गोरखा, २१ जेठ । गोरखाको पालुङटार नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र सुशासनलाई केन्द्रमा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। १९ औँ नगरसभामा नगर प्रमुख विवश चिन्तनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माणलाई मुख्य प्राथमिकतामा राखिएको छ।
नगरपालिकाले किसानको उत्पादन वृद्धि, कृषि व्यवसायीकरण, बजार व्यवस्थापन तथा खाद्य सुरक्षालाई प्राथमिकतामा राख्दै ‘पालुङटार बहुउद्देश्यीय कृषि प्रवर्द्धन कार्यक्रम’लाई निरन्तरता दिने जनाएको छ। कृषि एम्बुलेन्स सेवा विस्तार, कृषक परिचयपत्र वितरण, कृषि बीमा, शीतभण्डार सञ्चालन तथा कृषि तथा पशुपन्छी प्रयोगशाला स्थापना जस्ता कार्यक्रमसमेत अघि सारिएको छ।
शिक्षा क्षेत्रतर्फ निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षालाई थप प्रभावकारी बनाउने, विद्यालय दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिने तथा विद्यार्थीको सामूहिक दुर्घटना बीमा गर्ने नीति लिइएको छ। सूचना प्रविधिमैत्री शिक्षण प्रणाली विकास, विद्यार्थीको सिकाइ उपलब्धि सुधार, मनोसामाजिक परामर्श तथा छात्रवृत्ति कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ।
रोजगार तथा उद्यमशीलता विकासलाई विशेष महत्त्व दिँदै वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै उद्यम सञ्चालन गर्न प्रोत्साहन गरिने उल्लेख गरिएको छ। सीपमूलक तालिम सञ्चालन, स्थानीय स्तरमै रोजगारी सिर्जना तथा रोजगार सेवा केन्द्रमार्फत श्रम स्वीकृति, वैदेशिक रोजगारसम्बन्धी परामर्श र उद्यम विकास कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ।
त्यसैगरी स्वास्थ्य सेवाको पहुँच विस्तार, स्वास्थ्य संस्थाको स्तरोन्नति, मातृ तथा शिशु स्वास्थ्य सुधार, पर्यटन क्षेत्रको संरक्षण तथा प्रवर्द्धन र सूचना प्रविधिमा आधारित सार्वजनिक सेवा प्रवाहलाई पनि प्राथमिकतामा राखिएको छ।
नगरपालिकाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै सुशासन, पारदर्शिता र जवाफदेहितालाई थप मजबुत बनाउने प्रतिबद्धता जनाएको छ।