Gorkha Sansar

आँबुखैरेनी गाउँपालिकाद्वारा वार्षिक प्रगति समीक्षा सम्पन्न, सेवा प्रवाह थप प्रभावकारी बनाउने प्रतिबद्धता

आँबुखैरेनी,

आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन भएका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न योजना–कार्यक्रमहरूको समग्र समीक्षा गर्दै अन्तिम त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दुर्गा अर्याल, जनप्रतिनिधिहरू, प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिका तथा वडा कार्यालयका कर्मचारी, आँबुखैरेनी अस्पतालका प्रतिनिधि र पालिका मातहतका विभिन्न कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो।

समीक्षा कार्यक्रममा शाखा प्रमुख तथा वडा सचिवहरूले आर्थिक वर्ष २०८२/०८३ मा आ–आफ्ना शाखा र वडा कार्यालयमार्फत सम्पादन भएका सेवा प्रवाह, पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक तथा प्रशासनिक गतिविधि, योजना तथा कार्यक्रमहरूको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रस्तुत प्रतिवेदनमाथि भएको छलफलमा आर्थिक वर्षभरि सम्पन्न भएका कार्यहरूको उपलब्धि, कार्यान्वयनका क्रममा देखिएका समस्या तथा चुनौती, स्रोत–साधनको प्रभावकारी परिचालन, सेवाप्रवाहलाई थप छिटो, सहज र पारदर्शी बनाउने उपाय तथा विकास निर्माणका कार्यलाई गुणस्तरीय र दिगो बनाउने विषयमा विस्तृत समीक्षा गरिएको गाउँपालिकाले जनाएको छ।

कार्यक्रममा आगामी आर्थिक वर्षमा योजना कार्यान्वयनलाई अझ प्रभावकारी, जवाफदेही र परिणाममुखी बनाउँदै नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। साथै विकास आयोजनाहरूको नियमित अनुगमन, समयमै सम्पन्न गर्ने कार्यशैली तथा सार्वजनिक स्रोत–साधनको पारदर्शी उपयोगमा विशेष जोड दिइएको थियो।

गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन तथा सम्पन्न भएका योजना, कार्यक्रम र बजेट कार्यान्वयनको शाखागत तथा वडागत विवरण क्रमशः सार्वजनिक गरिने जानकारी दिएको छ। साथै विकास र सुशासनलाई थप प्रभावकारी बनाउन नागरिक, सरोकारवाला निकाय तथा सबै पक्षबाट प्राप्त हुने रचनात्मक सुझाव, सल्लाह र सहयोगलाई उच्च प्राथमिकताका साथ ग्रहण गरिने जनाएको छ।

वार्षिक समीक्षा कार्यक्रमले विगत वर्षका उपलब्धि र कमजोरीहरूको मूल्याङ्कन गर्दै आगामी दिनमा अझ प्रभावकारी, गुणस्तरीय र नागरिकमुखी स्थानीय शासन सञ्चालनका लागि मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.