काठमाडौं / मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनदेखि देखिएको तनावपूर्ण अवस्थालाई सहज बनाउन गृहमन्त्री सुधन गुरुङ शनिबार जनकपुर पुगेका छन् । उनले धनुषाको जनकपुरमा आन्दोलनरत पक्षका प्रतिनिधिहरूसँग प्रत्यक्ष वार्ता सुरु गर्दै समस्याको संवादमार्फत समाधान खोज्ने प्रयास अघि बढाएका हुन् ।
गत साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा दुई युवकको मृत्यु भएपछि तराईका विभिन्न जिल्लामा आन्दोलन र प्रदर्शन चर्किएको थियो । त्यसपछि सिरहामा पनि दुई समूहबीचको विवाद उग्र बन्दा स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर थप एक युवकको मृत्यु भएको थियो ।
लगातार बढ्दो तनाव र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै गृहमन्त्री गुरुङले प्रभावित जिल्लाको स्थलगत अनुगमनका साथै आन्दोलनकारीसँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन् । वार्तापछि केही स्थानमा अवस्था क्रमिक रूपमा सामान्य बन्दै गएको सरकारी अधिकारीहरूको भनाइ छ ।
स्थिति सुधारसँगै प्रशासनले केही जिल्लामा लगाइएको कर्फ्यु हटाइसकेको भए पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै निषेधाज्ञा भने पूर्ण रूपमा फुकुवा गरिएको छैन । सुरक्षा निकायहरू अझै उच्च सतर्कतामा परिचालित छन् ।
सरकारले वार्ता, संवाद र सामाजिक सद्भावलाई प्राथमिकता दिँदै मधेशमा देखिएको तनावलाई शान्तिपूर्ण ढंगबाट समाधान गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।