Gorkha Sansar

भानुभक्त र घाँसीको सालिक तोड्ने पक्राउ : साहित्यिक सम्पदामाथिको प्रहार गर्ने युवक प्रहरी फन्दामा

 

लमजुङ, श्रावण ८। नेपाली भाषा–साहित्यका आदिकवि भानुभक्त आचार्य र श्रम तथा प्रेरणाका प्रतीक घाँसी खड्कबहादुर ठाडा मगरको सालिक तोडफोड गर्ने आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सांस्कृतिक तथा साहित्यिक सम्पदामाथि भएको यो घटनाले स्थानीयवासीबीच आक्रोश र चिन्ता बढाएको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार मध्यनेपाल नगरपालिका–४, दुईपिप्लेस्थित भानु–घाँसी संवाद पार्कमा रहेका दुवै सालिक साउन ७ गते राति करिब १०ः३० बजे अज्ञात व्यक्तिले तोडफोड गरी क्षति पुर्‍याएका थिए। साहित्य, संस्कृति र सामाजिक चेतनाको प्रतीक मानिने यी सालिकमाथिको आक्रमणपछि प्रहरीले तत्काल अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा तनहुँको व्यास नगरपालिका–७ स्थायी घर भएका ३४ वर्षीय रोशन कुँवरलाई घटनामा संलग्न रहेको आरोपमा साउन ८ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय लमजुङमा ल्याएको हो।

प्रहरीले कुँवरविरुद्ध आपराधिक उपद्रव मुद्दा दर्ता गरी लमजुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाको थप अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार घटनाको कारण, उद्देश्य तथा सम्भावित अन्य संलग्न व्यक्तिबारे समेत अनुसन्धान जारी रहेको छ। आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

भानुभक्त आचार्य नेपाली भाषा–साहित्यका आदिकवि हुन् भने घाँसी खड्कबहादुर ठाडा मगर श्रम, प्रेरणा र सिर्जनशीलताको प्रतीकका रूपमा चिनिन्छन्। उनीहरूका सालिकमाथि भएको तोडफोडलाई स्थानीयले सांस्कृतिक सम्पदामाथिको आक्रमणका रूपमा व्याख्या गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.