Gorkha Sansar

पालुङटार–टोखा भगिनी सम्बन्ध स्थापना, दिगो विकासका लागि सहकार्य गर्ने ऐतिहासिक समझदारी

palungtar- tokha

असार १५ | गोरखा

गोरखाको पालुङटार नगरपालिका र काठमाडौंको टोखा नगरपालिका बीच आपसी मित्रता, सहकार्य तथा दिगो विकासलाई संस्थागत गर्ने उद्देश्यसहित ‘भगिनी सम्बन्ध (Sister City Relationship)’ औपचारिक रूपमा स्थापना गरिएको छ।

सोमबार पालुङटार नगरपालिकाको सभाहलमा आयोजित विशेष समारोहमा पालुङटार नगरपालिकाका नगर प्रमुख विवश चिन्तन र टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले समझदारी–पत्र (एमओयू) मा हस्ताक्षर गर्दै दुई नगरपालिकाबीचको ऐतिहासिक सहकार्यको औपचारिक घोषणा गर्नुभएको हो।

कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख, दुवै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समझदारी–पत्रअनुसार दुवै नगरपालिकाले सुशासन, सेवा प्रवाह, भौतिक पूर्वाधार विकास, शहरी व्यवस्थापन, वातावरण संरक्षण, विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति, आर्थिक तथा सामाजिक विकास लगायतका क्षेत्रमा अनुभव आदान–प्रदान, प्राविधिक सहयोग तथा संस्थागत सहकार्यलाई प्रभावकारी रूपमा अघि बढाउने सहमति गरेका छन्।

त्यसैगरी जनप्रतिनिधि तथा कर्मचारीहरूको अध्ययन भ्रमण, सफल अभ्यासहरूको आदान–प्रदान, योजना तथा नीतिगत जानकारी साझेदारी, पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान तथा निजी क्षेत्रबीच सहकार्य विस्तार गर्ने विषयमा समेत दुवै पक्षबीच समझदारी भएको छ।

समारोहलाई सम्बोधन गर्दै टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले आफ्ना पितापुर्खा वर्षौंअघि गोरखाबाट टोखा बसाइँ सरेको स्मरण गर्दै यस सम्बन्धले दुई नगरपालिकाबीचको भावनात्मक र ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो।

उहाँले पालुङटार नगरपालिका–५ स्थित चारकुने बाँझ क्षेत्रमा पालुङटार र टोखा नगरपालिकाको संयुक्त लगानीमा ‘टोखा–पालुङटार खुला व्यायामशाला’ सहितको मैत्रीपूर्ण पार्क निर्माण गर्ने सहमति भएको जानकारी पनि दिनुभयो।

त्यसैगरी पालुङटार नगरपालिकाका नगर प्रमुख विवश चिन्तनले पालुङटारका स्थानीय उत्पादनलाई टोखा बजारमार्फत प्रवर्द्धन र बजारीकरण गर्ने योजना रहेको बताउँदै यो सम्बन्धलाई दीर्घकालीन, प्रभावकारी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

पालुङटार नगरपालिकाले काठमाडौं उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक पहिचान बोकेको टोखा नगरपालिका र नेपालको ऐतिहासिक उद्गमस्थल लिगलिगकोट रहेको पालुङटार नगरपालिकाबीच स्थापित यो भगिनी सम्बन्धले स्थानीय विकास, सुशासन, पर्यटन प्रवर्द्धन तथा जनस्तरको आपसी सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

नगरपालिकाका अनुसार यो सहकार्यले दुई स्थानीय तहबीच दीर्घकालीन मित्रता, साझा विकास र समृद्धिको यात्रामा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.