रोल्पा । रोल्पाको जलजला क्षेत्रमा भएको दर्दनाक जिप दुर्घटनाले रुकुम पूर्व र दाङका गाउँहरू शोकमा डुबेका छन् । दुर्घटनामा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म गरी २० जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
दुर्घटनामा सबैभन्दा बढी क्षति सिस्ने गाउँपालिका–५ का स्थानीयले व्यहोरेका छन् । एउटै गाउँका धेरै सदस्यको ज्यान गएपछि गाउँ नै स्तब्ध बनेको स्थानीयहरूले बताएका छन् ।
मृत्यु हुनेहरूमा गोर्ख बहादुर बुढाथोकी, तिलकुमारी बुढाथोकी, युवा बुढाथोकी, दिव्यन बुढाथोकी, सृजना बुढाथोकी, सुदीप बुढाथोकी, ओमकुमारी बुढाथोकी, मीना कामी, लक्ष्मी शाह, रुक्मिणा बस्नेत, टेकप्रशाद बस्नेत, दोरपती जिसी, तिला जिसी, जेनिस जिसी, जेनिसा जिसी, एलिना जिसी, संयोग जिसी, यमबहादुर जिसी, धनमाया विष्ट र सवारी चालक बेदु कामी रहेका छन् ।
दुर्घटनामा घाइते भएका समिर कामी भने जिपको छतबाट हाम फालेर ज्यान जोगाउन सफल भएको बताइएको छ । उपचारपछि उनी घर फर्किसकेका छन् ।
स्थानीयका अनुसार दुर्घटनाले एउटै परिवारका धेरै सदस्य गुमाएका कारण गाउँभरि रुवाबासी मच्चिएको छ । विशेषगरी बालबालिकाको मृत्युले सबैलाई भावुक बनाएको छ ।
घटनापछि दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । उकालो–ओरालो र जोखिमयुक्त ग्रामीण सडकमा अत्यधिक यात्रु बोकेर सवारी सञ्चालन गरिने प्रवृत्तिप्रति पनि प्रश्न उठ्न थालेको छ ।
दुर्घटनाले फेरि एकपटक ग्रामीण सडकको अवस्था, सवारी सुरक्षाको अभाव र जोखिमपूर्ण यात्रामाथि गम्भीर बहस सुरु गराएको छ ।
रोल्पाको जलजला दुर्घटनाले शोकमा रुकुम–दाङ: एउटै गाउँका धेरै परिवार सखाप