गण्डकीमा काँक्राे, पालुङटारमा लिची खेतीमा सबैभन्दा बढी क्षति; कागजात नपुगेका किसानलाई आगामी बजेटबाट राहत दिने तयारी
गोरखा । असिनापानीका कारण फलफूल तथा तरकारी खेतीमा ठूलो क्षति व्यहोरेका गोरखाका किसानलाई राहत वितरण गरिएको छ। कृषि बालीमा भएको क्षतिको मूल्याङ्कनका आधारमा गण्डकी गाउँपालिका र पालुङटार नगरपालिका का कुल १७८ जना किसानलाई १९ लाख ६७ हजार १८ रुपैयाँ राहत उपलब्ध गराइएको हो।
कृषि ज्ञान केन्द्र गोरखाका सूचना अधिकारी सुमन भट्टराई का अनुसार गण्डकी गाउँपालिकाका ९२ जना किसानलाई ८ लाख ५३ हजार ८ सय ४३ रुपैयाँ राहत वितरण गरिएको छ। उक्त क्षेत्रमा असिनापानीका कारण विशेषगरी काँक्राे खेतीमा बढी क्षति पुगेको थियो।
यस्तै, पालुङटार नगरपालिकाबाट राहतका लागि ११२ जनाको निवेदन परे पनि आवश्यक कागजात पूरा गरेका ८६ जना किसानलाई मात्रै ११ लाख १३ हजार १ सय ७५ रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिएको छ। बाँकी किसानका कागजात अपुग रहेकाले उनीहरूको विवरण संकलन गरी आगामी आर्थिक वर्षको बजेटमार्फत राहत उपलब्ध गराउने तयारी गरिएको जनाइएको छ।
सूचना अधिकारी भट्टराईका अनुसार रूख नै भाँचिएको अवस्थामा प्रतिरूख १ हजार ५ सय रुपैयाँ तथा फूल वा फलमा मात्र क्षति पुगेको अवस्थामा प्रतिरूख १ हजार रुपैयाँ मूल्याङ्कन गरिएको थियो। सो मूल्याङ्कनको २५ प्रतिशतका दरले राहत रकम वितरण गरिएको हो।
राहत वितरणमा किसानले न्यूनतम १ हजार ४ सय रुपैयाँदेखि अधिकतम ४८ हजार रुपैयाँसम्म प्राप्त गरेका छन्।
यस वर्ष असिनापानीले पालुङटार नगरपालिकाको प्रसिद्ध लिची उत्पादनमा सबैभन्दा ठूलो क्षति पुर्याएको छ। वर्षेनी पालुङटारबाट करोडौं रुपैयाँ बराबरको लिची देशका विभिन्न बजारमा निर्यात हुने गरे पनि यस वर्ष अधिकांश बगैंचामा फल झरेका, फूल नष्ट भएका र कतिपय स्थानमा रूखसमेत भाँचिएका कारण उत्पादन लगभग शून्यमा पुगेको किसानहरूले बताएका छन्।
कृषि ज्ञान केन्द्रले विपद्का कारण प्रभावित किसानलाई राहत वितरणसँगै आगामी दिनमा यस्ता प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि दीर्घकालीन योजना आवश्यक रहेको जनाएको छ।