व्यवसायी अधिकारीद्वारा गुरुकुलका विद्यार्थीहरूलाई खाना व्यवस्थापनका लागि रु ५० हजार सहयोग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीस्थित चुनिघाटमा रहेको ओंकार योग आयुर्वेद गुरुकुल मा अध्ययनरत शिक्षार्थीहरूका लागि डुम्रेका व्यवसायी गोपालप्रसाद अधिकारीद्वारा खाना व्यवस्थापनको लागि रु ५० हजार सहयोग गर्ने घोषणा गर्नुभएको छ।

फागुन ७ गतेका दिन विज्ञान र प्रविधिको युगमा पूर्वीय दर्शन र शिक्षाको महत्व विषयक परामर्श गोष्ठी मा उपस्थित हुँदा उहाँले सो घोषणा गर्नुभएको हो। अधिकारी तनहुको डुम्रे बजारमा विगत लामो समयदेखि विभिन्न व्यवसाय गर्दै आइरहनुभएको समाजसेवी व्यक्तित्व समेत हुनुहुन्छ।
ओंकार योग आयुर्वेद गुरुकुल का गुठी संयोजक स्वामी गोविन्दप्रपन्नाचार्य रेग्मीको अध्यक्षता एवं गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष इन्जिनियर दीपक बाबू कण्डेलको रोहवरमा सम्पन्न उक्त कार्यक्रम मा गोर्खा जिल्लाका, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले विशेष रुपमा सहजीकरण गर्नुभएको थियो। विज्ञान र प्रविधिको बढ्दो परिवेशमा संस्कृत शिक्षाको महत्व बढ्दै गएको महसुस गरी यो कार्यक्रमको आयोजना गरिएको बताइएको छ !
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गण्डकी प्रदेश सभाका सदस्य एवं प्रमुख प्रतिपक्षी दलका नेता हरि चुमानले अबको गुरुकुलीय शिक्षा केवल कर्मकाण्ड मा मात्रै सिमित नभई, पूर्वीय दर्शन, योग र आयुर्वेदको गहिरो अध्ययन अनुसन्धान र खोजमा पनि अग्रसर हुनु पर्ने बताउनुभयो, यसै क्रममा आदिप्रयाग देवघाटधाममा यसको केन्द्र निर्माण गर्नुपर्ने र त्यसका लागि पुस्तकालय निर्माण कार्य अगाडि बढाइएको पनि बताउनुभयो। साथै यस ओंकार युग आयुर्वेद गुरुकुललाई पनि व्यवस्थित रुपमा अगाडि बढाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो! पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तन ले उक्त गोष्ठीमा बोल्दै गुरुकुलको दीर्घकालीन विकासमा नगरपालिकाबाट सहयोगी हात सधैंभरि अघि बढाउने प्रतिबद्धता गर्नुभएको थियो। त्यस्तैगरी तनहूँका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख उद्धवराज जमर कट्टेलले यस संस्थालाई व्यवस्थित रुपमा सञ्चालन गर्न आँफुले यथासक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै गुरुकुलको उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिनुभएको थियो।
डाक्टर रविन्द्र कडेलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने गोर्खा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर राणा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर राणा उपप्रमुख लिला परियार शिक्षा विकास तथा समन्वय इकाई गोर्खाका प्रमुख रमेश प्रसाद मैनाली लगायतकाले आफ्ना महत्वपूर्ण भनाइहरु राख्नुभएको थियो। त्यस्तैगरी सशस्त्र प्रहरी बल बाट शिक्षा लिन आएका शिक्षार्थीहरूको तर्फबाट वासुदेव पन्त ले आफ्ना अनुभव र गुरुकुलमा आएर सिकेका कुराहरूको बारेमा जानकारी दिनुभएको थियो सोही क्रममा पूर्व शिक्षक समेत रहनुभएका पूर्वीय दर्शनका ज्ञाता टिकाराम तिम्सिना आँसु कवि कृष्ण शरण उपाध्याय ले पूर्वीय दर्शन को महत्व र संस्कृत शिक्षाको आवश्यकता का विषयमा आफ्ना महत्वपूर्ण भनाइ हरू राख्नुभएको थियो।
पूर्वी दर्शन र संस्कृत शिक्षाको महत्त्व जनस्तरसम्म पुर्याउनको लागि आगामी दिनमा गोर्खा तनहुँ र लमजुङ्का सबै विद्यालयहरूमा विद्यार्थीहरूका माझमा वक्तृत्वकला कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको र सोको लागि ओमकार योग आयुर्वेद गुरुकुलले सहजीकरण गर्ने समेत बताइएको छ।
साथै कार्यक्रममा समाजसेवी एवं व्यवसायी गोपाल प्रसाद अधिकारी सशस्त्र प्रहरी बल भानुका प्रमुख अशोक कुमार लम्सल जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख बासुदेव पाठक जिल्ला प्रहरी कार्यालय गोरखाका भास्कर बस्नेत गोरखा जिल्लाका जिल्ला न्यायाधीश शिव बहादुर राणाभाट, पत्रकार महासंघ तनहूँका अध्यक्ष एवं रेडियो वन्दिपुरका स्टेसन म्यानेजर धनपति अधिकारी लगायतका विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.