बेलचौतारा, साउन १५ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पस परिसरलाई हराभरा र फलफूलयुक्त बनाउने उद्देश्यले शुक्रबार १०० वटा फलफूलका बिरुवा रोपिएका छन्। नेपाल वन पैदावार उद्योग व्यवसायी समिति, तनहुँको आयोजनामा सम्पन्न वृक्षारोपण कार्यक्रममा वातावरण संरक्षणसँगै बिरुवाको दीर्घकालीन संरक्षणलाई मुख्य प्राथमिकतामा राखिएको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले वृक्षारोपण केवल औपचारिक कार्यक्रम नभई परिणाममुखी अभियान बन्नुपर्नेमा जोड दिनुभयो। विगतमा रोपिएका धेरै बिरुवा संरक्षणको अभावमा नष्ट भएको उल्लेख गर्दै उहाँले “बिरुवा रोप्नु मात्रै उपलब्धि होइन, त्यसलाई हुर्काएर हरियालीमा रूपान्तरण गर्नु नै वास्तविक सफलता हो” भन्नुभयो।
नगर प्रमुख पण्डितले नगरपालिकाले भानुभक्त बहुमुखी क्याम्पसको शैक्षिक विकासलाई प्राथमिकतामा राख्दै चालु आर्थिक वर्षमा फर्निचर व्यवस्थापनका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। साथै, विद्यार्थीको सहज आवतजावतका लागि आगामी दिनमा क्याम्पस बस सञ्चालनमा समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले वृक्षारोपण अभियानलाई उद्देश्यकेन्द्रित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै वन कार्यालयले स्थानीय तह, निजी क्षेत्र र विभिन्न संस्थासँगको सहकार्यमा जिल्लाभर हरियाली विस्तारको अभियानलाई निरन्तरता दिइरहेको बताउनुभयो।
उहाँका अनुसार तनहुँमा हालसम्म करिब १८ हजार हेक्टर क्षेत्रफलमा वृक्षारोपण सम्पन्न भइसकेको छ भने जिल्ला वन कार्यालयमार्फत ३८ हजारभन्दा बढी बिरुवा वितरण गरिएको छ।
कार्यक्रममा भानुभक्त बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दुर्गाकुमार श्रेष्ठ, उपाध्यक्ष तथा वडा नं. ५ का वडाध्यक्ष दीर्घबहादुर थापालगायतले शैक्षिक संस्थामा वृक्षारोपणले वातावरणीय सन्तुलन कायम गर्नुका साथै विद्यार्थीमा प्रकृतिप्रतिको जिम्मेवारीबोध विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।
नेपाल वन पैदावार उद्योग व्यवसायी समिति, तनहुँका अध्यक्ष दीपबहादुर श्रेष्ठका अनुसार क्याम्पस परिसरमा आँप र लिचीका गरी १०० वटा फलफूलका बिरुवा रोपिएका छन्। आगामी दिनमा ती बिरुवाको नियमित संरक्षण र हेरचाहमा पनि विशेष ध्यान दिइने उहाँले बताउनुभयो।
समितिले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र शैक्षिक संस्थालाई फलफूलयुक्त हरित क्षेत्रका रूपमा विकास गर्ने दीर्घकालीन उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरेको जनाएको छ।