काठमाडौं / सहआयोजक क्यानडाले फिफा विश्वकप-२०२६ मा कतारलाई ६-० ले पराजित गर्दै विश्वकप इतिहासमै पहिलो जित दर्ता गरेको छ ।
भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा सम्पन्न समूह ‘बी’ अन्तर्गतको खेलमा क्यानडाले सुरुदेखि नै दबदबा कायम राख्दै कतारलाई निराश बनायो । क्यानडाको जितमा जोनाथन डेभिडले ह्याट्रिक पूरा गरे भने साइल लारिन र नाथन सालिबाले एक-एक गोल गरे। एक गोल भने कतारको आत्मघाती उपहारका रूपमा आयो ।
खेलको १६औँ मिनेटमा लारिनले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए। त्यसपछि २९औँ मिनेटमा डेभिडले गोल गर्दै अन्तर दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा डेभिडले व्यक्तिगत दोस्रो गोल गरेपछि क्यानडाले ३-० को बलियो अग्रता बनाएको थियो ।
कतारले खेलमा दुई खेलाडी गुमायो। ३३औँ मिनेटमा हमाम अहमद र ५१औँ मिनेटमा असिम माडिबो रातो कार्ड पाएर मैदान बाहिरिएपछि कतार ९ खेलाडीमा सीमित भएको थियो ।
संख्यात्मक फाइदा उठाएको क्यानडाले दोस्रो हाफमा थप तीन गोल गर्यो। ६४औँ मिनेटमा सालिबाले गोल गरे भने ७५औँ मिनेटमा मोहम्मद मनाईको आत्मघाती गोलबाट क्यानडाले ५-० को अग्रता बनायो । इन्जुरी समयमा डेभिडले ह्याट्रिक पूरा गर्दै टोलीलाई ६–० को शानदार जित दिलाए ।
सन् १९८६ र २०२२ को विश्वकपमा जितविहीन रहेको क्यानडाका लागि यो विश्वकप इतिहासकै पहिलो विजय हो । यस जितसँगै क्यानडा दुई खेलबाट ४ अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । स्विट्जरल्यान्ड ३ अंकसहित दोस्रो स्थानमा छ भने बोस्निया एन्ड हर्जगोभिना र कतारको समान १-१ अंक रहेको छ ।