काठमाडौं । सीमावर्ती क्षेत्रका नागरिकलाई अनावश्यक रूपमा दुःख दिइएको भन्दै नेपाली कांग्रेसका नेता मनिष कुमार मिश्रले बालेन सरकारप्रति आपत्ति जनाएका छन्।
नेता मिश्रले बालेन सरकार निर्माणमा महत्वपूर्ण भूमिका खेलेको मधेश क्षेत्रलाई उपेक्षा गरिएको आरोप लगाउँदै सीमावर्ती किसानहरूले पाउनुपर्ने सहुलियतलाई तस्करीको रूपमा व्याख्या गर्न खोजिएको बताए।
उनका अनुसार, भारतबाट एक रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने व्यवस्था लागू गरिनुका कारण सीमावर्ती क्षेत्रका सर्वसाधारण थप समस्यामा परेका छन्।
उनले भने,
“सदियौंदेखि सीमावर्ती क्षेत्रका जनसमुदायले दैनिक जीवनयापनका लागि सामान्य रूपमा सामान ल्याउने–लैजाने गर्दै आएका थिए। भारतीय नम्बर प्लेटका सवारी साधन नेपाली राजमार्गसम्म र नेपाली नम्बर प्लेटका सवारी भारतीय रेल प्लेटफर्मसम्म सहज रूपमा आवागमन गर्न पाउने व्यवस्था थियो। यसको आधार नेपाल–भारतबीचको विशिष्ट सांस्कृतिक सम्बन्ध हो।”
मिश्रले सीमावर्ती क्षेत्रका हजारौं परिवारबीच दुवै देशका गाउँहरूमा सामाजिक सम्बन्ध स्थापित रहेको र नेपाल–भारत सम्बन्ध ‘बेटी–रोटी’को रूपमा रहेको उल्लेख गरे।
उनले सानो रकमको सामानमा समेत भन्सार लगाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै, चुनावताका आफूलाई प्रभावशाली रूपमा प्रस्तुत गर्ने नेताहरू अहिले मौन बसेको भन्दै आलोचना गरे।
उनले प्रश्न उठाए,
“मधेशबाट निर्वाचित जनप्रतिनिधिहरू मधेशमा केही दिनदेखि भइरहेको अनावश्यक समस्यालाई किन टुलुटुलु हेरिरहेका छन्?”
मिश्रले मधेशी समुदायले बिना हिंसा र बिना हतियार दशगजाको रक्षा गर्दै आएको दाबी गर्दै यस्तो परम्परा आगामी दिनमा पनि जारी रहने बताए।
नेपाल–भारतबीचको विशिष्ट सम्बन्ध बिगार्ने प्रयास विगतमा पनि असफल भएको उल्लेख गर्दै उनले यस्ता प्रयास गर्नेहरू अन्ततः आफैं समाप्त हुने चेतावनी समेत दिए।