर्किङ र मनोरञ्जन

व्यापार प्रवर्द्धनसँगै मेलामा ‘बिजनेस नेटवर्किङ’ लाई पनि प्राथमिकता दिइएको छ । क्रेता–बिक्रेता भेटघाट, व्यापारिक छलफल, फुड फेस्टिभल, रक्तदान कार्यक्रम तथा मनोरञ्जनात्मक गतिविधिहरू समेत सञ्चालन गरिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार मेलाको उद्देश्य केवल व्यापारिक कारोबार बढाउनु मात्र नभई दक्षिण एसियाली देशहरूबीच आर्थिक सहकार्य र बजार पहुँच विस्तार गर्नु पनि हो ।

नेपालमा नयाँ लगानी सम्भावना खोज्ने प्रयास

व्यापारिक समुदायका अनुसार यस्तो अन्तर्राष्ट्रिय स्तरको एक्स्पोले नेपालमा लगानी आकर्षित गर्न, स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न तथा निकासीयोग्य वस्तुको प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

पछिल्लो समय बजारमा देखिएको सुस्तताबीच यो मेला व्यवसायीहरूका लागि नयाँ आशा र अवसर बोकेको कार्यक्रमका रूपमा हेरिएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.