Gorkha Sansar

पानीको पहुँच विस्तार हुँदै : बल्थुम बृहत् खानेपानी आयोजनाले पालुङटार–७ का थप बस्ती समेट्दै

नयाँ पाइपलाइन विस्तारसँगै खलाघाट बगरदेखि पुर्ने पिपल र बिरुवाटारको दक्षिण भेगसम्म खानेपानी पुर्‍याउने तयारी

पालुङटार (गोरखा)। पालुङटार नगरपालिका–७ मा सञ्चालित बल्थुम बृहत् खानेपानी आयोजना अन्तर्गत खानेपानी आपूर्तिलाई थप प्रभावकारी र दिगो बनाउन नयाँ पाइपलाइन विस्तारको काम तीव्र गतिमा अघि बढाइएको छ। हालसम्म खानेपानीको पहुँचबाट पूर्ण रूपमा लाभान्वित हुन नसकेका बस्तीलाई लक्षित गर्दै विस्तारको काम भइरहेको हो।
उपभोक्ता समितिका अध्यक्ष गणेशलाल श्रेष्ठका अनुसार हाल आयोजनाबाट करिब ८५० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भइरहेका छन्। नयाँ पाइपलाइन विस्तार सम्पन्न भएपछि लाभग्राहीको संख्या बढेर करिब १२०० घरधुरी पुग्ने अपेक्षा गरिएको छ।
विशेषगरी खलाघाट बगर क्षेत्रमा पानीको अभावलाई समाधान गर्ने उद्देश्यले सुरु गरिएको यो विस्तार कार्य भट्टफाँट क्षेत्रमा मात्र सीमित नरही पुर्ने पिपल क्षेत्रको समस्या समाधान गर्दै बिरुवाटारको दक्षिण भेगसम्म पनि यही नयाँ लाइनमार्फत खानेपानी वितरण गर्ने योजना रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।
उहाँका अनुसार खानेपानी कार्यालय गोरखाको सहजीकरणमा नयाँ पाइपलाइन विस्तारसँगै आवश्यक स्थानमा च्याम्बर निर्माणको कामसमेत भइरहेको छ। सम्झौताअनुसार असार मसान्तभित्र काम सम्पन्न गर्ने लक्ष्य रहे पनि वर्षायाम, प्राविधिक जटिलता तथा अन्य विविध कारणले निर्धारित समयभित्रै काम सम्पन्न गर्न केही कठिनाइ हुन सक्ने उहाँको भनाइ छ।
विगत केही वर्षदेखि सञ्चालनमा रहेको यस आयोजनाले मर्स्याङ्दी नदीबाट लिफ्ट प्रविधिमार्फत पानी बल्थुम डाँडासम्म पुर्‍याई पालुङटार–७ का विभिन्न बस्तीमा वितरण गर्दै आएको छ। ग्रामीण बस्तीमा स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउँदै आएको यो आयोजना विस्तारपछि अझ प्रभावकारी बन्ने विश्वास गरिएको छ।
स्थानीयवासीका अनुसार पाइपलाइन विस्तार सम्पन्न भएपछि वर्षौंदेखि खानेपानीको अभाव झेलिरहेका खाेलाघाट बगर, पुर्ने पिपल तथा बिरुवाटारको दक्षिण भेगका बासिन्दाले नियमित र पर्याप्त खानेपानी सेवा पाउनेछन्। यसले स्थानीयको दैनिक जीवन सहज बनाउनुका साथै गाउँको समग्र खानेपानी व्यवस्थापनलाई समेत थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.