गोरखा, असार २०। नेपाल राज्य एकीकरणको उद्गमस्थल लिगलिगकोटका राजा बन्ने ऐतिहासिक तथा प्रजातान्त्रिक अभ्यासका रूपमा परिचित लिगलिगे दौडको प्रारम्भस्थल चेपे–मर्स्याङ्दी दोभान क्षेत्र तथा मन्दिर परिसरमा शनिबार सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
लिगलिग पालुङटार उद्योग वाणिज्य संघको आयोजनामा तथा पालुङटार नगरपालिकाको सहयोगमा सम्पन्न कार्यक्रममा वडा नं. ५ कार्यालय, इलाका प्रहरी कार्यालय ठाँटीपोखरी, दोभान टोल विकास संस्था, दोभान महिला समूह तथा चेपे आदर्श युवा क्लबले सहकार्य गरेका थिए।
आगामी २०८३ साल असोज २० गते शनिबार सञ्चालन हुने ऐतिहासिक लिगलिगे दौडलाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रममा स्थानीय बासिन्दा, व्यवसायी, संघका पदाधिकारी, सदस्य तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरूले चेपे–मर्स्याङ्दी दोभान क्षेत्र तथा मन्दिर परिसरको सरसफाइ गर्नुका साथै विभिन्न प्रजातिका बिरुवा रोपेर वातावरण संरक्षण र ऐतिहासिक सम्पदाको प्रवर्द्धनमा योगदान पुर्याएका थिए।
लिगलिग पालुङटार उद्योग वाणिज्य संघले कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण स्थानीयवासी, व्यवसायी, स्वयंसेवक तथा सहकार्य गर्ने सबै निकायप्रति आभार व्यक्त गरेको छ।
लिगलिग पालुङटार उद्योग वाणिज्य संघका अध्यक्ष मान बहादुर अाले ले भन्नुभयो,
“लिगलिगे दौड केवल खेलकुद प्रतियोगिता मात्र नभई नेपालको इतिहास, संस्कृति र पहिचानसँग जोडिएको गौरवशाली सम्पदा हो। यसको प्रारम्भस्थललाई स्वच्छ, हराभरा र व्यवस्थित राख्नु हामी सबैको साझा दायित्व हो। कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण स्थानीयवासी, व्यवसायी, संघका पदाधिकारी, सदस्य तथा सहकार्य गर्ने सबै निकायप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।”
संघका अनुसार यस्ता अभियानले ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षणसँगै वातावरणीय सचेतना अभिवृद्धि गर्ने, पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने तथा लिगलिगे दौडको गरिमालाई थप उचाइमा पुर्याउने विश्वास लिइएको छ।