घान्द्रुक, जेठ ३०।
कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा जारी ‘नेपाल फोटो फेस्टिभल २०२६’ को समापन समारोहका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। आज बिहान १० बजेदेखि सुरु हुने समापन कार्यक्रममा उत्कृष्ट फोटो तथा फोटोग्राफी क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिनेछ।
आयोजकका अनुसार यस वर्षको फेस्टिभलमा विश्वका विभिन्न देशका फोटोप्रेमी तथा फोटोग्राफरहरूबाट ३,३३३ वटा तस्वीर प्राप्त भएका थिए। प्राप्त तस्वीरहरूमध्ये उत्कृष्ट छनोट गरिएका कृतिहरूलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिनेछ। उत्कृष्ट तस्वीरलाई १११ अमेरिकी डलरसम्म नगद पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको छ।
समापन समारोहमा फोटो विधासँग सम्बन्धित ११ जना व्यक्तित्वलाई विभिन्न सम्मान तथा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। पुरस्कार वितरणसँगै मायाको चिनो हस्तान्तरण, प्रमाणपत्र वितरण तथा फेस्टिभलको समग्र उपलब्धिको समीक्षा गरिने कार्यक्रम पनि रहेको छ।
फेस्टिभलमा सहभागी फोटोग्राफर, अतिथि, स्वयंसेवक, स्थानीय समुदायका प्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालासहित १५० भन्दा बढी व्यक्तिको उपस्थिति रहने अपेक्षा गरिएको छ। समापन समारोहलाई व्यवस्थित र भव्य बनाउन आवश्यक सबै व्यवस्थापन कार्य सम्पन्न भइसकेको आयोजकले जनाएको छ।
नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति, समुदाय र मानवीय जीवनका विविध पक्षलाई तस्वीरमार्फत विश्वसामु प्रस्तुत गर्ने उद्देश्यका साथ आयोजित फेस्टिभलले अन्तर्राष्ट्रिय स्तरमा समेत उल्लेखनीय आकर्षण हासिल गरेको आयोजकको भनाइ छ। घान्द्रुकको पर्यटन प्रवर्द्धन र फोटोग्राफी कलाको विकासमा फेस्टिभलले सकारात्मक योगदान पुर्याएको विश्वास व्यक्त गरिएको छ।
आजको समापनसँगै केही दिनदेखि सञ्चालनमा रहेको ‘नेपाल फोटो फेस्टिभल २०२६’ औपचारिक रूपमा सम्पन्न हुनेछ। आयोजकले फेस्टिभलको सफलतामा योगदान पुर्याउने सहभागी, सहयोगी संस्था, स्वयंसेवक तथा स्थानीय समुदायप्रति आभार व्यक्त गरेको छ।
आज हुने समापन समारोहको सम्पूर्ण तयारी पूरा, उत्कृष्ट फोटोहरूलाई १११ डलरसम्म पुरस्कार प्रदान गरिने