Gorkha Sansar

राष्ट्रिय विभूति अमरसिंह थापाको जन्मस्थल अमरपुरमा संरक्षण र प्रवर्द्धनमा जोड

इतिहासविद् र प्राज्ञहरूको उपस्थितिमा ‘नेपाल निर्माण र एकीकरणमा अमरसिंह थापाको योगदान’ विषयक अन्तरक्रिया सम्पन्न

गोरखा, असार १४।

नेपाल एकीकरण अभियानका महान् सेनापति तथा राष्ट्रिय विभूति अमरसिंह थापाको जन्मस्थल गोरखाको सिरानचोक गाउँपालिका–६ अमरपुरस्थित अमरसिंह पार्कमा ऐतिहासिक अवलोकन भ्रमण तथा ‘नेपाल निर्माण र एकीकरणमा अमरसिंह थापाको योगदान’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठान, काठमाडौंको आयोजनामा तथा सिरानचोक गाउँपालिकाका पूर्व अध्यक्ष राजु गुरुङको समन्वयमा सम्पन्न उक्त कार्यक्रम ‘अमरसिंह पर्यटन सर्किट मेची–महाकाली अभियान’ अन्तर्गत आयोजना गरिएको हो।

कार्यक्रममा नेपालका प्रख्यात ऋषि–प्राज्ञ डा. जगमान गुरुङ, इतिहासविद् दिनेशराज पन्त तथा अन्नपूर्ण पोस्टका निर्देशक रामेश्वर थापाको विशेष सहभागिता रहेको थियो। कार्यक्रम सिरानचोक गाउँपालिकाकी उपाध्यक्ष रीता देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

अन्तरक्रियामा वक्ताहरूले नेपाल एकीकरण अभियानमा अमरसिंह थापाले पुर्‍याएको योगदान ऐतिहासिक, अतुलनीय र राष्ट्रनिर्माणको आधारशिलाका रूपमा रहेको उल्लेख गर्दै उहाँको जन्मस्थललाई राष्ट्रिय इतिहास, पर्यटन तथा अध्ययन–अनुसन्धानको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए।

वक्ताहरूले अमरसिंह थापाको वीरता, रणनीतिक नेतृत्व, राष्ट्रिय स्वाधीनताको रक्षा तथा पश्चिम नेपालमा एकीकरण अभियानलाई सफल बनाउन खेलेको भूमिकाले नेपाली इतिहासमा विशिष्ट स्थान ओगटेको उल्लेख गर्दै नयाँ पुस्तासम्म उहाँको योगदानलाई व्यवस्थित रूपमा पुर्‍याउन राज्यले दीर्घकालीन योजना बनाउनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष गणेश थापा र महासचिव बदी थापाको नेतृत्व रहेको थियो। कार्यक्रममा गाँखु समाज गोरखाका अध्यक्ष मिलन पोख्रेल, अमरसिंह पर्यटन संस्थाका पदाधिकारी, विभिन्न आमा समूह, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा अमरपुर–गाँखु क्षेत्रका स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सहभागीहरूले अमरसिंह थापाको जन्मस्थललाई राष्ट्रिय सम्पदाका रूपमा संरक्षण गर्दै ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्यटनसँग जोड्न आवश्यक पूर्वाधार विकास गर्न सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेका छन्। साथै, ‘अमरसिंह पर्यटन सर्किट मेची–महाकाली अभियान’ मार्फत राष्ट्रिय विभूतिसँग सम्बन्धित ऐतिहासिक स्थलहरूको संरक्षण, प्रचार–प्रसार तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमका क्रममा अमरसिंह थापाको जन्मस्थल तथा ऐतिहासिक महत्व बोकेका स्थलहरूको अवलोकनसमेत गरिएको थियो। कार्यक्रममा सहभागी इतिहासविद्, प्राज्ञ तथा सरोकारवालाहरूले यस्ता सम्पदाहरूको संरक्षणमा स्थानीय समुदाय, स्थानीय तह र राज्यका निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको औँल्याए।

अमरसिंह पर्यटन सर्किट मेची–महाकाली अभियानका परिकल्पनाकार एवं राष्ट्रिय संयोजक रामचन्द्र थापाका अनुसार, अभियानको उद्देश्य राष्ट्रिय विभूति अमरसिंह थापासँग सम्बन्धित ऐतिहासिक स्थलहरूको खोज, संरक्षण, प्रवर्द्धन तथा पर्यटन विकासमार्फत राष्ट्रिय इतिहासलाई नयाँ पुस्तासम्म पुर्‍याउनु रहेको छ।

आयोजकका अनुसार यस कार्यक्रमले राष्ट्रिय विभूति अमरसिंह थापाप्रतिको सम्मान अभिवृद्धि गर्नुका साथै गोरखाको ऐतिहासिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.