Gorkha Sansar

‘लिची ब्लक’ पालुङटारमा प्राकृतिक विपत्ति : किसानको करोडौँ आम्दानी एकै मौसममा स्वाहा

पालुङटार — ‘लिची ब्लक’ का रुपमा परिचित पालुङटार नगरपालिकामा यस वर्षको असिना, हावाहुरी र अत्याधिक वर्षाले लिची खेतीमा ठूलो क्षति पुर्‍याएको छ । फुल खेल्ने मुख्य समयमा आएको खराब मौसमका कारण उत्पादन लगभग शून्यमा झरेपछि सयौँ किसानको आम्दानी संकटमा परेको हो ।

पालुङटार–७ च्याङलीका लिची व्यवसायी  भाेज बहादुर गुरुङका अनुसार उनले १४ रोपनी क्षेत्रफलमा लगाएका करिब ८० वटा लिचीका बोटमा फल नै लाग्न पाएन । केही बोटमा बचेको थोरै लिची घरायसी प्रयोगमै सीमित हुने अवस्था रहेको उनले बताए ।

“गत वर्ष यही समयमा लिची टिप्न र बेच्न भ्याइनभ्याई थियो । यस वर्ष बगैँचा नै सुनसान भयो,” गुरुङले भने, “फुल फुल्ने बेलामा आएको असिना र हावाहुरीले सबै सखाप पारिदियो । कतिपय बोट त भाँचिएर नै ढले ।”

१२ वर्षदेखि व्यवसायिक लिची खेती गर्दै आएका गुरुङले गत वर्ष मात्रै लिची बिक्रीबाट करिब चार लाख रुपैयाँ आम्दानी गरेका थिए । तर यस वर्ष भने एक रुपैयाँ पनि आम्दानी नहुने अवस्था आएको उनको गुनासो छ ।

गत बर्ष ५ लाख भन्दा बढीमा लिची बिक्रि गरेका पालुङटार ८ का लिची कृषक तारानाथ उप्रेतीकाे पनि हालत उस्तै छ । उहाँका अनुसार यस बर्ष अत्याधिक क्षति भएकाे र पालिकाले दिने सामान्य क्षतिपूर्ति भन्दा पनि किसानकाे बगैंचाहरूकाे अनुगमन गरी बिमा गराउन सरकारले सहयाेग गरिदिएमा उत्तम हुनेछ ।

पालुङटार नगरपालिका कृषि शाखाका संकल्प न्यौपानेका अनुसार यस वर्षको प्राकृतिक विपत्तिका कारण पालुङटार क्षेत्रमा करिब ९० प्रतिशत उत्पादन घटेको छ भने करिब ३० प्रतिशत बोटमा पूर्ण क्षति पुगेको छ । उनका अनुसार किसानहरूले झण्डै पाँच करोड रुपैयाँ बराबरको नोक्सानी बेहोरेका छन् ।

पालिकाका वडा नम्बर ६, ७ र ८ लाई मुख्य लिची उत्पादन क्षेत्र मानिन्छ । पछिल्ला वर्षमा वडा नम्बर ४ र ५ मा समेत लिची खेती विस्तार हुँदै गएको थियो । गत वर्ष पालुङटारमा १५९ हेक्टर क्षेत्रफलबाट एक हजार ७१६ मेट्रिक टन लिची उत्पादन भएको तथ्यांक छ ।

यस वर्ष भने फुल लाग्ने संवेदनशील समयमा परेको असिना र निरन्तर वर्षाले उत्पादनमा ठूलो असर पारेको कृषि शाखाले जनाएको छ । पालिकाका अनुसार प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा करिब ६ सय किसान लिची खेतीमा निर्भर छन् भने करिब ९०० रोपनी क्षेत्रफलमा व्यावसायिक लिची खेती हुँदै आएको छ । पालिकाकाे वडा नं. ६, ७ र ८ मा २५ हजार देखि २५ लाखसम्म काे लिची बिक्री गर्ने किसानहरू रहेका छन् ।

प्राकृतिक विपत्तिबाट प्रभावित किसानलाई राहत उपलब्ध गराउने विषयमा कृषि ज्ञान केन्द्र गोरखासँग समन्वय भइरहेको पालिकाले जनाएको छ । अहिले किसानहरू आगामी वर्षका लागि बोट जोगाउने र बगैँचा पुनः व्यवस्थापन गर्ने चिन्तामा छन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.