गोरखा, ६ साउन। गोरखाको अजिरकोट गाउँपालिका–४, तालफुटेघाटस्थित दरौदी नदीमा मलामी गएका बेला नुहाउने क्रममा बेपत्ता भएका एक पुरुषको सात दिनपछि शव फेला परेको छ।
गत असार ३२ गते नदीको तीव्र बहावमा परी बेपत्ता भएका अजिरकोट गाउँपालिका–४, झ्यावाँ निवासी अन्दाजी ४० वर्षीय शम्शेर नेपालीको शव बुधबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
प्रहरीका अनुसार, असार ३२ गते दिउँसो करिब १ बजे नेपाली मलामी गएका थिए। सोही क्रममा दिउँसो करिब १ः३० बजे उनी दरौदी नदीमा नुहाउन पसेका थिए। नुहाउने क्रममा नदीको तीव्र प्रवाहमा परेपछि उनी बेपत्ता भएका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ अमरसिंह प्रहरी पोस्ट चनौटेबाट प्रहरी सहायक निरीक्षक सूर्यबहादुर विक तथा इलाका प्रहरी कार्यालय जौबारीबाट प्रहरी निरीक्षक विशाल अधिकारीको नेतृत्वमा १० सदस्यीय प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो। टोलीले स्थानीयवासीसँगको सहकार्यमा निरन्तर खोजी तथा उद्धार कार्य सञ्चालन गरेको थियो।
घटना भएको सात दिनपछि बुधबार बिहान करिब ९ः३० बजे गोरखाकै सिरानचोक गाउँपालिका–७ स्थित दरौदी नदी किनारमा एक पुरुषको शव तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा उक्त शव शम्शेर नेपालीकै भएको पुष्टि भएको हो।
प्रहरीका अनुसार, फेला परेको शवको हुलिया तथा अन्य विवरणका आधारमा मृतकका छोरा सुनिल नेपालीले इलाका प्रहरी कार्यालयको उपस्थितिमा आफ्ना बुबा शम्शेर नेपालीको शव भएको सनाखत गरेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।