काठमाडौं / नेपाली बजारमा नक्कली, मिसावटयुक्त तथा गुणस्तरहीन महको बिक्री बढ्दो क्रममा रहेको पाइएको छ । सडक पेटीदेखि खुला बजारसम्म कुनै लेबल, मापदण्ड वा गुणस्तर प्रमाणीकरणबिनै मह बिक्री भइरहेका कारण उपभोक्ताको स्वास्थ्यमा गम्भीर जोखिम बढेको छ । पछिल्ला दिनमा नियमनकारी निकायले बजार अनुगमनलाई तीव्र बनाएसँगै यस्ता अखाद्य उत्पादनहरू सार्वजनिक हुन थालेका छन् ।
यसैक्रममा गुल्मीमा प्रहरीले करिब ४०० केजी महजस्तो देखिने शंकास्पद पदार्थ नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रेसुङ्गा नगरपालिका बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिइएको उक्त पदार्थ खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय पाल्पामा परीक्षण गर्दा अखाद्य र सरकारी मापदण्डविपरीत रहेको पुष्टि भएको थियो ।
त्यसपछि स्थानीय प्रशासन, प्रहरी तथा सम्बन्धित निकायको रोहवरमा खाडल खनेर उक्त पदार्थ नष्ट गरिएको हो । प्रशासनले उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्ने यस्ता गतिविधिविरुद्ध कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ ।
बजारमा बिक्री भइरहेका स्थापित ब्रान्डका महसमेत गुणस्तर परीक्षणमा प्रश्नको घेरामा परेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हालै गरेको बजार अनुगमनका क्रममा एक चर्चित ब्रान्डको मह तोकिएको गुणस्तरभन्दा न्यूनस्तरको भेटिएपछि सम्बन्धित ब्याच बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको थियो । यस घटनाले ब्रान्डेड उत्पादन खरिद गर्दा पनि उपभोक्ताले लेबल, उत्पादन मिति, ब्याच नम्बर र म्याद समाप्त हुने मिति राम्रोसँग जाँच्नुपर्ने आवश्यकता अझ बढाएको छ ।
आहारविद् डा. राजु अधिकारीका अनुसार बजारमा पाइने सबै मह प्राकृतिक र शुद्ध हुँदैनन् । कतिपय महमा चिनी, ग्लुकोज सिरप तथा अन्य रासायनिक पदार्थ मिसाइने भएकाले उपभोक्ताले सामान्य परीक्षणमार्फत पनि यसको शुद्धता पहिचान गर्न सक्छन्। उनका अनुसार शुद्ध मह पूर्ण रूपमा पारदर्शी नभई हल्का मैलो देखिन सक्छ। यस्तो मह पानीमा हाल्दा तुरुन्तै घुल्दैन, केही भाग सतहमै रहन्छ र औँलाबीच फैलाउँदा रबरजस्तै तन्किन्छ ।
चिसो मौसममा प्राकृतिक रूपमा जम्नु, घाममा राख्दा रङमा परिवर्तन नआउनु र प्राकृतिक फूलको हल्का सुगन्ध आउनु पनि शुद्ध महका विशेषता हुन् । यदि एक गिलास पानीमा एक चम्चा मह हाल्दा त्यो नुनझैँ तुरुन्तै घुल्छ भने त्यसमा मिसावट भएको हुन सक्ने विज्ञहरूको भनाइ छ ।
डा. अधिकारीका अनुसार मह मानव शरीरका लागि अत्यन्तै लाभदायक प्राकृतिक खाद्य पदार्थ हो । यसमा एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरियल तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने विभिन्न जैविक तत्त्व पाइन्छन्, जसले शरीरलाई ऊर्जा दिनुका साथै संक्रमणबाट जोगाउन, रुघाखोकी कम गर्न र समग्र स्वास्थ्य सुधार गर्न सहयोग पुर्याउँछन् ।
तर महलाई अत्यधिक तातो पानीमा मिसाएर सेवन गर्नु उपयुक्त नहुने उनको सुझाव छ । धेरै तातो पानीमा मह मिसाउँदा त्यसका प्राकृतिक गुणहरू नष्ट हुन सक्ने भएकाले महलाई सीधै चम्चाबाट चाटेर खानु वा मनतातो पानी छुट्टै पिउनु बढी लाभदायक मानिन्छ ।
विज्ञहरूका अनुसार वयस्कले दैनिक करिब एक टेबलचम्चा र बालबालिकाले एक चियाचम्चा शुद्ध मह सेवन गर्नु पर्याप्त हुन्छ । उनीहरूले सस्तो मूल्य, लेबलविहीन वा स्रोत नखुलेको मह खरिद नगर्न तथा विश्वसनीय उत्पादकबाट मात्रै गुणस्तरीय मह खरिद गर्न उपभोक्तासमक्ष आग्रह गरेका छन् । बजारमा नक्कली महको कारोबार बढिरहेका बेला सचेत उपभोक्ता नै सुरक्षित स्वास्थ्यको पहिलो आधार हुने विज्ञहरूको निष्कर्ष छ ।