पालुङटार — पालुङटार नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि उत्पादनमुखी अर्थतन्त्र, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण तथा सुशासनलाई केन्द्रमा राख्दै नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
१९ औँ नगरसभामा नगर प्रमुख विवश चिन्तन ले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा “समाजवादको आधार निर्माणको अभियान, सुन्दर र समृद्ध पालुङटार हाम्रो शान” भन्ने नारालाई मुख्य आधार बनाइएको छ ।
नगरपालिकाले आगामी वर्ष शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै नागरिकमैत्री सेवा विस्तार गर्ने नीति अघि सारेको छ । निःशुल्क तथा अनिवार्य शिक्षा, गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा र प्रविधिमैत्री सुशासनमार्फत स्थानीय सरकारप्रति नागरिकको विश्वास बढाउने लक्ष्य लिइएको छ ।
कृषि क्षेत्रलाई नगरको आर्थिक मेरुदण्डका रूपमा अघि बढाउँदै पालुङटार बहुउद्देश्यीय कृषि प्रवर्द्धन कार्यक्रमलाई नगर गौरव आयोजनाका रूपमा निरन्तरता दिइने भएको छ । कृषक परिचयपत्र वितरण, कृषि हाटबजार सञ्चालन, कृषि एम्बुलेन्स सेवा विस्तार, सिँचाइ सुविधा वृद्धि तथा उत्पादनका आधारमा अनुदान उपलब्ध गराउने नीति सार्वजनिक गरिएको छ ।
रोजगारी र उद्यमशीलता प्रवर्द्धनका लागि युवामैत्री कार्यक्रमलाई समेत प्राथमिकता दिइएको छ । सीपमूलक तालिम सञ्चालन, वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै उद्यम गर्न प्रोत्साहन तथा साना उद्योग दर्ता प्रक्रियालाई सहज बनाउने कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ ।
पर्यटन विकासतर्फ लिगलिगकोट, मिर्कोटगढी, तातोपानी र चेपेघाट लगायतका ऐतिहासिक तथा धार्मिक क्षेत्रको संरक्षण र प्रवर्द्धनमा विशेष जोड दिइएको छ ।
सीमित स्रोतसाधनका बाबजुद उत्पादन वृद्धि, सामाजिक न्याय, वातावरण संरक्षण र प्रभावकारी सेवा प्रवाहमार्फत “समृद्ध पालुङटार” निर्माण गर्ने प्रतिबद्धता नगरपालिकाले जनाएको छ ।