Skip to main content

Gorkha Sansar

रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा च्याङ्लीमा मैनबत्ती प्रज्वलनसहित श्रद्धाञ्जली सभा

गोरखा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकको सम्झनामा गोरखाको पालुङटार नगरपालिका–७, च्याङ्ली बिरुवाटारमा  १८ गते साँझ मैनबत्ती प्रज्वलनसहित श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

च्याङ्ली सामुदायिक सिकाइ केन्द्रको आयोजनामा बिरुवाटार चोकमा आयोजित कार्यक्रममा बाढीमा परी ज्यान गुमाएका सम्पूर्ण व्यक्तिहरूको सम्झना गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूले मैनबत्ती प्रज्वलन गर्दै प्राकृतिक विपत्तिमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धा व्यक्त गरेका थिए । साथै, विपद्को पीडामा रहेका परिवारजनप्रति ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिइएको थियो ।

श्रद्धाञ्जली सभाको सहजीकरण च्याङ्ली सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष डा. रविन्द्र कंडेलले गर्नुभएको थियो ।

कार्यक्रममा च्याङली स्वास्थ्य चाैकीका इन्चार्ज भरतराज पाण्डे, पालुङटार नगरपालिका–७ का वडा सदस्य प्रेमबहादुर कुमाल र खोपबहादुर थापा, जीवनज्योति माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थीहरू, स्थानीय बासिन्दा, स्थानीय प्रशासन तथा विभिन्न संघसंस्थासँग आबद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो ।

दुःखमा च्याङ्लीको ऐक्यबद्धता

कार्यक्रमले रसुवामा भएको मानवीय क्षतिप्रति च्याङ्ली समुदायको सामूहिक संवेदना र ऐक्यबद्धता प्रस्तुत गरेको आयोजकले जनाएको छ । विपद् कुनै भूगोलको मात्र समस्या नभई साझा मानवीय पीडा भएकाले दुःखमा परेका परिवारको साथमा उभिनुपर्ने सन्देशसमेत कार्यक्रमले दिएको छ ।

च्याङ्ली सामुदायिक सिकाइ केन्द्रले यसअघि पनि रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० हजार रुपैयाँ सहयोग गरिसकेको छ ।

मैनबत्तीको उज्यालोसँगै च्याङ्लीले दिएको सन्देश स्पष्ट थियो—विपत्तिमा पीडितको साथमा उभिनु नै सच्चा मानवता हो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.