गोरखा,
‘स्थानीय स्रोत साधनको सदुपयोग गरौं, सीप सिकौं, रोजगार बनौं’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै गोरखाको बारपाकमा नेपाली कागज उत्पादन सम्बन्धी विशेष प्राविधिक तालिम सम्पन्न भएको छ। बारपाक सुलिकोट गाउँपालिका वडा नं. १ मा स्थानीय लोकता (नेपाली कागज बनाउने कच्चा पदार्थ) को व्यावसायिक प्रशोधनका लागि सञ्चालित १० दिने तालिम बुधबार एक विशेष समारोहका बीच समापन गरिएको हो।
डिभिजन वन कार्यालय गोरखाको आयोजना तथा बारपाक सुलिकोट गाउँपालिकाको समन्वयमा जेठ ३ गतेदेखि सुरु भएको उक्त तालिमले ग्रामीण क्षेत्रमा उद्यमशीलताको नयाँ ढोका खोलेको छ।
परम्परागत प्रविधिबाट व्यावसायिकतातर्फ: हरित रोजगारीको आधार
समापन कार्यक्रमका अध्यक्ष एवं डिभिजनल वन अधिकृत मदन मोहन शाण्डिल्यले वन क्षेत्रमा आधारित गैर-काष्ठ वन पैदावारको दिगो व्यवस्थापन र सदुपयोग बिना ग्रामीण अर्थतन्त्र बलियो हुन नसक्ने कुरामा जोड दिए। लोकता जस्ता बहुमूल्य वनस्पतिलाई परम्परागत शैलीबाट माथि उठाएर आधुनिक र व्यावसायिक प्रशोधनतर्फ लैजानु आजको आवश्यकता रहेको उनको भनाइ थियो।
“यसले एकातिर वनको संरक्षण त गर्छ नै, अर्कोतिर गाउँका युवा तथा महिलाहरूका लागि स्थानीय स्तरमै मर्यादित ‘हरित रोजगारी’ (Green Jobs) सिर्जना गर्छ,” अधिकृत शाण्डिल्यले भने। उनले आगामी दिनमा पनि समुदायलाई वन पैदावारमा आधारित उद्यमहरूसँग जोड्न प्राविधिक तथा आर्थिक सहयोगका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरे।
बजारीकरणका लागि स्थानीय सरकारको साथ
कार्यक्रमका प्रमुख अतिथि एवं बारपाक सुलिकोट गाउँपालिकाकी उपाध्यक्ष सनमाया गुरुङले गाउँपालिकाभित्र लुकेर रहेका प्राकृतिक स्रोत साधनको पहिचान र व्यावसायिक उपयोगमा वन कार्यालयले पुर्याएको योगदानप्रति आभार प्रकट गरिन्।
तालिम लिएका स्थानीयहरू उद्यमी बन्ने विश्वास व्यक्त गर्दै उपाध्यक्ष गुरुङले उत्पादित नेपाली कागज र यसबाट बन्ने सामग्रीहरूको बजारीकरणमा समस्या हुन नदिने आश्वासन दिइन्। उनले उत्पादित सामग्रीको उचित बजार व्यवस्थापनका लागि स्थानीय सरकारले आवश्यक समन्वय र ठोस सहयोग गर्ने प्रतिबद्धता समेत जनाइन्।
स्थानीय स्तरमै कच्चा पदार्थको प्रचुर सम्भावना रहेको बारपाकमा यस प्रकारको सीप विकास तालिमले वैदेशिक रोजगारीको विकल्प खोज्दै गरेका युवा र आर्थिक रूपमा आत्मनिर्भर हुन चाहने महिलाहरूमा नयाँ उत्साह थपेको छ।