डिपि अधिकारी / भानु
तनहुँकाे भानु नगरपालिकामा आगामी साउन १ गतेबाट मालपोत सम्बन्धि सेवा शुरु हुने भएकाे छ ।
भुमी व्यवस्थापन तथा गरिबी निवारण मन्त्रालय जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह गर्न देश भरबाट आशय पेश गरिएका २१४ पालिका मध्ये पहिलो चरणमा ३५ वटा पालिका छनौटमा परेका छन जसमध्ये भानु नगरपालिका समेत छनौट भएको हाे ।
आगामी साउन १ गतेदेखि तनहुँको भानु नगरपालिकामा पनि सेवा बिस्तार हुने नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयाे । सेवा संचालन गर्नका लागि नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत सुनिल पाण्डेलाई मालपोत शाखा प्रमुखकाे जिम्मेवारी कार्यपालिकाकाे बैठकले समेत ताेकिसकेकाे नगर उप-प्रमुख उमा गाेतामेले बताउनु भयाे ।
नगरपालिकामा भूमि शाखा स्थापना भैसकेकाे भएपनि प्रविधिक काम भने बाँकी छ । वरिष्ठ प्रशासकीय अधिकृत सुनिल पाण्डेका अनुसार विद्युतकाे थ्रिफेजकाे मिटर जडान गर्न बाँकी छ भने अन्य सामान्य काम बाँकी छ ।
सेवा संचालनका लागि मालपोत कार्यालय तनहुँले कर्मचारी पठाउन नाम सिफारिस समेत भएकाेले सेवा शुरु गर्न तयारी हुनसाथ १ जना कर्मचारी आउने स्राेतले बताएकाे छ ।
मालपोत र नापीको कार्यालयकाे सेवा संचालन पछि नागरिकले के-के सुविधा पाउँछन् ?
* जग्गा किनबेच पास गर्ने
* अंशबण्डा सम्बन्धी काम
* बकसपत्र / दानपत्र पास
* घरजग्गा रोक्का तथा फुकुवा
* धितो राख्ने तथा फुकुवा गर्ने
* लालपुर्जा सम्बन्धी विवरण सच्याउने
* मालपोत कर बुझ्ने
* जग्गाको नक्सा, स्रेस्ता, कित्ता विवरण निकाल्ने
* जग्गा एकीकरण तथा कित्ताकाट
* मोही, गुठी वा सरकारी जग्गा सम्बन्धी प्रक्रिया
* डिजिटल अभिलेख तथा अनलाइन सेवा सहायता सेवाहरु पालिकाबाटै लिन सक्नेछन।
भानु नगरपालिकामा आगामी साउन १ गतेबाट मालपोत सम्बन्धि सेवा शुरु हुने