Gorkha Sansar

बागमती सरकारको उद्योगमैत्री बजेट तयारी, प्रिफ्याव प्रविधिले निर्माण क्षेत्रमा नयाँ सम्भावना

Bagmati

चितवन, जेठ – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटलाई उद्योग तथा लगानीमैत्री बनाउने तयारी तीव्र पारेको छ । प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निजी क्षेत्रसँग सहकार्य गर्दै उत्पादनमूलक उद्योगलाई प्राथमिकता दिने नीति अघि सारिने स्पष्ट गर्नुभएको छ ।

चितवनस्थित प्रिफ्याव प्यानल नेपाल प्रालिको अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री बानियाँले प्रदेशको आर्थिक विकासको आधार औद्योगिक विस्तार नै भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार नयाँ बजेटमा व्यवसाय प्रवर्द्धन, लगानी आकर्षण र रोजगारी सिर्जनालाई केन्द्रमा राखिनेछ ।

मुख्यमन्त्री बानियाँले वातावरणमैत्री तथा पर्यापर्यटनसँग जोडिएका २५ करोड रुपैयाँभन्दा कम लगानीका उद्योगलाई बैंक ब्याजमा ५० प्रतिशतसम्म अनुदान दिने कार्यक्रम कार्यान्वयन चरणमा रहेको जानकारी दिनुभयो । सहुलियतपूर्ण कर्जामार्फत साना तथा मझौला उद्योगलाई विस्तार गर्ने नीति प्रदेश सरकारले अघि बढाइरहेको उहाँले बताउनुभयो ।

ऊर्जा क्षेत्रलाई उत्पादनसँग प्रत्यक्ष जोड्ने रणनीतिमा सरकार रहेको उल्लेख गर्दै उहाँले उद्योगहरूको दीगो विकासका लागि पूर्वाधार र ऊर्जा व्यवस्थापनलाई सँगै लैजाने योजना रहेको स्पष्ट गर्नुभयो ।

यसैबीच, निर्माण क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगलाई विस्तार गर्ने उद्देश्यसहित प्रिफ्याव प्यानल नेपाल प्रालिले “स्मार्ट प्यानल” प्रविधिलाई नेपाली बजारमा विस्तार गर्दै आएको छ। कम्पनीले छिटो निर्माण, लागत घटाउने र वातावरणमैत्री संरचना निर्माण गर्ने लक्ष्यसहित EPS Cement/Calcium Based Smart Panel उत्पादन गर्दै आएको जनाएको छ ।

सन् २०२४ मा स्थापना भएको उक्त कम्पनीको अधिकृत पूँजी १० करोड रुपैयाँ रहेको छ । कम्पनीका अध्यक्ष नारायण रेग्मीका अनुसार छोटो समयमा नै नेपालका ५० भन्दा बढी जिल्लामा उत्पादनहरूको वितरण विस्तार भइसकेको छ ।

कम्पनीले EPS Based Lightweight Blocks र EPS Based Net Panel समेत उत्पादन गर्दै निर्माण क्षेत्रलाई अझ आधुनिक, हलुका र दिगो बनाउने प्रयास गरिरहेको जनाएको छ ।

निर्माण व्यवस्थापन विज्ञ बिमलराज गोसाई र उद्यमी मोतिना चन्दको नेतृत्वमा सञ्चालित कम्पनीले आगामी दिनमा उत्पादन क्षमता विस्तार गर्दै ५० करोड रुपैयाँसम्म लगानी पुर्‍याउने लक्ष्य लिएको छ । साथै निकट भविष्यमा आईपीओ जारी गर्ने तयारी समेत अघि बढाइएको कम्पनीले जनाएको छ ।

सरकारी नीतिको उद्योगमैत्री दृष्टिकोण र निजी क्षेत्रको नवप्रवर्तनबीचको सहकार्यले बागमती प्रदेशमा औद्योगिक विकास र आधुनिक निर्माण प्रविधिको विस्तारलाई नयाँ गति दिने अपेक्षा गरिएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.