Gorkha Sansar

धादिङको थाक्रेमा राष्ट्रिय विभूति अमरसिंह थापाको पूर्णकदको सालिक अनावरण, ऐतिहासिक पर्यटन प्रवर्द्धनमा नयाँ अध्याय

सेतीदेवी मन्दिर परिसरमा भव्य समारोह; ‘अमरसिंह थापा पर्यटन सर्किट : मेची–महाकाली महाअभियान’लाई थप गति

धादिङ । धादिङको थाक्रे गाउँपालिका–६, रानीबारी स्थित सेतीदेवी–सिद्धकाली मन्दिर परिसर मा राष्ट्रिय विभूति तथा नेपाल एकीकरण अभियानका प्रमुख सेनानायक वडाकाजी अमरसिंह थापाको पूर्णकदको सालिक अनावरण गरिएको छ। धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको उक्त कार्यक्रमले अमरसिंह थापाको योगदानलाई नयाँ पुस्तामाझ पुर्‍याउने अभियानमा अर्को महत्वपूर्ण अध्याय थपेको छ।

थाक्रे गाउँपालिकाको समन्वय तथा वडा नं. ६ का अध्यक्ष राजेन्द्र (हिरा बहादुर) थापा को विशेष पहलमा निर्माण गरिएको सालिकको गाउँपालिका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष यन्त्रबहादुर थापा (जिन्दगी) र वडा अध्यक्ष हिरा बहादुर थापा ले संयुक्त रूपमा अनावरण गरेका थिए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बलराम लम्साल, वडा सदस्य सावित्री थापा, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा वैदिक विधिअनुसार यज्ञ, हवन तथा विशेष पूजाआजा सम्पन्न गरिएको थियो। धार्मिक अनुष्ठानसँगै सम्पन्न भएको सालिक अनावरणले स्थानीय धार्मिक आस्था र ऐतिहासिक चेतनालाई थप सुदृढ बनाएको सहभागीहरूको भनाइ थियो।

कार्यक्रममा वक्ताहरूले नेपाल एकीकरण अभियान, पश्चिम नेपालको राज्य विस्तार तथा नेपाल–अङ्ग्रेज युद्धमा वडाकाजी अमरसिंह थापाले पुर्‍याएको अतुलनीय योगदानको स्मरण गर्दै राष्ट्रिय विभूतिको सम्मान र ऐतिहासिक सम्पदाको संरक्षण राज्य तथा समाजको साझा दायित्व भएको बताए।

यस अभियानलाई विशेष रूपमा ‘अमरसिंह थापा पर्यटन सर्किट : मेची–महाकाली महाअभियान’ का परिकल्पनाकार रामचन्द्र थापा ले विगत केही वर्षदेखि निरन्तर अघि बढाउँदै आएका छन्। उनको सक्रियतामा देशका विभिन्न जिल्लामा अमरसिंह थापासँग सम्बन्धित ऐतिहासिक स्थलहरूको संरक्षण, सालिक स्थापना, मन्दिर पुनर्निर्माण, स्मृति कार्यक्रम तथा ऐतिहासिक पर्यटन प्रवर्द्धनका गतिविधिहरू सञ्चालन हुँदै आएका छन्। रानीबारीमा सम्पन्न यो कार्यक्रम पनि सोही राष्ट्रिय अभियानको महत्वपूर्ण कडीका रूपमा हेरिएको छ।

सालिक निर्माणदेखि अनावरण समारोह सम्पन्न नहुँदासम्म निरन्तर सक्रिय रहँदै समन्वय, व्यवस्थापन र नेतृत्वदायी भूमिका निर्वाह गरेका वडा अध्यक्ष  हिरा बहादुर थापा (राजेन्द्र) को योगदानको कार्यक्रममा विशेष प्रशंसा गरिएको थियो। स्थानीयवासीले उनको पहलले रानीबारीलाई राष्ट्रिय विभूति अमरसिंह थापासँग जोडिएको महत्वपूर्ण ऐतिहासिक तथा धार्मिक गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण आधार तयार भएको बताएका छन्।

स्थानीय सरोकारवालाका अनुसार यस्ता अभियानले राष्ट्रिय इतिहासप्रति नयाँ पुस्तामा गौरवबोध जगाउनुका साथै धार्मिक तथा ऐतिहासिक पर्यटन प्रवर्द्धन, स्थानीय आर्थिक गतिविधि विस्तार र सांस्कृतिक सम्पदाको संरक्षणमा दीर्घकालीन योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

बडाकाजी अमरसिंह थापा : छोटो जीवनी

बडाकाजी अमरसिंह थापा (वि.सं. १८०८–१८७३ / सन् १७५१–१८१६) नेपालका महान् राष्ट्रिय विभूति, अद्वितीय सेनानायक तथा नेपाल एकीकरण अभियानका प्रमुख योद्धामध्ये एक हुन्। उहाँको जन्म गोरखा जिल्लाको सिरानचोकमा भएको थियो। उहाँका पिता भिमसिंह थापा (बाघ भिमसिंह थापा) पनि गोरखा राज्यका वीर सैनिक थिए।

अमरसिंह थापाले पृथ्वीनारायण शाहको एकीकरण अभियानपछि बहादुर शाहको नेतृत्वमा पश्चिम नेपालका अनेकौँ राज्यहरू नेपालमा गाभ्ने अभियानमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभयो। उहाँको अद्वितीय सैन्य नेतृत्वका कारण नेपालको सीमा पश्चिमतर्फ कुमाउँ, गढवाल हुँदै सतलज नदीसम्म विस्तार भएको थियो।

वि.सं. १८७१ (सन् १८१४) मा सुरु भएको नेपाल–अंग्रेज युद्ध (Anglo-Nepalese War) का क्रममा उहाँले पश्चिम मोर्चाको नेतृत्व गर्नुभयो। अत्यन्त सीमित सैनिक र स्रोत–साधन हुँदाहुँदै पनि उहाँले मलाउँ (Malaun) किल्लाको वीरतापूर्वक रक्षा गर्नुभयो। उहाँको अदम्य साहस, अनुशासन र राष्ट्रभक्तिबाट प्रभावित भई बेलायती सेनापतिहरूले समेत उहाँको उच्च सम्मान गरेका थिए।

जीवनको अन्तिम चरणमा उहाँले युद्धको विनाशकारी परिणामलाई गहिरोसँग बुझेका कारण अनावश्यक युद्धभन्दा राष्ट्रहित र विवेकपूर्ण निर्णयलाई प्राथमिकता दिनुपर्ने सुझाव पनि दिनुभएको उल्लेख इतिहासमा पाइन्छ।

बडाकाजी अमरसिंह थापालाई नेपाली इतिहासमा “जिउँदो बाघ”, “पश्चिमका विजेता” तथा “नेपालका महान् सेनानी” का रूपमा सम्मानपूर्वक स्मरण गरिन्छ। उहाँको साहस, त्याग, कर्तव्यनिष्ठा र राष्ट्रप्रेमले आज पनि सम्पूर्ण नेपालीलाई प्रेरणा प्रदान गरिरहेको छ।

 

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.