दोलखा
बागमती प्रदेश सरकारको पहलमा निर्माण सम्पन्न मुद्रा सङ्ग्रहालय दोलखा मा औपचारिक रूपमा हस्तान्तरण गरिएको छ, जसले पर्यटन प्रवर्द्धन र सांस्कृतिक संरक्षणमा नयाँ अध्याय सुरु गरेको छ।
भीमेश्वर नगरपालिका–२ मा अवस्थित उक्त सङ्ग्रहालय स्थानीय तहलाई हस्तान्तरण गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ ले प्रदेश सरकारले निर्माण गरेका संरचनाहरूलाई अब प्रयोगमा ल्याउनेतर्फ विशेष ध्यान दिएको बताए। उनले यो सङ्ग्रहालय सञ्चालनमा आएपछि नेपालमै मुद्रा अध्ययन तथा अवलोकनका लागि महत्वपूर्ण गन्तव्य बन्ने विश्वास व्यक्त गरे।
मन्त्रालयका सचिव दीपेन्द्र सुवेदी ले पनि सङ्ग्रहालयले भविष्यमा पर्यटक र अनुसन्धानकर्ताका लागि अध्ययन केन्द्रको रूपमा विकास हुने बताए। कार्यक्रममा आयोजना इकाई कार्यालय काठमाडौँका प्रमुख उत्तम चापागाईं को पनि विशेष उपस्थिति रहेको थियो।
उक्त सङ्ग्रहालय भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धर, उपप्रमुख कमला बस्नेत तथा वडा नं. २ का अध्यक्ष स्टालिन श्रेष्ठ लाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। नगर प्रमुख मानन्धरले यसको प्रभावकारी सञ्चालनमार्फत पर्यटन विकासमा टेवा पुर्याइने बताए।
कार्यक्रममा वक्ताहरूले नेपालका पुराना मुद्रा, ऐतिहासिक सिक्का र आर्थिक इतिहास संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको जानकारी दिए। यसले विद्यार्थी, अनुसन्धानकर्ता तथा पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
ऐतिहासिक रूपमा पहिलो चाँदीको सिक्का निकालिएको स्थानको रूपमा चिनिने दोलखामा सङ्ग्रहालय स्थापना हुनु यसको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने महत्वपूर्ण कदम मानिएको छ।
दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन र इतिहास संरक्षणमा नयाँ उत्साह