गाेरखाका उत्कृष्ट वनहरु पुरस्कृत भएका छन् ।
गोरखा नगरपालिका वडा नं १० टक्सारको कुवाडी सामुदायिक वन उपभोक्ता समूह जिल्लाकै उत्कृष्ट बनेको छ । बुधबार डिभिजन वन कार्यालय गोरखाले कार्य मूल्याङ्कनको आधारमा कुवाडी सामुदायिक वनलाई आर्थिक वर्ष २०८२/८३ को उत्कृष्ट सामुदायिक वन घोषणा गरेको हो ।
सहिदलखन गाउँपालिका वडा नं १ को रामलक्ष्मण सामुदायिक वन उपभोक्ता समिति जिल्लाको दोस्रो उत्कृष्ट सामुदायिक वन उपभोक्ता समिति घोषणा भएको छ । यस्तै, पालुङटारको भुमिस्थान सामुदायिक वन उपभोक्ता समिति तेस्रो र धार्चे गाउँपालिकका वडा नं ७ को तरम्चा सामुदायिक वन उपभोक्ता समिति जिल्लाको चौँथो उत्कृष्ट सामुदायिक वन घोषणा भएको हो ।
वन कार्यालयले उत्कृष्ट वन समूहहरुलाई एक कार्यक्रमका बीच नगद पुरस्कारसहित सम्मान गरेको छ । प्रथम, दोस्रो, तेस्रो र चौँथो हुने वन समूहहरुलाई क्रमश रु छहजार, चारहजार, तीनहजार र दुईहजार नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरिएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।
कबुलियती वनतर्फ गण्डकी गाउँपालिका–२ को विच्छेगौहा कबुलियत वन उपभोक्ता समूह प्रथम, शहिदलखन गाउँपालिका–३ को कलेरी कबुलियत वन उपभोक्ता समूह दोस्रो र अजिरकोट गाउँपालिका–४ को गोगनपानी पंधेगटोल कबुलियत वन उपभोक्ता समूह तेस्रो उत्कृष्ट कबुलियत वन उपभोक्ता समूह घोषणा भएका हुन् । उनीहरुले पनि क्रमश रु छहजार, चारहजार र तीनहजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेको उल्लेख छ ।
डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यको अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगरको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमकाबीच उनीहरुलाई पुरस्कृत गरिएको उल्लेख छ ।