तनहुँका सनम गुरुङ बने च्याम्पियन, पर्यटन प्रवर्द्धनमा खेलकुदको सशक्त सन्देश
गोरखा । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र खेलकुदलाई एकै सूत्रमा बाँध्दै आयोजित “मनकामना–गोरखा दरबार म्याराथन २०८३” मा तनहुँका सनम गुरूङ विजेता बनेका छन्।
जिल्ला खेलकुद बिकास समिति गाेरखा को आयोजना तथा गण्डकी प्रदेश खेलकुद परिषद को आर्थिक सहयोगमा सम्पन्न प्रतियोगिताले गोरखाको पर्यटन र खेल संस्कृतिलाई नयाँ उचाइ दिएको आयोजकले जनाएको छ।
प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर देखि ऐतिहासिक गाेरखा दरवार सम्मको ४२.१९५ किलोमिटर कठिन दूरी दुई घण्टा ५९ मिनेटमा पूरा गर्दै सनम गुरुङले उपाधिसहित रु ५५ हजार नगद पुरस्कार हात पारे। उकालो–ओरालो, ग्रामीण बस्ती र चुनौतीपूर्ण भूगोल पार गर्दै उनले उत्कृष्ट प्रदर्शन गरेका हुन्।
पहाड, पसिना र गौरवको दौड
मनकामना मन्दिरबाट सुरु भएको दौड ताक्लुङ, तीनमाने, घैरुङ, नाम्जुङ, काउलेभंगार, बुंकोट, ढुङ्गागाढे, आहाले भञ्ज्याङ, बराह मन्दिर हुँदै गोरखा दरबार परिसरमा पुगेर टुङ्गिएको थियो। प्रतियोगिताले गोरखाको धार्मिक तथा सांस्कृतिक सम्पदालाई खेलकुदसँग जोड्ने प्रयास गरेको देखिएको छ।
पुरुषतर्फ सफल लामा दोस्रो तथा चेतनाथ चालिसे तेस्रो बने। उनीहरूले क्रमशः रु ३० हजार र रु २० हजार पुरस्कार प्राप्त गरे। पर्वतका सन्तोष परियार र गोरखाका अन्जन पौडेल सान्त्वना स्थानमा रहे।
महिलातर्फ सपना गुरुङको उत्कृष्ट प्रदर्शन
महिलातर्फ सपना गुरूङ प्रथम बन्दै रु ५५ हजार नगद पुरस्कार जितिन्। उनले ४२.१९५ किलोमिटर दूरी चार घण्टा ५१ मिनेटमा पूरा गरेकी थिइन्।
तनहुँकी बिबिका लामा दोस्रो, नवलपुरकी डोलमाया महतो तेस्रो तथा सूर्यकुमारी महतो सान्त्वना स्थानमा रहिन्। विजेताहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
छोटो दूरीका दौडमा पनि उत्साह
मनकामनादेखि तीनमानेसम्मको १० किलोमिटर दौडमा महिलातर्फ प्रकृति लुङ्गेली प्रथम, साधना परियार दोस्रो र नम्रता गुरुङ तेस्रो बनिन्। पुरुषतर्फ बादल कार्की प्रथम, आदित्य जेसी दोस्रो तथा सबिन सापकोटा तेस्रो भए।
त्यसैगरी जुम्ली चौतारासम्मको ५ किलोमिटर दौडमा पुरुषतर्फ सरोज गिरी प्रथम बने भने महिलातर्फ मनकुमारी लामा विजेता बनिन्।
“खेलमार्फत पर्यटन प्रवर्द्धन”
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रेम तामाङ ले खेलकुदमार्फत जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।
उहाँका अनुसार प्रतियोगितामा सहभागी खेलाडीहरूको यातायात, खानपान र बसोबासको व्यवस्था आयोजकले नै गरेको थियो।
गण्डकी प्रदेशका ११ जिल्लाबाट खेलाडीहरूको सहभागिता रहेको उक्त प्रतियोगिताले गोरखालाई “स्पोर्ट्स टुरिजम” को नयाँ गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ।