Skip to main content

Gorkha Sansar

गोकर्णेश्वरवासीलाई नेपाल मेडिकल कलेजमा १ लाखसम्मको उपचार सुविधा

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नागरिकले अब नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सुविधा पाउने भएका छन्। नगरवासीलाई सहज, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य उपचारसम्बन्धी सम्झौता भएको हो।

बिहीबार आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौली र नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

नगरपालिकाले ८५ प्रतिशत, कलेजले १५ प्रतिशत छुट दिने

सम्झौताअनुसार नेपाल सरकारबाट उपलब्ध स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, विपन्न नागरिक, औषधि उपचार कोषलगायतका सरकारी स्वास्थ्य सुविधाको पूर्ण उपयोग गरिसकेपछि मात्र नगरपालिकाको उपचार सुविधा लागू हुनेछ।

नगरवासीको उपचार खर्चमध्ये नगरपालिकाले ८५ प्रतिशत व्यहोर्नेछ भने नेपाल मेडिकल कलेजले सामाजिक उत्तरदायित्वअन्तर्गत थप १५ प्रतिशत छुट उपलब्ध गराउनेछ। यसरी नगरवासीले अधिकतम १ लाख रुपैयाँसम्मको उपचार सुविधा प्राप्त गर्न सक्नेछन्।

यो सुविधा लिन गोकर्णेश्वर नगरपालिकामा स्थायी बसोबास भएका नागरिकले नगरपालिकाबाट सिफारिस लिनुपर्नेछ। उपचारका लागि आउँदा नागरिकता तथा मतदाता परिचयपत्रमार्फत आफ्नो पहिचान खुलाउनुपर्ने व्यवस्था गरिएको छ।

यद्यपि उपचारका क्रममा आवश्यक पर्ने औषधिको खर्च भने बिरामी स्वयंले व्यहोर्नुपर्नेछ। रगत आवश्यक परेमा नगरपालिकाले प्रतिपिन्ट १ हजार १५० रुपैयाँसम्मको प्रयोगशाला परीक्षण शुल्क शोधभर्ना गर्ने व्यवस्था गरेको छ।

ओपीडी दर्तादेखि क्याथ ल्याबसम्म छुट

सम्झौताअन्तर्गत नेपाल मेडिकल कलेजले गोकर्णेश्वर नगरवासीका लागि ओपीडी दर्ता निःशुल्क गर्नेछ। अस्पतालबाट प्रदान हुने विभिन्न स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।

छुट उपलब्ध हुने सेवामा प्रयोगशाला परीक्षण, जनरल बेड, एक्स–रे, यूएसजी, ईसीजी, इन्डोस्कोपी तथा कोलोनोस्कोपी, फिजियोथेरापी, डायग्नोस्टिक प्रोसेडर, दन्त सेवा, क्याथ ल्याब तथा इम्प्लान्टबाहेकका शल्यक्रियालगायत रहेका छन्।

‘आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्दैन’

सम्झौता कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले आर्थिक अभावका कारण नगरवासी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा विशेष पहल गरिरहेको बताए।

“गोकर्णेश्वरवासी कोही पनि आर्थिक अभावमा उपचार नपाएर मर्नु पर्दैन। हामीले १३ वटा अस्पतालसँग सम्झौता गरेर १ लाख रुपैयाँसम्मको उपचार खर्च नगरपालिकाले उपलब्ध गराउने व्यवस्था गरेका छौं,” नगर प्रमुख रिसालले भने।

उनले नेपाल मेडिकल कलेज गोकर्णेश्वर नगरपालिकाको गौरवको रूपमा रहेको उल्लेख गर्दै कलेजका कारण नगरवासीले सहज रूपमा स्वास्थ्य सेवा पाउनुका साथै स्वास्थ्य सुरक्षा र सचेतनामा समेत सुधार आएको बताए।

अन्य स्थानीय तहका लागि पनि उदाहरणीय योजना

नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले गोकर्णेश्वर नगरपालिकाले अघि सारेको स्वास्थ्यसम्बन्धी योजना अन्य स्थानीय तहका लागि समेत उदाहरणीय रहेको बताए।

“यो स्किम निकै सराहनीय छ। यसको सिको अन्य नगरपालिकाहरूले पनि गर्नुपर्छ। नेपाल मेडिकल कलेज नगरवासीको सेवाका लागि हरदम तत्पर छ,” उनले भने।

अन्सारीले नेपालमा सञ्चालन भइरहेको स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारितामाथि समेत प्रश्न उठाउँदै नागरिकको आर्थिक अवस्था र आवश्यकताका आधारमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखे।

नेपाल मेडिकल कलेजका पूर्वअध्यक्ष डा. भोला रिजालले आर्थिक रूपमा कमजोर नागरिकलाई उपचारमा राहत पुर्‍याउने उद्देश्यले सम्झौता गरिएको बताए। उनले नगरपालिकाले एक लाख रुपैयाँसम्मको उपचार खर्च व्यहोर्दा विपन्न नागरिकलाई ठूलो राहत पुग्ने बताए।

त्यस्तै, सञ्चालक समिति सदस्य डा. आनन्दप्रसाद श्रेष्ठ र सञ्चालक सदस्य शाहनवाज अन्सारीले स्थानीय सरकारसँगको सहकार्यले नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा लिन थप सहज हुने विश्वास व्यक्त गरे।

विगतदेखि नै सहकार्य

नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले कलेजले गोकर्णेश्वर नगरपालिकासँग विगत तीन–चार वर्षदेखि नगरवासीलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहकार्य गर्दै आएको बताइन्।

यस वर्ष सम्झौता गर्न केही ढिलाइ भए पनि नगरवासीलाई १ लाख रुपैयाँसम्मको उपचार सुविधा उपलब्ध गराउने व्यवस्था महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ।

“तीन–चार वर्षदेखि हामीले नगरपालिकासँग सहकार्य गरिरहेका छौं। यो वर्ष केही ढिलो भएको मात्र हो। नगरवासीलाई यस्तो सुविधा उपलब्ध गराउनु निकै ठूलो उपलब्धि हो। यसलाई निरन्तर अगाडि बढाउँदै लैजान्छौं,” उनले भनिन्।

उनले नगरवासीको स्वास्थ्योपचारमा कलेजले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरिन्।

गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामाले नेपाल मेडिकल कलेज नगरपालिकाको ‘गहना’ भएको बताउँदै नगरवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै दक्ष चिकित्सक उत्पादनमा कलेजले पुर्‍याएको योगदानको प्रशंसा गरिन्।

नगरपालिका र नेपाल मेडिकल कलेजबीच भएको यस सहकार्यबाट विशेषगरी आर्थिक रूपमा कमजोर नगरवासीको स्वास्थ्य सेवामा पहुँच बढ्ने र गुणस्तरीय उपचार लिन सहज हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा कलेजकी निर्देशक डा. नुरसत जहाँ अन्सारी, निर्देशक डा. राजेश किशोर श्रेष्ठ, अस्पताल निर्देशक प्रा.डा. निलमणि उपाध्यायलगायत कलेजका फ्याकल्टी सदस्य तथा नगरवासी सेवाग्राहीहरूको उपस्थिति रहेको थियो।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.