Gorkha Sansar

अविरल वर्षाले देशभर सडक सञ्जाल अस्तव्यस्त, पहिरो-बाढीले प्रमुख राजमार्ग अवरुद्ध

काठमाडौं / देशभर निरन्तर भइरहेको वर्षापछि आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग प्रभावित भएका छन् । नेपाल प्रहरीले शुक्रबार बिहान सार्वजनिक गरेको विवरणअनुसार केही सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही सडकमा जोखिमका बीच एकतर्फी सवारी सञ्चालन भइरहेको छ ।

कोशी प्रदेशको इलाम नगरपालिका-९ राजदुवालीस्थित झापा–तालतुङ सडकखण्डमा पहिरो खस्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यद्यपि सो क्षेत्रमा वैकल्पिक मार्ग सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । भोजपुर नगरपालिका-५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ ।

बागमती प्रदेशमा वर्षाको प्रभाव सबैभन्दा बढी देखिएको छ । काभ्रेपलाञ्चोकको खुर्कोट-नेपालथोक-काभ्रेभञ्ज्याङ सडकखण्ड सम्भावित बाढीको जोखिमका कारण बन्द गरिएको छ । मकवानपुरको हेटौंडा-भिमफेदी-बागमती-ललितपुर जोड्ने कान्तिलोकपथमा पनि अर्को सूचना जारी नभएसम्म सवारी सञ्चालन रोकिएको छ।

बकैया गाउँपालिका-११ घट्टेपाखामा पहिरो खसेपछि कान्तिलोकपथको अर्को खण्डसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ मा पहिरो झरेपछि अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । यसले चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने सडकमा समेत आवागमन प्रभावित भएको छ ।

गण्डकी प्रदेशमा कास्कीको नयाँपुल-घान्द्रुक सडकखण्ड तथा बागलुङको इनारपानीस्थित मध्यपहाडी लोकमार्गमा पहिरो र वर्षाका कारण एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा पहिरो खस्दा सालझण्डी-ढोरपाटन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै गुल्मीको कालीगण्डकी करिडोर र रिडी-वामी सडकखण्डका विभिन्न स्थानमा पनि पहिरोका कारण एकतर्फी सवारी सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले वर्षा अझै जारी रहने सम्भावना रहेकाले पहिरो तथा बाढीको जोखिमयुक्त क्षेत्रमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न, यात्रा गर्नै परे सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.