Gorkha Sansar

क्यानको कमान्ड अब साइबर सुरक्षाका ‘कप्तान’ चिरञ्जीवी अधिकारीको हातमा

काठमाडौं । नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको सबैभन्दा ठूलो छाता संस्था कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) मा नेतृत्व परिवर्तन भएको छ। महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएपछि वरिष्ठ उपाध्यक्ष तथा प्रख्यात साइबर सुरक्षा विज्ञ चिरञ्जीवी अधिकारी ले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको छ।

नेपालको डिजिटल रूपान्तरण तीव्र गतिमा अघि बढिरहेका बेला भएको यो नेतृत्व परिवर्तनलाई सूचना प्रविधि क्षेत्रले निकै अर्थपूर्ण रूपमा लिएको छ। साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता (AI), क्लाउड कम्प्युटिङ, डेटा सुरक्षा तथा डिजिटल शासनका विषयमा लामो अनुभव बटुल्नुभएका अधिकारीले अब क्यान महासंघमार्फत राष्ट्रिय डिजिटल नीतिलाई थप प्रभावकारी कार्यान्वयनतर्फ लैजाने अपेक्षा गरिएको छ।

दुई दशकभन्दा लामो संस्थागत यात्रा

क्यान महासंघमा अधिकारीको यात्रा २१ वर्षभन्दा लामो छ। उहाँले महासंघको विभिन्न तहमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ। चितवन शाखाका संस्थापक कोषाध्यक्षदेखि महासचिव, उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षसम्मको यात्रा तय गर्नुभएका अधिकारी अहिले महासंघको सर्वोच्च नेतृत्वमा पुग्नुभएको हो।

विशेषगरी युवालाई सूचना प्रविधि क्षेत्रमा आकर्षित गर्न गठन गरिएको ‘युथ इन आईसीटी’ अभियानका संस्थापक संयोजकका रूपमा उहाँले सयौं युवा नवप्रवर्तक र प्राविधिक जनशक्तिलाई प्रविधि क्षेत्रमा स्थापित गर्न योगदान दिनुभएको छ।

एआई, साइबर सुरक्षा र डिजिटल शासनमा जोड

कार्यवाहक अध्यक्ष अधिकारीले नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) को सुरक्षित प्रयोग, ई–गभर्नेन्स विस्तार, साइबर सुरक्षाको सुदृढीकरण तथा स्थानीय डेटा संरक्षणलाई प्राथमिकतामा राख्नुभएको छ।

उहाँको नेतृत्वमा क्यान महासंघले राष्ट्रिय एआई नीति, नेपाल राष्ट्र बैंकको साइबर सुरक्षा रोडम्याप, डेटा सार्वभौमिकता तथा .np डोमेन व्यवस्थापन सुधारसम्बन्धी महत्वपूर्ण सुझाव सरकारसमक्ष प्रस्तुत गरिसकेको छ।

अधिकारीले नेपालको डिजिटल पूर्वाधारलाई आत्मनिर्भर बनाउन स्थानीय डेटा सेन्टर र क्लाउड सेवाको विकास अपरिहार्य रहेको बताउँदै आउनुभएको छ। “विदेशी सर्भरमा निर्भर रहेर डिजिटल सार्वभौमिकता सुनिश्चित गर्न सकिँदैन,” उहाँको धारणा छ।

‘मेक इन नेपाल सफ्टवेयर’ अभियानलाई प्राथमिकता

नेपालमा सरकारी निकायहरूले ठूलो मात्रामा विदेशी सफ्टवेयर खरिद गरिरहेका बेला अधिकारीले ‘मेक इन नेपाल सफ्टवेयर’ अभियानलाई अगाडि बढाउनुभएको छ। सार्वजनिक खरिद प्रक्रियामा नेपाली सफ्टवेयरलाई प्राथमिकता दिनुपर्ने उहाँको अडान छ।

यसले विदेशी मुद्रा बचत हुनुका साथै नेपाली प्राविधिक जनशक्तिले विकास गरेका उत्पादनलाई राष्ट्रिय स्तरमा अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

साइबर सुरक्षाका राष्ट्रिय अभियन्ता

भरतपुर, चितवन निवासी अधिकारी नेपालको साइबर सुरक्षा क्षेत्रमा परिचित नाम हो। उहाँ npCert तथा Computer Security Research and Innovation (CSRI) का संस्थापक अध्यक्ष हुनुहुन्छ भने One Cover Pvt. Ltd. का प्रमुख कार्यकारी अधिकृत (CEO) र TechPaaila Innovations का एसोसिएट डाइरेक्टरका रूपमा पनि सक्रिय हुनुहुन्छ।

देशभर ५०० भन्दा बढी साइबर सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरिसक्नुभएका अधिकारीले विद्यालय, सरकारी कार्यालय तथा निजी संस्थाहरूमा डिजिटल सुरक्षाबारे जनचेतना फैलाउने कार्य गर्दै आउनुभएको छ।

‘डिजिटल नेपाल’ को नयाँ खाका

कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेसँगै अधिकारीले राष्ट्रिय आईटी बोर्ड गठन, टेक स्टार्टअप इन्क्युबेसन हब स्थापना, ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच विस्तार तथा साइबर सुरक्षाको सुदृढीकरणलाई प्राथमिक कार्यसूची बनाएको बताइएको छ।

सूचना प्रविधि क्षेत्रका जानकारहरूका अनुसार क्यान महासंघको नेतृत्वमा अनुभवी साइबर सुरक्षा विज्ञको आगमनसँगै नेपालको डिजिटल अर्थतन्त्र, स्थानीय प्रविधि उद्योग तथा नवप्रवर्तन क्षेत्रले थप गति लिने अपेक्षा गरिएको छ।

नेपाललाई आत्मनिर्भर, सुरक्षित र विश्वस्तरमा प्रतिस्पर्धी डिजिटल राष्ट्र बनाउने अभियानमा चिरञ्जीवी अधिकारीको नेतृत्वलाई सूचना प्रविधि क्षेत्रले आशाका साथ हेरिरहेको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.